तिब्बती शरणार्थीको अधिकारमा अमेरिकी चासो

तिब्बती शरणार्थीको अधिकारमा अमेरिकी चासो

काठमाडौं : अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन्। त्यस क्रममा तिब्बती शरणार्थीलाई कार्ड वितरणबारे छलफल भएको स्रोतले बताएको छ। उपविदेशमन्त्री जिया शनिबार मात्रै शरणार्थी शिविर पुगेकी थिइन्। त्यसअघि उनी भारतमा तिब्बती धर्मगुरु दलाई लामासँग भेट गरी नेपाल आएकी हुन्।

तिब्बतबाट नेपालको बाटो हुँदै भारत प्रवेश गर्ने तिब्बतीलाई सहजीकरणको विषय उठ्दै आएको थियो। जियाले यसबारे प्रधानमन्त्री देउवासँग आग्रह गरेको जनाइएको छ। नेपालले सन् १९९० अघि तिब्बती शरणार्थीलाई कार्ड प्रदान गथ्र्यो। उनीहरूको जीवनयापन सहज गराउन कार्ड वितरण प्रक्रियाबारे जियाले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको स्रोतको भनाइ छ। कार्ड नहुँदा बैंकिङ र हवाई सेवाबाट वञ्चित भइरहेकाले उनीहरूको मानव अधिकार रक्षाका लागि यो व्यवस्था गर्न अमेरिकाले नेपालसमक्ष आग्रह गर्दै आएको छ। 

कार्ड नहुँदा तिब्बती शरणार्थी नेपालमा कति छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन। १४ हजार जना रहेको अनुमान छ। जियाले कार्ड उपलब्ध गराउने परराष्ट्र र गृहमन्त्रीसमक्ष पनि आग्रह गरेकी थिइन्।  प्रधानमन्त्री देउवाले जियासँगको भेटपछि ट्विट गर्दै भनेका छन्, ‘अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपविदेशमन्त्री नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको छ।’ भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्री देउवाले जनाएका छन्। 

जेठ ६ गते नेपाल भ्रमणमा आएकी जिया आइतबार साँझ स्वदेश फर्किएकी छन्। उनी शनिबार जावलाखेलस्थित तिब्बती क्याम्प पुगेकी थिइन्। जियाको उक्त भेटघाटलाई चिनियाँ पक्षले चासोसाथ हेरेको छ। त्यसबारे परराष्ट्र मन्त्रालयले अन्तिम समयसम्म कुनै खबर नभएको जनाएको थियो। सरकारले जियालाई सुरक्षाको प्रबन्ध गरेको थियो। 

पूर्वराजदूत दीपकुमार उपाध्याय सत्य जे हो, सरकारले त्यही भन्नुपर्ने बताउँछन्। ‘क्याम्प पुगिसकेपछि सरकारले त्यो हाम्रो सेडुयलमा थिएन भन्न मिल्दैन’, पूर्वराजदूत उपाध्याय भन्छन्, ‘उहाँको फिल्ड नै मानव अधिकार र शरणार्थी हेर्ने भएकाले नेपाल आएर शरणार्थी शिविरका तिब्बतीलाई भेट्नु अनौठो होइन।’ 

जियाले क्याम्पमा गएर कुनै राजनीतिक प्रतिक्रिया नदिएकाले त्यसलाई अन्यथा भन्न नमिल्ने उनको भनाइ छ। ‘क्याम्पमा भेट्न जानु नै ठूलो कुरा हैन’,उनी भन्छन्। जियाले शरणार्थी शिविर अगाडि स्वीस, बेलायत, फ्रान्स, अस्ट्रेलियालगायत देशका राजदूतसँग भेट गरेको परराष्ट्र स्रोतले बतायो। जियाले मानव अधिकारका क्षेत्रमा काम गर्ने र नागरिक समाजका व्यक्तिहरूसँग पनि भेट गरेकी थिइन्। अमेरिकी विदेश मन्त्रालयले जियाको भ्रमण मानव अधिकार तथा लोकतान्त्रिक शासनका उपलब्धि तथा मानवीय प्राथमिकतालाई अघि बढाउन भएको बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.