परदेशमा घरदेशका परिदृश्य

परदेशमा घरदेशका परिदृश्य

नेपाली डायस्पोरिक उपन्यासहरू गृहस्मृतिकै सन्दर्भका कारण पनि स्वदेशी मोहकतामा रमाएका छन्। स्वदेशी पहिचानलाई परदेशीय भूमिमा स्थापित गराउने भित्री मनसायलाई दर्साउन सफल छन्। 


विश्व भूमण्डलीकरणसँगै नेपाली साहित्यिक रचनाहरूले संसारका हरेक कुनाकाप्चासम्म पाइला टेकिसकेका छन्। राजनीतिक साँधसिमानाभन्दा माथि उठेर विश्वसाहित्यसँग प्रतिस्पर्धा गरिरहेका छन्। देवकोटाको मुनामदनमा उत्तरी ह्लासासम्म पुर्‍याइएको नेपाली साहित्यिक विषयवस्तुले लैनसिंह बाङदेलको मुलुकबाहिरसम्म आइपुग्दा दक्षिणी सिमानाहरू पार गरेकै हुन्। त्यति मात्र कहाँ हो र, नेपालबाहिर बसेरै लेखिरहने लीलबहादुर क्षेत्री हुन् वा इन्द्रबहादुर राई; अनेकौं स्रष्टाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गरेकै हुन्।

अब त विभिन्न कारणवश कैयौं नेपालीहरू टाढा टाढासम्म पुगेर विदेशी मुलुकमै लामो समयसम्म बसोबास गर्न थालिसकेका छन्। शिक्षा, रोजगार, व्यापार र निर्वासन आदि जुनसुकै कारण भए पनि अथवा यातायात, सञ्चार र भौतिक समुन्नतिलगायतका सुखसुविधाबाटै आकर्षित भए पनि आखिरमा नेपालीले प्रवासन प्रक्रियालाई निरन्तरता दिइरहेकै छन्। तिनको जीवन एक प्रकारले मानसिक रूपमा नेपाली र भौतिक रूपमा विदेशी वा आप्रवासी प्रकृतिको बनिसकेको छ। त्यसैकारण पनि तिनका भोगाइ र अनुभूतिहरूबाट स्थानीय परिवेशको प्रतिबिम्बनसहित नेपाली डायस्पोरिक वा आप्रसवासनकेन्द्रित साहित्यिक रचनाहरू जन्मिरहेका छन्, जमिरहेका छन्।

अर्थात्, यायावरीय मानव स्वभावले भौतिक समुन्नति वा आधुनिक विकाससँगै नेपाली डायस्पोरिक साहित्यहरू जन्माइरहेका छन्। वास्तवमा अमेरिका होस् कि युरोप, अस्ट्रेलिया होस् कि एसियाका विकसित राष्ट्रहरू; यस्ता हरेक स्थानमा लामो समयदेखि बसोबास गर्दै आएका नेपाली डायस्पोरिक साहित्यकारका तमाम रचनाहरू विश्वसाहित्यसँगै प्रतिस्पर्धामा जुटिरहेका छन्। चाहे ती कविता हुन् कि कथा, नियात्रा÷निबन्ध हुन् कि उपन्यास; आदि हरेक विधागत अभिव्यक्तिहरू आफैंमा साहित्यिक अनुशीलनबाट उचाइतर्फ लम्किरहेका छन्।

नेपाली डायस्पोरिक उपन्यास मात्रको विश्लेषण गर्ने हो भने पनि अनेकौं नवीनतम प्रवृत्ति र वैशिष्ट्यहरू देखा पर्छन्। तिनमा कतै आप्रवासन, संघर्ष र अस्तित्वको खोजी पाइन्छ त कतै गृहस्मृति वा अतीतमोहको तीव्र ज्वारभाटा पाइन्छ। त्यस्तै कतै एकान्तिकता, अभिघात, सीमान्तीयता र उत्पीडन आदिका प्रसंगहरू गाँसिन्छन् त कतै द्वैध मानसिकता र द्वैध सांस्कृतिक चेतना आदिका अभिव्यक्तिहरू पाइन्छन्।

