परीक्षामा बालेन
२०७९ जेठ ४ गतेको अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकमा चारवटा लेखरचना देखें। पढें। गोपीकृष्ण ढुंगानाको ‘परिवर्तनका लागि सदाचारी समाज’, बशिराको ‘अनौठो समय’, रत्न प्रजापतिको ‘जितको दम्भ’ र अखण्ड भण्डारीको ‘बालेनले बालेको राजनीति’ गरी चारैवटा लेख पढेँ। पढ्ने अवसरले जुरायो– आत्म सन्तोष। आत्म सन्तोषका स्रोत आत्मानुभूति...। अनुभूत गर्न सक्दा स्वानुभूति मिल्दो रै’छ। यो सुखानुभूति यिनै रचनाबाट उद्भुत भए। अन्तबाट हैन।
निर्बध–स्वछन्द–आयामिक अन्तर्य विचरणले रचना गर्भको रसास्वादन गरे। दैनिक अखबारमा प्रकाशित लेखरचनाहरूबाट अनुभूत गरिने रसवन्ति स्वाद सीमान्कृत उमेरका लागि बौद्धिक खुराक बन्दो रै’छ। अनुपोषित भएँ पनि। २००६ सालमा पाश्चात्य कवि सम्भवतः एच. डब्ल्यु लंगफेलोको कविता दुर्बलता भित्रको सार्थक सबलता कविता झल्यासियो। कठिन साध्यसित भावभूमिमा प्रवेश गरें। स्वर्गानुभूति लिएँ। स्वर्ग त आफैंभित्र पो रहेछ। चिन्तनको छहारीभित्र पाइँदा स्वर्ग अन्त चहार्नु नपर्दो रै’छ। स्वर्ग त मन मस्तिष्कका स्वानुभूति...।
रचना गर्भभित्र रचनाको मर्म तरंगिएको हुँदो रै’छ। तरंगिदो मर्मका अंग प्रत्यंग रचनामा प्रयुक्त शब्द, शब्द संरचना वाक्यांस, वाक्य विन्यासले लेपन गराइरहेको हुन्छ। चिन्तनशील स्रष्टा सदैव यसतिर ध्यानमग्न बन्छ। बालेनले बालेको राजनीति अनुपम पाएँ। अनुपम हुनु बन्नुका आधार छन्। ती हुन् शब्द चयन। शब्द विन्यास। शब्द विन्यासले शाब्दिक मर्म बोधी तत्त्वलाई इंगित गर्छ। बालेनले बालेको राजनीति शीर्षक आफंैमा अनुपम लाग्यो। अनुपम लाग्नुको अन्तर्यले अनेक भावभंगीमा अन्तरनिहित राखेको छ। अन्तरनिहित भावभंगीमा शब्द संयोजनले अर्थबोधक तरंगहरू छचल्काउँछन्। हामी शब्द विन्याससित रमाउने सर्जकवर्ग यसतिर डुबुल्किएर आनन्दानुभूति अनुभूत हुन चाहन्छौं। त्यस अनुभूतिले रसास्वादन गराई आयुष्मान गराउने मनोचिकित्सा जीवनदायी बन्दो हुन्छ। हामीले संरचना गर्न रचना गर्भ यस्तै हुनुपर्दो हो भन्न मन पराउँछु।
रचनाको संरचना नै कौतुहलमय छ। कौतुहलपूर्ण आरम्भिक शब्द संरचना। वाक्य विन्यास पर्छ। बालेनले जितुन् वा हारुन्। तर, उनले जितिसके। त्यसको पुस्ट्याइँ यसरी गरिएको छ। हेरौं– देशैभरि, अझ संसारकै नेपालीबीच चर्चा छ त बालेनकै छ। र, धेरैको मुखबाट निस्किएको सुनिन्छ धेरै जना हेरियो एक पटकलाई बालेनको बुद्धि हेर्न मन छ। भित्र अनेक तरंग तरंगिएका छन् यस तरंगभित्र अनेक आयामिक सम्भावनाका तरंग छचल्किन्छन्। बालेन एक्लो व्यक्तिका एकल साहस। एकल साहसीका साहस बिथोल्ने छड्के अनगिन्ति हुन सक्छन् नकारात्मक। उनका बुद्धि चाख्ने रहन भित्रका तरंग बन्छन्।
स्वदेशमा विदेशमा युवामाझ। अधवैसे माझ पुरुषमाझ सर्वत्र सबै कसरी मोहित भए बालेनसँग ? ...भोट के मा ? लौरोमा...। लौरो त म झैं आफ्नै भरमा हिँड्न कठिन वयोवृद्धले टेके सहारा। अरूको भरमा नभई आफैंमा भरोसा राख्ने चिन्तनको। लौरोले नै यथेस्ट थामिँदो नहुने स्वानुभूति मेरो। छोरो नातीको हात नसमाई पर्याप्त नै हुन्छ।
अध्ययन अध्यवसाय पृष्ठभूमि सहितको व्यक्तित्व। काष्ठमण्डप। काठमाडौंका स्थापित कला, निर्माण शैली सीप कौशलका ज्ञाता हुनु नै भयो अध्ययन–अध्यवसायको पृष्ठपोषणले। यस पृष्ठभूमिमा बालेनले अध्ययन अध्यवसायको नौलो दीप प्रज्ज्वलन गर्ने क्षमताको अपेक्षा गर्न सकिँदो हो। निस्तो राजनीतिक पृष्ठपोषणमा सर्लकिएका अमनहरूले गरेका एकलकाँटे अहंकारका विग्रहहरू आत्म विश्लेषण–संश्लेषण आदि चुपचाप गर्नु हुने नै होला। आफंै अन्तर्यबोध गर्दैछु। आत्मबोधी ज्ञानदीप बलेछि तमस स्वतः उर्जलिन्छ। मनको ठमाइ उपहार गर्छु हजुर...।
काठमाडौं–कान्तिपुर नगरबासी नभइकन नि भादगाउँले शुद्ध नेवार आदिवासी त पक्कै हुँ। आत्मस्लाधा नभए नि आत्मगौरव पक्कै मान्छु। आत्मगौरवले आत्मसमान बोध गराउँदो रै’छ। ढुक्क छु यसमा। बिचलन हुन्न छैन पनि यसमा। ढुकढुकी मेरो हृदयको चाल। मुटुको धड्कनैले त गतिवान बन्छ जीवन। दीर्घायुको कामना लोकैका ! लोकैमा !
