सिन्धुलीमा माओवादी केन्द्र तीन, कांग्रेस र एमाले दुई/दुई पालिकामा विजयी
सिन्धुली : सिन्धुलीमा हालसम्म एक नगरपालिकासहित ७ वटा पालिकाको मत गणना सम्पन्न भएको छ।
कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिकामा मतगणना जारी रहेको छ। स्थानीय तहको निर्वाचन २०७९ को अन्तिम मत परिणामअनुसार हालसम्म एक नगरपालिकासहित माओवादी केन्द्र तीनवटा स्थानीय तहमा नेतृत्वसहित विजयी भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेले दुई दुईवटा स्थानीय तहमा नेतृत्वसहित निर्वाचित भएका छन्।
माओवादी केन्द्रबाट दुधौली नगरपालिकाको मेयरमा दिनेश अधिकारी दनुवार, मरिण गाउँपालिकाको अध्यक्षमा विमर्श मोक्तान (प्रख्यात) र हरिहरपुरगढी गाउँपालिकाको अध्यक्षमा वज्रध्वज वाइबा विजयी भएका छन्। यी पालिकाको उप प्रमुखमा नेपाली कांग्रेसका उमेदवारहरु विजयी भएका छन्। दुधौली नगरको उप प्रमुखमा कांग्रेसबाट चन्द्रकिश्वर थारु, मरिण गाउँपालिकाको उपाध्यक्षमा विमला माझी र हरिहरपुरगढी गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै चेख बहादुर थिङ विजयी भएका छन्।
यस्तै कांग्रेसबाट तिनपाटन गाउँपालिकाको अध्यक्षमा कर्ण थापा मगर र घ्याङलेख गाउँपालिका अध्यक्षमा जगत बहादुर भोलन विजयी भएका छन्। उपाध्यक्षहरुमा नेकपा माओवादी केन्द्रबाट तिनपाटनमा अशोक पुलामी र घ्याङलेखमा शंकरमान घलान विजयी भएका हुन्।
एमालेले गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाको अध्यक्ष जितेको छ। गोलन्जोर गाउँपालिकामा गठबन्धन दलका तर्फबाट कांग्रेसका उमेदवार पुष्प कार्कीलाई पछि पार्दै एमालेका शंकरराज बराल गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्। उक्त पालिकाको उपाध्यक्षमा भने गठबन्धनबाट माओवादी केन्द्रका ज्वालाप्रसाद न्यौपाने विजयी भएका छन्। कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी गाउँपालिका अध्यक्ष हुन्।
यस्तै फिक्कल गाउँपालिकामा एमालेकी पार्वती सुनुवार गाउँपालिका अध्यक्षमा विजयी भएकी छन्। उनी गठबन्धन दलका तर्फबाट कांग्रेसका नृप भुजेललाई पछि पार्दै अध्यक्षमा विजयी भएकी हुन्। सुनुवार २०७४ सालको स्थानीय तहको निर्वाचनमा भारी मतका साथ उपाध्यक्षमा विजयी भएकी थिइन्। फिक्कल गाउँपालिकाको उपाध्यक्षमा एमालेकै राजु बराल विजयी भएका छन्। उनी पनि २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुन्।
जिल्लाको कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिकामा मतगणना जारी छ। हालसम्म कमलामाई नगरपालिकामा मेयरमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उपेन्द्र पोखरेल र उपमेयरमा माओवादी केन्द्रका दीर्घराज श्रेष्ठ अग्र स्थानमा छन्। मेयरमा एमालेका महेन्द्रदेव श्रेष्ठ र उपमेयरमा मन्जु देबकोटाले गठबन्धन दलका उमेदवारलाई पछ्याई रहेका छन्।
सुनकोशी गाउँपालिकामा गठबन्धनदलकै उमेदवारहरु अध्यक्षमा माओवादी केन्द्रकी दिपा बोहोरा दाहाल र उपाध्यक्षमा कांग्रेसका कपिला कोइरालाको अग्रता कायम छ। उनीहरुलाई पनि एमालेका उमेदवारले पच्छाई रहेका छन्। ७ वटा वडा रहेको सुनकोशीमा अब एक वटा वडाको मात्र मत गणना हुन बाँकी रहेको छ।
जिल्लामा ७९ वटा वडाहरु रहेका छन्। जस मध्ये ७२ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाकाअनुसार हालसम्म कांग्रेस २९ वटा वडा, माओवादी केन्द्र २५ वटा र एमालेले १८ वटा वडामा विजयी भएका छन्। अझै ७ वटा वडाको मतगणना सम्पन्न हुन बाँकी रहेको छ।