सिन्धुलीको कमलामाई नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्र पोखरेल विजयी भएका छन। बिहीबार सम्पन्न मतगणना अनुसार पोखरेलले १४ हजार १८७ मत प्राप्त गर्दै मेयर पदमा विजयी भएका हुन्।
उनी नेकपा एमालेका महेन्द्रदेव श्रेष्ठलाई १ हजार ६११ मतान्तरले पछि पार्दै विजयी भएका हुन्। श्रेष्ठले १२ हजार ५७६ मत पाए। नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका पोखरेल सत्तारूढ दलका तर्फबाट साझा उम्मेदवार थिए।
यस्तै कमलामाई नगरपालिकाको उप मेयरमा पुन मन्जु देबकोटा निर्वाचित भएकी छन् । नेकपा एमालेकी देबकोटाले गठबन्धनतर्फका उमेदवार नेकपा माओवादी केन्द्रका दिर्घराज श्रेष्ठलाई १ हजार ७ मत मत अन्तरले पराजित गरेका हुन्। देबकोटाले १२ हजार ६९४ मत पाइन् भने माओवादीका श्रेष्ठले ११ हजार ६८७ मत पाए। देबकोटा २०७४ सालको स्थानिय तहको निर्वाचनमा पनि उपमेयरमा विजयी भएकी थिइन्।
१४ वटा वडा रहेको कमलामाई नगरमा १,४,५,६ र ९ नम्बर वडामा नेपाली कांग्रेस, वडा नम्बर २ र १० मा नेकपा माओवादी केन्द्र र वडा नम्बर ३, ७, ८,११,२२,१३ र १४ मा नेकपा एमालेका वडा अध्यक्षहरू निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत ध्रुव प्रसाद सापकोटाले जानकारी दिए। सिन्धुलीमा माओवादी केन्द्र ४, नेपाली कांग्रेस ३ र नेकपा एमाले २ पालिका प्रमुखमा विजयी भएका छन्।