सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपा विजयी
राजविराज : सप्तरीको राजगढ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का ओमप्रकाश मण्डल र उपाध्यक्षमा जसपाकी रेणुदेबी मण्डल विजयी भएका छन्।
एमालेका ओमप्रकाश मण्डलले ४ हजार १४९ मत ल्याई अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्रप्रसाद यादवले ३ हजार ८०७ मत ल्याए।
उपाध्यक्षमा एमालेकी रेखाकुमारी यादवलाई १२३ मत अन्तरले पराजित गर्दै जसपाकी रेणुदेबी मण्डल विजयी भइन्। निर्वाचित मण्डलले ३ हजार ८३० मत ल्याइन्।
यसअघि निर्वाचित निवर्तमान अध्यक्ष नेपाली कांग्रेसका परमानन्द यादवले २ हजार ८९३ मत ल्याई तेस्रो स्थानमा रहे। गत स्थानीय तहको निर्वाचनमा यादवले ३ हजार ५४५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए। यसपटक निर्वाचित मण्डल गत निर्वाचनमा २ हजार ४३३ मत ल्याई निकट्तम प्रतिद्वन्द्वी रहेका थिए।
राजगढ गाउँपालिकामा ९ जना स्वतन्त्रसहित १४ जना अध्यक्ष पदमा उम्मेदवार थिए भने उपाध्यक्षमा ८ जना उम्मेदवार थिए।
वडाध्यक्षमा एमाले ३ वटा, जसपाले २ वटा र कांग्रेसले १ वटा वडामा जित हासिल गरेको छ। एमालेबाट वडा नम्बर २ मा ८१५ मत ल्याई जितेन्द्रकुमार यादव, वडा ४ मा १०८० मत ल्याई अशोककुमार साह र ८८३ मत ल्याई वडा ६ मा ताहिर मियाँ वडा अध्यक्षमा निर्वाचित भएका छन्।
जसपाबाट वडा नम्बर १ मा १००८ मत ल्याई उपेन्द्रनारायण यादव र वडा ५ मा ४९७ मत ल्याई दुखिलाल भनिने उपेन्द्र साह वडा अध्यक्ष निर्वाचित भएका छन्। कांग्रेसबाट वडा नम्बर ३ मा १०६४ मत ल्याई बासुदेबी यादवनी निर्वाचित भएकी छन्।
सप्तरीमा पाँचवटा पालिकाको घोषित परिणामअनुसार एमाले र कांग्रेस २/२ तथा जनमत पार्टीले १ स्थानमा जित हासिल गरेको छ।