गिरिराजमणी र साहको क्षेत्रमा जसपाका उम्मेदवार विजयी
जनकपुरधाम : पूर्व शिक्षामन्त्री तथा संघीय सांसद गिरिराजमणि पोखरेल र मधेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहको क्षेत्रमा जनता समाजवादी पार्टी नेपालले शानदार जित हासिल गरेको छ। महोत्तरी क्षेत्र नं. १ स्थित गौशाला नगरपालिका माओवादीको एकल पकड क्षेत्र भएपनि स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीका मेयर र उपमेयरसहित अधिकांस वडाहरुमा विजयी हासिल गरेका छन्।
पोखरेल र साहको क्षेत्र महोत्तरीको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टीका डा. दिपेन्द्र महतो ८ हजार ७ सय ९९ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बिष्णुबहादुर योञ्जन ५ हजार ६ सय २७ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार बसन्त गुरुङ ५ हजार १ सय ३२ मत प्राप्त गरेका छन्।
त्यसैगरी उपमेयरमा जनता समाजवादी पार्टीकै रेणुकुमारी महतोले ८ हजार ४ सय ५५ मत ल्याएर निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी जनक दुलारी साहले ५ हजार ४ सय ९० मत प्राप्त गरेकी छन्। साह मधेस प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहको भाई बुहारी हुन्। नेपाली कांग्रेसबाट उपमेयरको उम्मेदवार बनेकी सुसिला देवीले ५ हजार ४७ मत मात्र पाएको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ।
२०७४ सालको स्थानीय निर्वाचनमा मेयरमा शिवनाथ महतो र उपमेयरमासहितको प्यानल विजयी भएको थियो। तर २०७९ को स्थानीय तह निर्वाचनमा टिकट वितरणमा समान प्रणाली नअपनाईएको तथा नेताको भाइ श्रीमती र भाइबुहारीलाई पार्टीले बढाएरको परिणामको रुपमा माओवादी नेताहरुले लिईरहेका छन्।