त्यसैगरी कतिपय उपन्यासमा परदेशीय परिवेशभित्रै रोमाञ्चक वा यौनिक सन्दर्भहरूले समयानुकूल स्थान पाउन थालेका छन्। कतिपयमा भने पृथक् पृथक् स्वप्नबिम्बहरू सजिन थालेका छन्। अर्थात्, हरेक उपन्यासभित्रका औपन्यासिक विषय र शिल्पसौन्दर्यमा नवीनता र प्रयोगशीलताजस्ता प्रवृत्तिहरू प्रतिबिम्बन हुँदै गएका छन्। त्यसमा पनि सबैभन्दा महŒवपूर्ण पक्ष भनेको प्रायः हरेक नेपाली डायस्पोरिक उपन्यासहरूले गृहस्मृतिलाई आत्मसात् गरेका छन्। अर्थात्,जननी जन्मभूमिश्च स्वर्गादपि गरियसीको मर्मलाई स्पर्श गरेका छन्।

नेपाली साहित्यमा डायस्पोरिक लेखनले २०४६ पछि फस्टाउने अवसर पाउँदै गए पनि ६० को दशकदेखि मात्र यस क्षेत्रमा तीव्रता पाएको हो। अझ नेपाली डायस्पोरिक उपन्यास लेखनको परम्परालाई मात्र विश्लेषण गर्ने हो भने नेपालको म्याग्दी मूलघर भएका होमनाथ सुवेदीले अमेरिकामा बसेर तयार पारेको यमपुरीको महल (२०६४) उपन्यासलाई पहिलो मान्ने गरिन्छ। आधा दर्जनभन्दा बढी उपन्यास लेखिसकेका सुवेदीको यमपुरीको महल वास्तवमै नवीनतम विषयवस्तु र शैलीलाई आत्मसात् गर्न सक्ने नेपाली डायस्पोरिक उपन्यासका रूपमा रहेको छ।

काठमाडौं मूलघर भई अमेरिका बसोबास गर्दै आएका उपन्यासकार राजव (जनार्दन पुडासैनी)का एटलान्टिक स्ट्रिट (२०६५) र मोर्टेल अमेरिका (२०६७) जस्ता कृति देखा परे। उनले पनि नेपाली डायस्पोरिक उपन्यास परम्परालाई गति प्रदान गरेका छन्। राजवका उपन्यासमा समेत डायस्पोरिक प्रवृत्तिका रूपमा देखापर्ने द्वैध मानसिकता, सीमान्तीकृत हुनुको पीडा, कठिन काम गर्नुको छटपटी, अतीतप्रतिको मोह, इच्छित भूमिका उपलब्धि र असन्तुष्टि आदि अनेकौं विषय समेटिएका पाइन्छन्।

अमेरिका र युरोपका उल्लेखित उपन्यासकार र तिनका उपन्यासहरूले नेपाली साहित्यमै प्रवासकेन्द्रित विषयहरूलाई प्राथमिकता दिएका छन्। प्रवासमा रहेर नेपाली साहित्य सिर्जना गर्नेमा महिला स्रष्टाहरूको दरिलो उपस्थिति पनि निकै प्रशंसनीय मानिन्छ।

नेपालकै तनहुँ मूल थलो भई बेल्जियममा रहँदै आएका उपन्यासकार पञ्चम अधिकारीले पथिक प्रवासन (२०६७) मार्फत युरोपीय भूमिबाट नेपाली डायस्पोरिक उपन्यास परम्परालाई प्रश्रय दिएका छन्। पत्रकारिता क्षेत्रमा लामो अनुभव ग्रहण गरेका बहुभाषी प्रतिभाशाली स्रष्टा पञ्चमले नेपालबाट पढ्न गएका विद्यार्थीको जीवन संघर्षलाई समेट्दै युरोपेली पृष्ठभूमिमा नेपाली डायस्पोरिक उपन्यासलाई फैलाउने काम गरेका हुन्। उनका उपन्यासमा पनि डायस्पोरिक औपन्यासिक प्रवृत्तिको प्रशस्त मात्रामा अनुशीलन भएको पाइन्छ।

