म्याग्दीको अन्नपूर्णमा मतगणना संचालन, नारच्याङमा कांग्रेसको प्यानल विजयी
बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना कार्य तीन दिनपछि बुधबार दिउँसोदेखि संचालन भएको छ।
नेपाली कांग्रेसका उम्मेद्वारले वडा नम्बर ३ दानामा खसेको र गणना भएको मत संख्या फरक परेको भन्दै पुनःमतगणनाको माग गर्दै निवेदन दिएपछि आइतबार दिउँसो १२ बजेदेखि मतगणना रोकिएको थियो।
निर्वाचन आयोगले सोमबार पुनःमतगणना आवश्यक नदेखिएकाले बाँकी वडाहरुको मतगणना सूचारु गराउन निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो।
जिल्ला र पालिकास्तरमा राजनीतिक दल र उम्मेद्वारसहितको सर्वदलीय, सर्वपक्षीय बैठक बसेर बुधबार दिउँसो १ बजेदेखि मतगणना सुरु गरिएको सहायक निर्वाचन अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताए।
वडा नम्बर ४ नारच्याङमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार लोकबहादुर फगामीको प्यानल विजयी भएको छ। फगामीले ६०६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका तेज गुरुङले ४०१ मत पाए।
वडा सदस्यमा कांग्रेसका भीमबहादुर शेर्पुजा, श्याम पुर्जा, यामकुमारी सोन्तजा र सुकमाया विश्वकर्मा निर्वाचित भएका छन्। एक हजार ५९ मत खसेको नारच्याङबाट गाउँपालिका अध्यक्षमा एमालेका भारतकुमार पुनलाई ४०८, कांग्रेसका बलबहादुर तिलिजालाई ५९२, उपाध्यक्षमा एमालेकी दिवाकुमारी तिलिजालाई ४१० र कांग्रेसकी ललिता तिलिजालाई ५८६ मत प्राप्त भएको छ।
चार वटा वडाको मतगणना सकिँदासम्म अध्यक्षमा एमालेका भारतले एक हजार ६१४, कांग्रेसका बलबहादुरले एक हजार ४२५, उपाध्यक्षमा एमालेकी दिवाले एक हजार ६२६ र कांग्रेसकी ललिताले एक हजार ४२३ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।