जाजरकोटमा कांग्रेस र एमाले तीन/तीन र माओवादी एक पालिकामा विजयी
जाजरकोट : गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
जाजरकोटमा नेपाली कांग्रेस र एमालेले समान तीन/तीन पालिका जितेका छन् भने माओवादी केन्द्रले एक पालिकामा विजयी हासिल गरेको छ।
अघिल्लो निर्वाचनभन्दा यसपटक कांग्रेसलाई फाइदा भएको छ भने एमालेले तीन पालिका प्रमुख/अध्यक्ष कायम गरे पनि उपप्रमुख/उपाध्यक्ष गुमाएको छ। अघिल्लो पटक दुई पालिका प्रमुख र तीन उपप्रमुख जितेको माओवादी यसपटक एक प्रमुखमा खुम्चिएको छ भने तीन उपप्रमुख/उपाध्यक्ष जित निकालेको छ।
दुई पालिकामा पुरानै दोहरिए
भेरी नगरपालिकाको प्रमुखमा एमालेका चन्द्रप्रकाश घर्ती पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। उनले सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका गगनबहादुर खड्कालाई पराजित गदै जित निकालेका हुन्।
त्यस्तै कुशे गाउँपालिकामा नेपाली कांग्रेसका हरिचन्द्र बस्नेत पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। उनले माओवादी र एकीकृत समाजवादीका साझा उम्मेदवार समाजवादीका तप्त हमाललाई पराजित गदै पुनः जित निकालेका हुन्। भेरीको उपप्रमुखमा कांग्रेसकी सीता जैसी र कुशेमा कांग्रेसकै देविका सिंह उपाध्यक्षमा निर्वाचित भएका छन्।
दुई निवर्तमान अध्यक्ष पराजित
छेडागाड नगरपालिकामा निवर्तमान नगरप्रमुख र बारेकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष पराजित भएका छन्। एमालेबाट छेडागाड नगरपालिकाका प्रमुख लालबहादुर महतारा सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका रत्नबहादुर खड्कासँग पराजित भएका हुन्।
त्यस्तै नेपाली कांग्रेसबाट निर्वाचित बारेकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष महेन्द्रबहादुर शाहलाई एमालेका वीरबहादुर गिरीले पराजित गरेका हुन्। सत्ता गठबन्धनका साझा उम्मेदवार भए पनि शाहले आफ्नो विरासत जोगाउन सकेनन्।
छेडागाडको उपप्रमुखमा माओवादी केन्द्रका चन्द्रबहादुर थापा र बारेकोटको उपाध्यक्षमा माओवादी केन्द्रका नरबहादुर गिरी निर्वाचित भएका छन्। दुवै जना सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।
१४ मध्ये चार जनामात्र महिला निर्वाचित
जाजरकोटका सात पालिकामा प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष गरी १४ जना निर्वाचित भएका छन्। जसमा चार जनामात्र महिला निर्वाचित हुन सफल भएका छन्। भेरीको उपप्रमुखमा नेपाली कांग्रेसकी सीता जैसी, नलगाडको उपप्रमुखमा कांग्रेसकै सरिता सिंह र कुशेको उपाध्यक्षमा नेपाली कांग्रेसकी देविका सिंह निर्वाचित भएका छन्। शिवालय गाउँपालिकामा माओवादी केन्द्रकी गीता शाही उपाध्यक्षमा निर्वाचित भएका छन्। अन्य तीन पालिकामा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष पुरुष उम्मेदवार निर्वाचित भएका छन्।
गठबन्धनका कारण महिला निर्वाचित हुनबाट बञ्चित भएका हुन्। संविधानअनुसार एउटै पार्टीले पालिका प्रमुख वा उपप्रमुखमा महिला पुरुष चुनाव लडाउनु पर्ने ब्यवस्था छ। तर एमालेबाहेक अन्य सत्ता गठबन्धनको तालमेल भएका कारण महिलाको संख्या कम भएको हो।
एमालेले सातै पालिकामा उपप्रमुख/उपाध्यक्षका महिला उम्मेदवार बनाएको थियो भने कांग्रेसले चार पालिका, माओवादीले एक पालिकामा महिला उपाध्यक्ष र एक पालिकामा महिला अध्यक्षमा उम्मेदवार बनाएको थियो। तर जुनीचाँदे गाउँपालिका अध्यक्षका उम्मेदवार शिवा आचार्य पराजित भएकी छन्। उनी यसअघि सोही गाँउपालिकाकी उपाध्यक्ष थिइन्।
कतै विरासत जोगियो, कतै खुस्कियो
एमालेले भेरी, माओवादी केन्द्रले नलगाड र कांग्रेसले कुशेमा आफ्नो विरासत जोगाएका छन्। यसअघि जितेका ति पालिकामा पुनः सोही पार्टीका उम्मेदवार निर्वाचित भएका छन्। तर शिवालय र छेडागाड एमालेले, जुनीचाँदे माओवादी केन्द्रले र बारेकोट कांग्रेसले शाख गुमाएका छन्। यसअघि जितेका पालिका पुनः जित निकाल्न सकेनन्। शिवालय र छेडागाड कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने बारेकोट र जुनीचाँदे एमालेका उम्मेदवार निर्वाचित भएका छन्।