बालेनले बालेको राजनीति एकल शाब्दिक वाक्य विन्यासयुक्त छ। एकल शब्दका वाक्य जति अर्थपूर्ण हुन्छ। उति त लामो वाक्यका हुन्न। लामो वाक्य विन्यासयुक्त अभिव्यक्ति अल्मलिँदो बन्छ। मर्मबोधी रचनाकार छोटा वाक्य विन्यासी बन्छ। यसमा हिमायति छु। पक्षपाति हुँ म। अल्प शाब्दिक वाक्य पद्धतिलाई स्वनामधन्य ठान्छु। गौरवान्वित छु। नयाँ पथयामी कलमजीवी उत्तरोत्तर वृद्धि दरमा छ। एकल शाब्दिक वाक्य आत्मरति हुनसक्छ। कुनै–कुनै अर्थमा संकोचनमा। उदारमनस्क भावमा होइन। अनुदार मनस्कतामा सीमित भएर। अनुदार हुनु पो किन ... ? यावत जीवन सुखम् जीवित ऋण कृत्वा घृतम् पिवेत् न्वाखाकीय दर्शनलाई कृल्यंकृत्वा घृतम् पिवेत् भन्न गर्न चाहन्छु। ऋण काधेर किन खानु ?
सच्चा मिहेनत गरेर घिउ खानु नै आदर्श बनाइनुपर्छ। आर्दश यही नै हो। बन्छ पनि।
बालेनले बालेको राजनीति शीर्षकले म जस्ता सोच मग्न पाठकका लागि विचार उत्पादक लाग्यो। विचार उत्पादक भन्नुको तात्पर्य राजनीति त्यस्तै जल्दो बल्दो विषय वस्तु रही आएकाले हो। परन्तु, वर्तमान परिपेक्षमा जब स्थानीय निकायहरू– महानगर, उपमहानगर पालिकाहरू र वडा तहका पदाधिकारीहरू लगायतका सदस्यहरूको निर्वाचनका महामेलामा बालेनले बालेको राजनीतिको शीर्षकले अनुबन्ध गरेको लाञ्छनिक सन्दर्भ बहुआयामिक बन्छ। बनेको छ। लाग्छ, बालेनको प्रथम ध्यान दुर्गन्धित काठमाडौंका सडकछेउ किनारको डुंगडुंगङति दुर्गन्धित अवस्थाहरू प्रथम अवतार प्रभु दुर्गन्धित अवतार धारणम्। पाठ गर्ने दायित्व बोध गर्नुपर्ने हुँदो हो।
सफा सुग्घर चिटिक्क राख्न उपयुक्त योजना तर्जुमा गर्नु नगरपालिकाको प्रमुख दायित्व। दायित्व निर्वाह गर्न मुलुकको मूल कानुनले प्रचुर मार्ग निर्देशक सिद्धान्तहरू दिएका छन्। तिनलाई सार्थक कार्यान्वयन गर्न तहगत ऐन–कानुन, नीति, नियमावलीहरू तर्जुमा गरिएको हुन्छन्। तिनकै अनुबन्धमा रहेर स्थानीय वस्तुस्थिति अनुकूल उपनियम विनियम निर्देशिका तयार गर्नु स्थानीय पालिकाहरूकै थाप्लोको नाम्लो जाँचिन्छ। यसमा संघीय सरकार विवेकशील तवरले सजग संवेदनशील नबने नरहे संघीयताप्रति अनास्था उद्भव हुनु अन्यथा कसरी सरकारमा पुगेकोहरू जो कुनै दल संवेदनशील हुनुपर्ने संघीय प्रणालीकै ढुकढुकी बन्छ, बनेको छ।
दलीय लोकतन्त्रमा लोकको अपेक्षा त रहन्छ नै। रहनु व्यवस्थाकै स्वार्थपरक मर्यादा बन्छ, बन्नुपर्छ। नबने जनमनमा अनस्थिको वितृष्णा उर्लनु स्वाभाविक हो। उर्लंदो वितृष्णाले जनमनमा नकारात्मक सोच–वितृष्णा उत्पन्न गराउँछ। नेतृत्व वर्गका लागि चुनौतीका छदम हाँक बन्छ। यहाँ निकै संवेदनशील विवेक उपयोगका आत्म संयम नितान्तनीय बन्छ। बनेको छ नै। सजगताको चाहना जहाँ तहीँ छचल्किरहन्छ। छचल्किएकै हुन्छ।
सिसडोल समस्या मुक्ति निमित्त फोहरबाट मोहर बनाउने उपाय अवलम्बन गर्नु अत्यन्त सान्दर्भिक हुँदो हो। यसका लागि भक्तपुर नगरपालिकाको जीवन्त अनुभूति अँगाल्न सके उत्तममा अझै सर्वोत्तम हुने राय प्रस्तुत गर्न चाहेको छु।