युवा अवस्थामै अमेरिका पुगेका सिन्धुपाल्चोक मूल घर हुने सन्तोष लामिछानेको अल्टिमेट आकाश (२०७५) र भुटानी शरणार्थीका रूपमा नेपाल रहँदै आए पनि अमेरिका स्थानान्तरण हुन पुगेका रमेश दियालीको छाप्रो नं ५५ (२०७५) आदि उपन्यासले समेत नेपाली डायस्पोरिक साहित्यको विकासमा योगदान पुर्‍याएका छन्। सामान्यतया अमेरिका र युरोपका उल्लेखित उपन्यासकार र तिनका उपन्यासहरूले नेपाली साहित्यमै प्रवासकेन्द्रित विषयहरूलाई प्राथमिकता दिएका छन्। प्रवासमा रहेर नेपाली साहित्य सिर्जना गर्नेमा महिला स्रष्टाहरूको दरिलो उपस्थिति पनि निकै प्रशंसनीय मानिन्छ। नेपाली डायस्पोरिक उपन्यास लेखनका क्रममा महिलाको उपस्थितिलाई हेर्दा धनकुटा जन्मघर भई अमेरिका बसोबास गर्दै आएकी भारती गौतमको अमेरिकामा आमा (२०७२) जस्तो संस्मरणात्मक उपन्यासले विशिष्ट पहिचान बनाएको छ। नेपाली डायस्पोरिक प्रवृत्तिका साथै गृहस्मृतिका दृष्टिले उनको यो कृति वास्तवमै उच्चकोटिको मानिन्छ।

पाल्पा जन्मघर भई अमेरिका बसोबास गर्दै आएकी मदन पुरस्कार विजेता नीलम कार्की निहारिकाको अर्की आइमाई (२०७४) उपन्यासले डायस्पोरिक परिवेशसँगै नारीवादी चिन्तनलाई प्राथमिकताका साथ उठाएको पाइन्छ। यसमा नेपालबाट अमेरिका बसोबास गर्न पुगेको डायस्पोरिक नेपाली समाजमा केकस्ता सामाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक परिवर्तन आइरहेका छन् र त्यसबाट कतिपय नारी कसरी प्रभावित भइरहेका छन् भन्ने जस्ता युगीन मनोवैज्ञानिक समस्याहरू समेटिएका छन्।

सुनसरी झुम्का मूल घर भएकी सानु घिमिरे ज्योत्सनाले अस्ट्रेलियाबाट नेपाली डायस्पोरिक उपन्यास लेखनलाई अघि बढाएकी छन्। उनको सिड्नी सपना (२०७५) जस्तो मार्मिक उपन्यासले प्रवासनसँगै नेपाली युवाले भोग्नुपरेका कथाव्यथालाई समेटेको पाइन्छ। आधुनिक तथा युगीन रमझमभित्र फस्टाउँदै गएको भोगवादी संस्कृतिका कारण आहत हुन पुगेका कैयौं घटना यसभित्र छन्। त्यस्तै, धादिङ मलेखु मूल घर भई अस्ट्रेलियामै बसोबास गर्दै आएकी अर्की नवोदित उपन्यासकार निरु त्रिपाठीको पेरिस्कानो (२०७६) उपन्यासले पनि यस्तै मार्मिक प्रसंगहरूलाई उजिल्याएको पाइन्छ। उनका उपन्यासभरि नारी जीवनका संघर्षशील यात्राहरू समेटिएका छन्।

विभिन्न देशमा बसोबास गर्दै आएका पुरुष तथा महिला दुवै उपन्यासकारले समान रूपमा विकसित तुल्याउँदै आएका छन्। तिनका हरेक उपन्यासभित्र आआफ्नै किसिमको वैशिष्ट्य पाइए पनि सबैजसोमा गृहस्मृतिको गहिरो छाप पाइन्छ। ती कुनै पनि उपन्यासमा प्रायः गृहस्मृति वा अतीतप्रतिको मोहलाई छुटाइएको छैन। 

