गठबन्धनमा उपलब्धि
काठमाडौं : स्थानीय निर्वाचनमा आबद्ध सत्ता गठबन्धनका ५ दलहरूले तालमेल गरेर ६ महानगर र ११ उपमहानगरको भागबण्डा गरेका थिए। चुनावी नतिजा आउँदै गर्दा काठमाडौं महानगरबाहेक सबै महानगरमा गठबन्धन दलहरूले अग्रता लिएका छन्।
निर्वाचनमा गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले ३ महानगर र ७ उपमहानगर पालिकामा प्रमुख लिएको थियो। अन्ततः कांग्रेस यो समाचार तयार पार्दासम्म ललितपुर महानगरमा चिरीबाबु महर्जन र विराटनगर महानगरमा नागेश कोइराला फराकिलो मतान्तरले अगाडि छन्। काठमाडौंमा भने स्वतन्त्र उम्मेदवारले उछिनेका छन्। कांग्रेस तेस्रो दलमा सीमित भएको छ। उपमहानगरमा ४ वटा उपमहानगरमा कांग्रेस अगाडि छ। जसअन्तर्गत बुटवल, नेपालगञ्ज, धरान र इटहरीमा अगाडि छ।
राजनीतिक विश्लेषक खिमलाल देवकोटा भने गठबन्धन भएका स्थानमा दलहरूको सकारात्मक अवस्था देखिएको बताउँछन्। ‘२० प्रतिशत स्थानमा पनि गठबन्धन गरेका छैनन्। गठबन्धन गरेका ठाउँमा महानगर र उपमहानगरको नतिजा चित्त बुझ्दो देखिएको छ। गठबन्धन दल महानगर र उपमहानगरमा इमान्दर पनि देखिएका छन्,’ देवकोटाले भने, ‘दलहरूले एक्लै जानुपर्छ भनेका स्थानमा गठबन्धन दलहरूको हविगत देखिएको छ। पाँच दल गठबन्धन गरेको ठाउँमा एक दुई ठाउँमा चित्त नबुझेर गठबन्धन दल पछि पर्नु स्वभाविक हो। यस्तै एक ढिक्का भएर जाने हो भने संघीय चुनावमा प्रतिपक्ष दललाई निकै पछाडि
काठमाडौं महानगर
काठमाडौं महानगरमा २०७४ को निर्वाचनमा गठबन्धनमा आबद्ध दलहरू एक्ला–एक्लै निर्वाचन लडेका थिए। यसपालि ५ दल एकै ठाउँमा होमिदा पनि अहिलेसम्मको नतिजामा मेयरमा कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ तेस्रो स्थानमा सीमित भएकी छन्। उपमेयरमा पनि नेकपा एसका रामेश्वर श्रेष्ठ फराकिलो मतले पछि परेका छन्। २०७४ मा भने एमालेलाई राप्रपाले सहयोग गरेको थियो।
ललितपुर महानगर
ललितपुर महानगरमा एमालेभन्दा गठबन्धन बलियो हो। ललितपुरको प्रमुख कांग्रेसले पाउँदा उपप्रमुखमा माओवादी केन्द्रले पाएको छ। अघिल्लो निर्वाचनमा भने प्रमुख उपप्रमुख दुवै कांग्रेसले जितेको थियो। प्रमुखतर्फ कांग्रेसका चिरीबाबु महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३ सय ३२ मतले पराजित गरेका थिए।
एमालेले भने त्यतिबेला पनि राप्रपासँग चुनावी गठबन्धन गरेको थियो। २०७४ को तथ्यांकलाई हिसाब गर्दा अहिलेको निर्वाचनमा ललितपुरमा गठबन्धनको ११ हजार ७ सय ७२ मत बढी छ। यसपटक पनि चिरिबाबु महर्जननै मेयरका प्रतिस्पर्धी छन्। उपमेयरमा भने माओवादीका बाबुराजा वज्राचार्य छन्। ललितपुरको उपमहानगरमा भने एमाले अगाडि देखिएको छ।
भरतपुर महानगरपालिका
अघिल्लो चुनावमा भरतपुर महानगरमा पनि माओवादी केन्द्र र कांग्रेसले गठबन्धनको माध्यमबाट प्रमुख र उपप्रमुख क्रमशः जितेको थियो। अहिले पनि भरतपुरकको मेयरमा माओवादी र उपमेयर कांग्रेसको भागमा परेको छ। माओवादीबाट रेणु दाहाल नै मेयरकी प्रतिस्र्धी छिन् भने उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी फराकिलो मतान्तरले अगाडि छन्।
पोखरा महानगरपालिका
२०७४ को स्थानीय निर्वाचनबाट पोखरामा एमालेले जितेको थियो। त्यतिबेला एमाले सिंगो थियो। अहिले एमाले विभाजित भएको छ र प्रतिस्पर्धी एमालेबाटै गएका धनराज आचार्य एकीकृत समाजवादीबाट मेयरमा प्रतिस्पर्धी छन्। उनी आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापासँगको मतान्तर बढाउँदै लगेका छन्।
वीरगन्ज महानगरपालिका
अघिल्लो पटक पनि महानगर जित्न सफल जसपाले यसपटक पनि वीरगञ्ज महानगरमा प्रमुख पदमा भिडेको हो। अहिले राजेशमान सिंह मेयरका प्रतिस्पर्धी छन्। उनी फराकिलो मतले अगाडि छन्।
२०७४ मा भने अहिलेका प्रमुख विजय सरावगी संघीय समाजवादी फोरमबाट निर्वाचित भएका हुन्। तर, अहिले सरावगी एमाले प्रवेश गरिसकेका छन्। यसपटक पनि उपप्रमुख भने कांग्रेसले नै पाएको छ। अहिले विपक्षी गठबन्धनबाट एमालेका सरावगी उम्मेदवार बनेका छन्।
विराटनगर महानगरपालिका
२०७४ को स्थानीय निर्वाचनमा विराटनगर महानगर प्रमुख, उपप्रमुख दुवै कांग्रेसले जितेको थियो। यसपालिको निर्वाचनमा मेयरमा नागेश कोइराला छन् भने उपमेयरमा कांग्रेसको भागबाट खोसिएको छ। विराटनगरको उपप्रमुख जसपाको भागमा परेको थियो। जसपा अध्यक्ष उपेन्द्र यादवकै छोरा अमरेन्द्र यादव उपप्रमुखमा उठेका छन्। मतान्तरमा भने उपप्रमुख पदमा नेकपाका उम्मेदवार अगाडि छन्।