सप्तरीमा २५ वर्षिय युवा बने गाउँपालिका अध्यक्ष
राजविराज : जिल्लाका हस्तीहरुलाई पराजित गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सबैभन्दा कम उमेरका युवा गाउँपालिका अध्यक्ष बनेका छन्।
जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, गाविसका पूर्व अध्यक्षलगायत १२ जनालाई पछि पार्दै लोकप्रिय मत बटुलेर लोकतान्त्रिक समाजवादी पार्टीबाट बिद्यानन्द चौधरी अध्यक्षमा निर्वाचित भएका छन्। बिद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय चौधरीको उमेर हाल २५ वर्ष पुगेको छ।
उनले जितका लागि निकट्तम प्रतिद्वन्द्वी भन्दा १ हजार १२९ मतबढी अर्थात २ हजार ८९५ मत ल्याए। उनका निकट्तम प्रतिद्वन्द्वी जसपाका सत्यनारायण यादवले १ हजार ७६६ मत ल्याए। गाउँपालिकाका निवर्तमान अध्यक्ष सूर्यनारायण मण्डल र जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख प्रभाकर यादवको जमानत समेत जोगिएन्।
उनीहरुले क्रमशः ८९८ र ८ सय मत प्राप्त गरे। पञ्चायतकालदेखि प्रजातन्त्र र गणतन्त्रकालमा समेत सत्यनारायण र सुर्यनारायणले छिन्नमस्तामा पालैपालो विजय भई नेतृत्व गरेका थिए भने प्रभाकर २०७४ मा छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष हुँदै जिल्ला समन्वय समिति सप्तरीको प्रमुखमा निर्वाचित भएका थिए।