वास्तवमा नेपाली डायस्पोरिक उपन्यास परम्परालाई माथि उल्लेख गरिएबमोजिम विभिन्न देशमा बसोबास गर्दै आएका पुरुष तथा महिला दुवै उपन्यासकारले समान रूपमा विकसित तुल्याउँदै आएका छन्। तिनका हरेक उपन्यासभित्र आआफ्नै किसिमको वैशिष्ट्य पाइए पनि सबैजसोमा गृहस्मृतिको गहिरो छाप पाइन्छ। ती कुनै पनि उपन्यासमा प्रायः गृहस्मृति वा अतीतप्रतिको मोहलाई छुटाइएको छैन।

नेपाली डायस्पोरिक उपन्यासको एउटा विशिष्ट प्रवृत्ति गृहस्मृति वा अतीतप्रतिको मोह हो। परदेशमा पुगेपछि त्यहीँको परिवेशमा लेखिने उपन्यासहरूमा गृहस्मृतिको प्रयोग प्रशस्त मात्रामा पाइने गर्छ। घरदेशका विषयवस्तुलाई संस्मरणात्मक किसिमबाट प्रस्तुत गरिँदाको अवस्थामा स्वतःस्फूर्त रूपमा गृहस्मृतिजन्य विषयवस्तुले स्थान पाउने गर्छन्। गृहस्मृतिलाई गृहविरह, अतीतस्मृति वा अतीतयात्रा समेत भन्ने गरिन्छ। अंग्रेजी शब्द नोस्टाल्जियालाई पनि यसै सन्दर्भसँग व्याख्या गर्ने प्रचलन छ। डायस्पोरिक साहित्य समालोचनाका क्रममा घरदेश÷मातृभूमि÷पैतृक थलो आदिको सम्झनास्वरूप गृहस्मृति शब्दको प्रयोग गरिँदै आएको हो।

नेपाली डायस्पोरिक उपन्यासको एउटा विशिष्ट प्रवृत्तिा गृहस्मृति वा अतीतप्रतिको मोह हो। परदेशमा पुगेपछि त्यहीँको परिवेशमा लेखिने उपन्यासहरूमा गृहस्मृतिको प्रयोग प्रशस्त मात्रामा पाइने गर्छ। घरदेशका विषयवस्तुलाई संस्मरणात्मक किसिमबाट प्रस्तुत गरिँदाको अवस्थामा स्वतःस्फूर्त रूपमा गृहस्मृतिजन्य विषयवस्तुले स्थान पाउने गर्छन्।

कतिपय विद्वान्ले त डायस्पोरा लेखकबाट आफ्ना कृतिहरू नयाँ भूमिको नभई पुरानो मातृभूमिकै पृष्ठभूमिमा रचना गरिन्छन् भन्दै गृहस्मृतिको उपस्थितिबारे चर्चा गरेका छन्। निश्चय पनि नयाँ मुलुकमा पुगेपछि छोडेर गएको मातृभूमि पट्टिको अतीत स्मरण हुनु स्वाभाविक हो। त्यसैले डायस्पोरिकहरूको सामूहिक चेतनामा सधैं आफ्नो मातृभूमि रहने भएकाले त्यसप्रति उनीहरू कुनै न कुनै प्रकारले आफ्नो एकता, प्रेम र श्रद्धा प्रकट गरिरहेकै हुन्छन्। कतिपयले त जन्मभूमि छाडेर तेस्रो भूमिमा गएर बस्दा त्यहाँ पनि सन्तुष्ट हुन नसकेको अवस्थामा त्यसलाई छाड्न पनि नसक्नु र आफ्नो मूल थलोलाई बारम्बार स्मरण गरिरहनुजस्ता प्रवृत्तिका कारण डायस्पोरिक साहित्यमा अनुस्मरणको प्रबलता थपिँदै गएको मानिन्छ।

