शीर्ष नेताले नै जोगाएनन् किल्ला

शीर्ष नेताले नै जोगाएनन् किल्ला

काठमाडौं : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा कांग्रेस पराजित भयो। डडेल्धुराको गन्यापधुरा–१ मा कांग्रेस हार्‍यो। करुवा चिह्नले चुनाव जित्यो। कांग्रेस बीपीका विजयी भण्डारीले ६७३ मत ल्याइ चुनाव जिते। 

देउवाले मात्रै होइन, एमाले अध्यक्ष केपी ओलीले पनि आफ्नो गृहनगरमा पार्टीलाई चुनाव जिताउन सकेनन्। दलहरूले ओलीको गृहनगर दमकको निर्वाचनलाई ‘प्रतिष्ठा’को विषय बनाएका थिए। दमकमा गठबन्धनका तर्फबाट राप्रपाका रामकुमार थापाले चुनाव जिते। थापाले १७ हजार ५२५ मत पाए। एमालेकी गीताकुमारी पौडेलले १६ हजार ९६६ मात्रै मत प्राप्त गरिन्। 

ओलीले मतदान गरेको वडामा पनि एमाले पराजित भएको छ। ओलीले भक्तपुरको सूर्यविनायक–२ मा मतदान गरेका थिए। ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकाको प्रमुखमा कांग्रेसले जित हासिल गरेको छ। उपाध्यक्षमा माओवादीले जितेको छ। 

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको वडामा एमाले विजयी भएको छ। कांग्रेसका विष्णुप्रसाद काफ्लेलाई ३०९ मतले पराजित गर्दै एमालेका टेकबहादुर खड्का भद्रपुर नगरपालिका–१० को वडाध्यक्षमा विजयी भएका हुन्। वडा गुमाए पनि सिटौला करिब ३० वर्षपछि भद्रपुर नगरपालिकामा कांग्रेसको विरासत फर्काउन सफल भए। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास रहेको कोटेश्वरमा पार्टी पराजित भयो। एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको एकीकृत समाजवादीले नेपालको गृहजिल्ला रौतहटमा भने राम्रो नजिता ल्याउन सफल भयो। 

एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङको गृहनगर इलाम नगरपालिकामा २०४८ पछि पहिलोपटक कांग्रेस विजयी भएको छ। प्रमुखमा कांग्रेसका केदार थापा र उपप्रमुखमा पनि कांग्रेसकै विष्णुकुमारी लिम्बू निर्वाचित भए। माओवादी नेता नारायणकाजी श्रेष्ठको गृह जिल्ला गोरखाकै सिरानचोक गाउँपालिकामा ठूलो मतान्तरका साथ कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र गुरूङ विजयी भए। सभामुख अग्नीप्रसाद सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ मा वडाध्यक्षमा माओवादी उम्मेदवार पराजित भए। वडाध्यक्षमा कांग्रेसका छविलाल न्यौपाने विजयी भए। एमाले सचिव गोकर्ण विष्टको गृहजिल्ला गुल्मीको इस्मा गाउँपालिकामा एमाले पराजित भएको छ। यो पालिकामा कांग्रेसका उम्मेदवार भगवतसिंह खड्का विजयी भए। 

  •  देउवाको गृह वडा गन्यापधुरा–१ मा कांग्रेस बीपी (करुवा)कोे जित
  • ओलीको गृह नगर दमकमा राप्रपाको जित
  •  डा. बाबुराम भट्टराईको गृहजिल्लाका १० पालिकामध्ये ७ मा जसपा पराजित

पूर्वप्रधानमन्त्री तथा जसपा नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई आफ्नै गृहजिल्लाको पालिकामा जित निकाल्न सकेनन्। पालुङटारका १० वडामध्ये जसपाले ३ वटा वडा मात्र जितेको छ। अन्यमा माओवादी केन्द्र आएको छ। 

कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महत र पूर्वमन्त्री डा. रामशरण महतको गृहपालिकामा माओवादी केन्द्रका उम्मेदवारहरू विजयी भएका छन्। प्रवक्ता डा. महतको पालिकमा अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादीले जितेको हो। कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीको गाउँपालिका दुप्चेश्वरमा माओवादी एक्लैले अध्यक्ष र उपाध्यक्ष जितेर कांग्रेसलाई पराजित गरेको छ। 

यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडुको जन्मस्थान दार्चुलामा कांग्रेस एउटा पनि पालिका जित्न सकेन। बडुको गृहनगर महाकाली नगरपालिकाको मेयरमा एमालेका नरसिंह चैसिरले ५ हजार १३ मत ल्याएर निर्वाचित भए। त्यस्तै, कांग्रेसका हंसराज भट्टले ३ हजार ८८७ मत मात्रै पाए। पर्यटनमन्त्री तथा एकीकृत समाजवादीका नेता प्रेम आलेको गृहजिल्ला डोटीको जोरायल गाउँपालिकामा एमालेले जितेको छ। अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्ष जमुनाकुमारी रोकायाले चुनाव जिते भने एकीकृत समाजवादीका किरण मल्ल तेस्रो भए। 

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको गृहजिल्ला गुल्मीको मदाने गाउँपालिका–४ को वडाध्यक्षमा समाजवादी पराजित भएको छ। कांग्रेस र माओवादीसहितको गठबन्धन गरे पनि यस वडामा भने एमालेले चुनाव जित्यो। कांग्रेस महामन्त्री गगन थापाले जितेको निर्वाचन क्षेत्रमा परेका अधिकांश वडामा एमालेले जितेको छ। 

बुढानीलकण्ठ नगरपालिकाका ८ वटै वडा एमालेले जितेको छ। कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा पनि शर्माले उभ्याएका कांग्रेसका उम्मेदवार इन्द्र बुढाथोकीलाई अगाडि आउन धौ–धौ परेको छ। अहिलेसम्मको मतगणनामा एमालेका गोपाल बुढाथोकीको अग्रता कायम छ। 

एमाले सचिव योगेश भट्टराईको ताप्लेजङस्थित गृह वडामा कांग्रेसका खगेन्द्र थत्लुङ विजयी भएका छन्। निर्वाचनअघि भट्टराई आफैं खटिएर गृह वडा जिताउन खटिएका थिए। माओवादी नेता गिरिराजमणी पोख्रेलको महोत्तरीको बर्दिबास नगरपालिका–३ मा माओवादीबाट वडाअध्यक्ष बनेका टीकाबहादुर बस्नेत पराजित भए। एमालेका विराटकुमार विष्टले जित हासिल गरेका छन्। वडा, पालिका, निर्वाचनक्षेत्र कतै पनि माओवादी उम्मेदवारले प्रमुख र उपप्रमुख जित्न सकेनन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.