एमाले सचिव महासेठको गृहनगरमा एमाले शून्य
जनकपुरधाम : नेकपा एमालेमा मधेशको प्रभावशाली नेता तथा एमालेका सचिव रघुवीर महासेठको गृह नगरमा एमाले शून्यमा झरेको छ। संघीय सांसदसमेत रहेका महासेठको घर धनुषाको मिथिला बिहारी नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी भएको हो।
कांग्रेसका राजेन्द्रप्रसाद यादव ४ हजार ३ सय ४ मत ल्याएर मेयरमा विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका निवर्तमान मेयर अनिल कुमार यादवलाई २ हजार १० मत अन्तरले पराजित गर्दै विजयी भएका हुन्। निकटतम प्रतिद्वन्दी निवर्तमान मेयरले ४ हजार ९४ मत मात्र ल्याउन सके।
यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रकी शोभादेवी साह विजयी भएकी छिन्। उनले ३ हजार ३ सय ३० मत ल्याएर विजयी भइन् भने निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीकी अनिता कुमारीले २ हजार ७ सय ९७ मत प्राप्त गरेकी छिन्।
१० वटा वडा रहेको मिथिला बिहारी नगरपालिकाको एउटा वडासमेत एमालेले जित्न सकेनन्। २०७४ निर्वाचनमा यो नगरपालिकामा एमालेले मेयर उपमेयरसहित केही वडाहरु पनि जितेको थियो। यस नगरपालिकाको वडा नं. ३ मा एमाले नेता रघुवीर महासेठको पुख्र्यौली घर रहेको छ।