नेपाली डायस्पोरिक उपन्यासका रूपमा परिचित यमपुरीको महललाई मात्र हेर्ने हो भने पनि यहाँ गृहस्मृतिका सन्दर्भहरू प्रशस्त मात्रामा आएका छन्। उपन्यासको प्रमुख चरित्र पे्रमले हरेक कठिन परिस्थिति वा नवीनतम परिदृश्यहरूसँग साक्षात्कार गरिरहँदाको अवस्थामा घरदेशको सम्झना गरेको पाइन्छ। उसलाई जुनसुकै परिस्थितिमा नेपालको सम्झना भइरहन्छ तर आफू त्यहाँबाट अलग्गिन नसकिरहेको कुरा 
स्वयं यसरी बताउन थाल्छ :

‘पूरै स्काइल्यान्ड ड्राइभले घेरा हालेको थियो। मानिस भन्लान् सानन्दाह उपत्यकाको त्यो मनोरम दृश्यले मोहित भएर यो फर्किन नचाहेको होला। होइन मलाई यो उपत्यकाभन्दा काठमाडौं उपत्यका धेरै सुन्दर लाग्छ। हिमालको धवलश्री यस उपत्यकामा छ नै कहाँ र !’ (यमपुरीको महल) एटलान्टिक स्ट्रिटमा पनि गृहस्मृतिका प्रसंग उल्लेख्य मात्रामा पाइन्छन्। उपन्यासका नायक सुनाम र उनका साथी हीरारत्न दुवै चरित्र सुरु सुरुमा नेपाललाई नै सम्झिरहेका हुन्छन्। यस उपन्यासमा नेपाली मूलका मात्र नभई बंगाली मूलकी नासरिनलाई पनि गृहदेशको संस्मृतिले सताएको पाइन्छ। यहाँ लामो समयसम्म अमेरिका बस्दासमेत काम नपाइरहेका सुनामको गृहस्मृतिलाई हेर्न सकिन्छ :

‘त्यसकारण हामी नेपाल फर्कौं, नेपाल फर्कौं भन्ने जप्न थालिसकेका थियौं। वास्तवमा काम खोज्दै हिँडेको हरेक दिनको साँझ अपार्टमेन्टमा फर्किएपछि हामी नेपाल फर्किनेबारे छलफल गर्न थाल्यौं। र, हामीले अमेरिका प्रवासिने निर्णय गरेको दिनलाई हामी जीवनको घटिया दिन भएको घोषणा गथ्र्यौं।’ (एटलान्टिक स्ट्रिट) अर्को नेपाली डायस्पोरिक उपन्यास पथिक प्रवासनमा पथिक होस् कि सिद्धार्थ या सिद्धार्थकी श्रीमती आदि हरेक नेपाली डायस्पोरिक चरित्रले घटनाक्रमसँगै अतीतको सम्झना गरेका छन्। उनीहरूले नेपालको भूगोल, घरपरिवार र वातावरणलाई सम्झिएका छन्। यहाँ पथिकले घरदेशमै फर्किएर बाँकी जीवन निर्वाह गर्न चाहेको प्रसंगलाई हेर्न सकिन्छ :

‘नयाँ सिर्जनाका लागि, यो भद्दा घटनाक्रमको गन्जागोलबाट म फुत्त अलप हुन चाहन्छु। विदेशको चक्कर र ठक्करमा थुप्रै गल्ती गरिए– मनमनै सोच्दै छु, थुप्रै पाठ सिकिए पनि। यो गल्ती र पाठ औंसी–पूर्णिमा जस्तो समयचक्र रहेछ। मेरो नवजीवनमा भोलि प्रभाव आउनेछ।’ (पथिक प्रवासन)

