धनगढीमा हमालको कमाल

धनगढीमा हमालको कमाल

धनगढी : धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सत्ता गठबन्धनसहित दलहरूलाई पछारेका छन्। उनले शनिबार बेलुकासम्म ११ हजार ९ सय ७० मतको अग्रता कायम गरेका छन्। जब कि ६ हजार २ सय ९७ मत मात्रै गन्न बाँकी छ। अब गन्न बाँकी सबै मत प्रतिद्वन्द्वीले पाए पनि हमाललाई जित्न सक्ने अवस्था छैन। 

धनगढीमा ९२ हजार मतदातामध्ये ६३ हजार ७ सय १५ मत (६४ प्रतिशत) खसेको थियो। त्यसमध्ये शनिबार बेलुकीसम्म ५७ हजार ४ सय १८ मतको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जसमा हमालले स्वतन्त्र रूपमा २५ हजार २१, गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार नृपबहादुर ओडले १३ हजार ५१ र एमाले उम्मेदवार रणबहादुर चन्दले ७ हजार ५ सय ६१ मत पाएका छन्। 

उपप्रमुखमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्री १ हजार २ सय ३२ मतले पछाडि छिन्। एमालेकी कन्दकला राना १२ हजार ९ सय ३६ मत पाएर अग्रस्थानमा छिन्। क्षेत्रीले ११ हजार ७ सय ४ मत पाएकी छन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ३ सय ७७ मत पाएका छन्। यो समाचार तयार पार्दासम्म वडा नम्बर १०, ११ र १२ को मतगणना भइरहेको छ। यी वडा राना थारू बाहुल्य छन्। 

हमालले पाँच वर्षपछि नदोहोरिने बताएका छन्। ‘म धनगढी मोडेलबाट एक प्रकारको प्रणालीको विकास गर्छु। मैले दोहोरिन आवश्यक छैन। दलहरूभित्रको विकृति कम होस्। राजनीति सेवाका रूपमा विकास होस् भनेर नै मैले उम्मेदवारी दिएको हुँ’, हमालले भने, ‘जनताले मलाई जिताएका छन्। म त्यस कुरामा खरो उत्रनेछु।’

उनले राजनीति पेसा होइन, सेवा हो भन्ने भावनाको विकास गर्न लागि पर्ने बताए। उनले १९ वटै वडामा महिलाका लागि एक स्त्रीरोग विशेषज्ञ चिकित्सक र एक जना फिजिसियनसहित हरेक महिना निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गरिहाल्ने बताए।

‘महिलाहरू रोग लुकाएर बस्छन्। कुखुरा बेचेर उपचारमा आउने महिलाहरूलाई गाउँमै विशेषज्ञ सेवा पुर्‍याउनेछु। त्यहाँ ईसीजी, अल्ट्रासाउन्ड, चेकजाँच र औषधिसमेत निःशुल्क हुन्छ’, उनले भने। उनले अब पहुँचका आधारमा नभएर प्राथमिकताका आधारमा विकास गरिने बताए। ‘म अब सबै नगरवासीको मेयर हुँ, मेरा लागि कुनै कार्यकर्ता छैन। त्यसैले मैले सबैको मेयर हुने प्रयास गर्नेछु’, उनले भने। 

आफूले सार्वजनिक गरेको ‘धनगढी मोडेल’मा टेकेर काम गर्ने बताए। ‘सरकारी विद्यालयहरूको अवस्था सुधार गर्नु छ। एक वडा एक उत्पादन गरी कृषिमा रोजगारी बढाउनु छ। अब सडकमा ग्राभेल हालेर, उपभोक्ता समिति बनाएर कमिनसन खाने कुरा सब बन्द हुन्छन्’, उनले भने। 

उनी २०६४ सालमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष भएका थिए। त्यही बेलादेखि उनी चर्चामा आएका हुन्। उनले त्यस बेला सुदूरपश्चिम महोत्सवको सुरुवात गरी सुदूरपश्चिम सुन्दर छ, सुदूरपश्चिममा सम्भावना छ भनेर चिनाउने प्रयास गरेका थिए। त्यसअघि सुदूरपश्चिम अभावै अभावको क्षेत्र हो, त्यहाँ देउकी प्रथा छ, छाउपडी प्रथा छ, सामाजिक कूरीति छन्, दलित गैरदलितमा भेदभाव छ भनेर नकारात्मक कुराको बढी प्रचार हुन्थ्यो। त्यसलाई चिर्न हमालकै पालामा सुन्दर सुदूरपश्चिम अभियान चलाइएको थियो। यहाँका सम्भावनाका १ हजार तस्बिर देशब्यापी रूपमा प्रदर्शनीमा लगिएपछि उक्त अभियान चर्चामा आएको थियो। 

त्यसैले उनलाई सुन्दर सुदूरपश्चिमका अभियन्ता (परिकल्पनाकार)का रूपमा पनि लिइन्छ। उनकै पालामा देशका कार्यकारी प्रमुखलाई महोत्सवमा बोलाएर २१ किलोको माला लगाइदिएर २१ बुँदे माग राखिएको थियो। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि लामो धावनमार्ग भएको धनगढी विमानस्थल बनाउन निजी क्षेत्रबाट एक पैसा अभियान चलाए। यिनै कारणले उनलाई यस क्षेत्रको विकासको परिकल्पनाकारका रूपमा पनि लिने गरिन्छ। 

हमालले २०७४ सालकै निर्वाचनमा राम्रो मत पाएका थिए। उनले अब उपमहानगरपालिकाको कुनै पनि सेवा सुविधा नलिने बताएका छन्। ‘गाडी लिन्नँ। त्यसमा हाल्ने तेल लिन्नँ। म उपमहानगरकै लागि काठमाडौं वा विदेश गए पनि आफ्नो रकमले जानेछु। म एक पैसा रकम पनि नलिने प्रण गरेको छु’, हमालले भने। उनले कैलालीकै ठूलो शिवालय बेहडाबाबामा पुगेर भ्रष्टाचार नगर्ने कसमसमेत खाएका थिए। ‘म भ्रष्टाचार गर्दिनँ, शिवलिंगमा हात राखेर कसम खाएको छु। म भ्रष्टाचार हुन पनि दिन्नँ’, उनले भने, ‘अहिले वडामा आएका सबै युवा मेरो अभियानमा सहभागी हुने अपेक्षा लिएको छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.