विदुरमा तीन दशकपछि गठबन्धनले तोड्यो एमालेको किल्ला

विदुरमा तीन दशकपछि गठबन्धनले तोड्यो एमालेको किल्ला

नुवाकोट : लामो समयसम्म नेकपा एमालेले विजय प्राप्त गर्दै आएको नुवाकोटको विदुर नगरपालिकामा गठबन्धनले विजय पाएको छ। तीन दशकपछि कांग्रेस माओवादीको गष्ठबन्धनले एमालेको किल्ला कब्जा गरेको हो।

विदुर नपाको मेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार ४३ वर्षीय राजन श्रेष्ठ विजयी भएका छन्। उपमेयरमा माओवादी केन्द्रकी प्रभा बोगटी विजयी भएकी छन्।

यसअघि २०४९, २०५४ र २०७४ को स्थानीय तहको तीनवटै निर्वाचनमा एमालेका उम्मेदवारहरुले मेयर, उपमेयरसहित बहुमत पदमा लगातार विजय हासिल गर्दै आएका थिए। यसपटक गठबन्धनले ह्याट्रिक एमालेको चौथो पटकको विजय यात्रालाई रोकेको हो।

एमालेको गढ भत्काउन विदुर नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए।

मेयरमा विजयी कांग्रेसका राजन श्रेष्ठले एमालेका उम्मेदवार तथा निवर्तमान मेयर सञ्जु पण्डितलाई पराजित गरेका हुन्। उपमेयरमा विजयी भएकी माओवादीकी प्रभा बोगटीले एमालेकी अम्बिका पौडेल नेपाललाई पराजित गरिन्।

विदुर नपामा खसेको कुल ३१ हजार एकसय ८७ मतमध्ये मेयरमा विजयी कांग्रेस माओवादी गठवन्धनका उम्मेदवार विदुर नपा ४ का श्रेष्ठले १५ हजार आठसय २६ मत पाए। उनका निकटतम प्रतिद्वन्दी एमालेका पण्डितले १२ हजार एकसय ५४ मतमात्र पाउंदा श्रेष्ठ तीनहजार ६ सय ७२ मतको फराकिलो अन्तरले विजयी भए।

उपमेयरमा विजयी विदुर ७ की कांग्रेस माओवादी गठवन्धनकी उम्मेदवार बोगटीले १२ हजार आठसय ६० मत पाइन्। उनकी निकटतम प्रतिद्वन्दी एमालेकी पौडेलले ११ हजार नौसय ९५ मत पाउँदा बोगटी ८६५ मतान्तरले विजयी भएकी हुन्।

३० वर्षपछि एमालेको किल्लामा निर्वाचित भएका मेयर श्रेष्ठले विकासमा आफूले समावेशितालाई साथ दिने बताए। उनले युवा सहभागितामा मागमा आधारित काम गर्ने बताए।

उपमेयरमा विजयी बोगटीले नगरमा विकासमा महिलाको सहभागितामा जोड दिएर महिला उत्थान तथा जागरणका कार्य गर्ने बताइन्। उनले महिलाहरुलाई प्राथमिकता दिएर स्थायी शान्ति, संविधान तथा गणतन्त्रको रक्षाका लागि आफू क्रियाशील हुने बताइन्।

एमाले वडामा बलियो, मेयरमा कमजोर

विदुर नपाको १३ मध्ये पाँच वटा वडामा एमाले, पाँच वडामा कांग्रेस र ३ वडामा माओवादी केन्द्र विजयी भएको छ। वडा १ मा लेनिन रन्जित नेकपा एमाले, वडा २ मा दिपक कायस्थ नेकपा एमाले, वडा ३ मा बद्री रिमाल नेपाली काङ्रेस, वडा ४ मा निलमबाबु ढुङेल नेकपा एमाले, वडा ५ मा लीलानाथ न्यौपाने नेकपा माओवादी केन्द्र विजयी भएका छन्।

यस्तै विदुर ६ मा श्यामकृष्ण चालिसे नेकपा एमाले, वडा ७ मा रबिन्द्र नेपाल नेपाली कांग्रेस, वडा ८ मा कमल श्रेष्ठ नेपाली काग्रेस, वडा ९ मा हरेराम भन्डारी  नेकपा माओवादी केन्द्र, वडा १०मा गणेशकुमार नेपाल नेपाली कांग्रेस, वडा ११मा बाबुराम लामा नेकपा एमाले, वडा १२ मा उपिन्द्र खडका नेकपा माओवादी केन्द्र र वडा १३ मा भरत तामाङ नेपाली कांग्रेस वडाध्यक्षमा विजयी भएका छन्। नेपाली कांग्रेसले विदुरको जितलाई प्रतिष्ठाको विषय बनाएको थियो।

पत्रकारिता हुँदै उपमेयरसम्म

विदुर नगरपालिका ७ तुप्चे घर भएकी उपमेयरमा विजयी प्रभा वोगटी पत्रकारिता हुँदै राजनीतिमा प्रवेश गरेकी हुन्। युवा अवस्थामै राजनीतिमा प्रवेश गरेकी बोगटी पहिलो पटकको उम्मेदवारीमै जनप्रतिनिधिमा चुनिएकी हुन्।

उनी ६ महिना अगाडिमात्र नेकपा माओवादी केन्द्र विदुर नगर कमिटिको अध्यक्षमा सर्वसम्मत चुनिएर छापा तथा विद्युतीय माध्यमको पत्रकारिताबाट राजनीतिमा लागेकी हुन्। माओवादीका पुराना नेता, पूर्वमन्त्री तथा जनयुद्धका कमाण्डर स्व. पोष्टवहादुर वोगटीकी सुपुत्री उपमेयर विजयी प्रभालाई धेरैले आफ्ना पिताको राजनीति विरासत थाम्ने आंकलन गरेका छन्।

एक दशकभन्दा लामो समय पत्रकारितामा सक्रिय वोगटी माओवादी केन्द्रको प्रेस सेन्टर नेपालको केन्द्रीय सचिवसमेत भइसकेकी छन्। आफू राजनीतिमार्फत जनताको सेवा गर्न आएपनि पत्रकारितालाई सदा सम्मान गर्ने बताइन्।

नेपालमा लामो समय चलेको माओवादी द्वन्दका बेला तत्कालीन सरकारी पक्षबाट उनका दाजु रवि बोगटी मारिएका थिए। सक्रिय राजनीतिामा रहेकै वेला उनका पिता पोष्टवहादुर वोगटीको गत आठ वर्ष अगाडि असामयिक निधन भएको थियो।

माओवादी केन्द्रले स्व. वोगटीको धर्मपत्नी अर्थात् उपमेयर विजेता प्रभाकी आमा राममाया वोगटीलाई संविधान सभाको सदस्य बनाएको थियो। युवा अवस्थामै विदुर नपाको उपमेयरमा विजयी भएपछि उनको पेशा तथा जनताको सेवा गर्ने बाटो परिवर्तन भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.