कर्णालीको राजधानी वीरेन्द्रनगरमा एमाले विजयी

कर्णालीको राजधानी वीरेन्द्रनगरमा एमाले विजयी

सुर्खेत : कर्णालीमा दलहरुका लागि प्रतिष्ठाको लडाइँ बनेको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ।

कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई हराउँदै वीरेन्द्रनगरको प्रमुखमा एमालेका मोहनमाया ढकाल र उपप्रमुखमा निलकण्ठ खनाल विजयी भएका हुन्। जितसँगै एमालेले वीरेन्द्रनगरमा यसअघि गुमेको आफ्नो साख फिर्ता गरेको छ।

कर्णालीको राजधानी सहर भएको र प्रदेशको सबैभन्दा ठूलो नगरपालिका भएकाले पनि दलहरुका लागि वीरेन्द्रनगरको नेतृत्व हात पार्नु प्रतिष्ठाको विषय बनेको थियो। यहीकारण पनि दलहरुले वीरेन्द्रनगरको नेतृत्व हत्याउन निकै कसरत गरेका थिए। तर यसपटकको निर्वाचनमा जित हासिल गरेर एमालेले विगतमा गुमेको आफ्नो साख फिर्ता गरेको हो। २०५४ को निर्वाचनमा जितेको एमालेले २०७४ को निर्वाचनमा भने वीरेन्द्रनगरमा प्रमुखको पद गुमाएको थियो। पाँच वर्षअघि उपप्रमुख र केही वडाध्यक्षमा चित्त बुझाएको एमालेले यसपालि भने नगरका बहुमत वडासहित प्रमुख र उपप्रमुख पद नै हात पारेको छ।

बिहीबार सम्पन्न मतगणनाअनुसार नगर प्रमुखमा एमालेकी मोहनमाया ढकालले १६ हजार ३८ मत प्राप्त गरेर विजयी भएकी हुन्। उनी अघिल्लो निर्वाचनमा उपप्रमुखमा निर्वाचित भएकी थिइन्। उपप्रमुख हुँदा लोकप्रिय काम गरेको भन्दै एमालेले ढकाललाई यसपालि सत्तारुढ गठबन्धनविरुद्ध उम्मेदवार बनाएको थियो। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार उपेन्द्र खड्काले १५ हजार ४८४ मत ल्याए। राप्रपाका मुकुन्दश्याम गिरीले १० हजार ६ मत पाए।

यस्तै नगरको उपप्रमुखमा एमालेकै निलकण्ठ खनाल २० हजार ३६४ मतसहित विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार शान्ति ढकालले ११ हजार ५३३ मत ल्याइन्। उपप्रमुखमा निर्वाचित खनाल यसअघि वीरेन्द्रनगर वडा नं ४ का वडाअध्यक्ष थिए।

नगरका १६ वटा वडामध्ये एमालेले बहुमत वडामा विजय हासिल गरेको छ। एमालेले नगरका ११ वटा वडामा जितेको छ। कांग्रेसले पाँच वटा वडा जितेको छ। अघिल्लो निर्वाचनमा नगरमा एउटा वटा जितेको माओवादीले यसपालि एउटा पनि वडामा विजय हासिल गर्न सकेन।

योसँगै सुर्खेतको ८ पालिकाको परिणाम टुंगो लागेको छ। जिल्लाका नौ वटा तहमध्ये एमालेले वीरेन्द्रनगर, भेरीगंगा नगरपालिका र चिङगाड गाउँपालिकामा जितेको छ। अघिल्लो निर्वाचनमा जिल्लाका ६ वटा तह जितेको कांग्रेसले यसपालि लेकबेशी नगरपालिका, गुर्भाकोट नगरपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिका गरी चार वटा तहमात्र जितेको छ।

यसपालि माओवादीले जिल्लाको चौकुने गाउँपालिकामा जित हासिल गरेको छ। जिल्लाको सिम्ता गाउँपालिकाको मतगणना भने जारी छ। जहाँ यो समाचार तयारपार्दासम्म एमाले अगाडि रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.