गृहस्मृति वा अतीतमोहका दृष्टिले सबैभन्दा बढी अमेरिकामा आमाकी म पात्र अर्थात् भारती गौतमका संस्मरणहरूलाई उल्लेख गर्न सकिन्छ। उनले अमेरिका बसाइको लगभग ३० वर्षपछि विगतलाई सविस्तार सम्झिएकी छन्। धनकुटाको गाउँदेखि विराटनगरको बसाइसम्म अथवा काठमाडौंको बसाइदेखि अमेरिका आएर पुनः एकपटक नेपाल नै फर्किएसम्मका विषयहरू संस्मरणात्मक शैलीमै प्रस्तुत गरेकी छन्। उनले कहिले प्राकृतिक दृश्यहरूको अवलोकनका क्रममा त कहिले सांस्कृतिक चाडपर्व मनाउँदाको अवस्थामा अनि कहिले भौतिक समुन्नतिको परिचर्चामा त कहिले पारिवारिक चालचलन आदिका प्रसंगमा घरदेशको संस्मरण गरेकी छन्। एउटा सांस्कृतिक सन्दर्भसँग गाँसिएको उनको गृहस्मृतिजन्य अभिव्यक्तिलाई हेर्न सकिन्छ :

‘अमेरिकी पाहुना भएको पहिलो वर्षको क्रिसमस बर्सेनि आउने गर्मीजस्तै आयो। अनि सालसम्मका लागि गयो। हामी र हाम्रो घरको स्वागतबिना नै। अब त दसैंतिहार सकिएर धनकुटामा कोदो, फापर, केराउ, फर्सी थन्क्याउने बेला भएको हुनुपर्छ। ...आँगनको दाहिनेपट्टिको जुनार र कोठेबारीका सुन्तलाका रुखहरू बेहुलीको टाउकोजस्तै पहेंलिएका होलान् जस्तो सोच्ने मन भने घरी घरी सल्लाघारी काटेर सेतो घरको आँगनमा पुगिहाल्थ्यो।’ (अमेरिकामा आमा)अर्को नेपाली डायस्पोरिक उपन्यास अर्की आइमाईमा पनि गृहस्मृतिका तरंग पाइन्छन्। यसमा आफूले नचाहँदा नचाहँदै अप्रत्याशित रूपमा विवाहपश्चात् अमेरिका पुगेकी तरुलाई परदेशका भौतिक समृद्धि र आफ्नो अनभिज्ञताले बारम्बार घरदेशको संस्मरण गराएका छन्। उनले कहिले बाबु मर्दा त कहिले सांस्कृतिक चाडपर्वहरू आउँदा घरदेशलाई नै सम्झिएकी छन्। सुवर्ण र उनका परिवारको इच्छाबमोजिम आफूले महिनाबारी नबार्नुपर्ने सन्दर्भमा उनले अचानक यसरी घरदेशीय परम्पराको सम्झना गरेकी छन् :

‘मेरो शरीर कति नाजुक र अपरिपक्व थियो। शारीरिक परिवर्तनलाई नै स्विकार्न सकिरहेकी थिइनँ। आमा र भाउजूले भनेका थिए, यस्तो बेला घरमा नलुकाई भन्नुपर्छ, बार्नुपर्छ नत्र पाप लाग्छ। म भने लाज र डरले नभनी बस्थें। भाउजूले सोध्थिन्, अब बेला भएन र ? मैले लाजले लुकाउँदा भाउजूले चाल पाएर आमालाई कुरा लगाइदिएकी थिइन्। आमाले गाली गरेर नपुगी अरहरको सिठाले कुटेकी थिइन्। बाको प्रश्न थियो, ‘के बिराम गरी र हाम्री सानीले ?’ (अर्की आइमाई)

अस्ट्रेलियाली परिवेशमा केन्द्रित अर्को नेपाली डायस्पोरिक उपन्यास सिड्नी सपनामा पनि अधिकतम पात्रहरू गृहस्मृति वा अतीतमोहबाट ग्रस्त भेटिन्छन्। उपन्यासकी नायिका सृष्टिलाई कहिले आमाको यादले सताएको छ त कहिले बाल्यकालीन सहपाठीको संस्मरणले एकोहोर्‍याएको छ। कहिले आफूसँग सम्भोग गर्ने विनोद सरसँगको घटनाले तर्साएको छ। त्यस्तै पृथा, निकिता, किनी र बिनी आदि पात्र पनि समय समयमा घरदेशको सम्झनामा डुबेका पाइन्छन्।

उपन्यास अल्टिमेट आकाशका विभास, लाक्पा, प्रताप र सम्राट आदि हरेक पात्रले विभिन्न परिस्थितिमा गृहदेशको सम्झना गरेका छन्। उनीहरूले अतीतमोहसँगै द्वैध मानसिकताको अवस्थालाई समेत आत्मसात् गरेका छन्। उदाहरणका लागि हेर्न सकिन्छ : 

‘कोठाको बत्ती निभेपछि विभासले आमालाई सम्झियो। आमा अहिले के गर्दै हुनुहोला ? बहिनी पक्कै स्कुल जाने तयारी गर्दै छे होली...। यस्तै घर सम्झिँदै ऊ भुसुक्क निदायो।’ (अल्टिमेट आकाश)
नेपाली डायस्पोरिक उपन्यास छाप्रो नं. ५५ मा चाहिँ भुटानी शरणार्थीले नेपालमा रहँदा गरेको घरदेशको संस्मरण र अमेरिका पुगेपछि नेपालमा रहँदाको संस्मरण दुवैलाई समेटेको पाइन्छ। पेरिस्कानो उपन्यासमा पनि मनुको जीवन संघर्षका अनेक मोडहरूमा गृहस्मृतिजन्य विषयले प्राथमिकता पाएका छन्।

यसरी नेपाली डायस्पोरिक उपन्यासहरू निरन्तर रूपमा थपिँदै गएका छन्। तिनमा गृहस्मृतिका स्वरहरू थपिने क्रम पनि पनि झन्झन् बढिरहेकै छ। यसको मूल कारण भनेको आफ्ना पुर्खा, आफन्त, आमाबाबु, घरपरिवार आदि अनेकौं पक्षलाई छोडेर वा आफ्नो अतीतलाई पन्छाएर नयाँ परिवेशमा रूपान्तरित भइरहँदा मनमा उत्पन्न हुने गृहदेशको संस्मृति नै हो।

अर्थात्, परदेशमा जति जति संघर्ष, अभाव, पीडा, चिन्ता, एकान्तिकता, खुसीयाली, मनोरञ्जन आदि परिस्थितिहरू सिर्जना भएका छन्। ती सबैसँग गाँसिएर अतीतप्रतिको सम्झनाले फस्टाउने अवसर पाएको हो। यद्यपि भौतिक विकास र आर्थिक समृद्धिका कारण परदेशलाई रोज्नु वर्तमान नेपालीहरूको मूल कारण मानिए पनि अथवा शिक्षा, स्वास्थ्य, सुरक्षा र आर्थिक सबलताजस्ता कुरा आकर्षणका आधार मानिएका छन्। तर पनि अन्ततः गृहस्मृतिका क्षणहरूबाट उनीहरू कहिल्यै अलग्गिएका छैनन्।

वस्तुतः नेपाली डायस्पोरिक उपन्यासहरू गृहस्मृतिकै सन्दर्भका कारण पनि स्वदेशी मोहकतामा रमाएका छन्। स्वदेशी पहिचानलाई परदेशीय भूमिमा स्थापित गराउने भित्री मनसायलाई दर्साउन सफल भएका छन्। नेपाली हावापानी, माटो, मुटु र पुख्र्यौली नातारगत आदिको आनुवंशिक प्रभावबाट नेपाली डायस्पोरिक उपन्यास कहिल्यै अलग्गिनै नसक्ने अवस्थामा रहेको कुरा डायस्पोरिक नेपाली उपन्यास लेखनको प्रारम्भदेखि हालसम्मका प्रकाशनहरूबाट पुष्टि भएकै छ। जहाँ स्वदेशी सुगन्धले औपन्यासिक सिर्जनाहरू सजिएका हुन्छन्, त्यहाँ तिनको कालजयी अमरता सुनिश्चित हुने कुरा नेपाली डायस्पोरिक उपन्यासहरूबाट प्रमाणित हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.