वाग्लेको ‘अतृप्त अवसर’
काठमाडौं : वरिष्ठ अर्थशास्त्री स्वर्णिम वाग्लेको पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक गरिएको छ। कांग्रेस महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झा र लेखक वाग्लेले पुस्तक लोकार्पण गरेका हुन्।
पुस्तक लोकार्पणसँगै समसामयिक अर्थ राजनीतिक विषयमा विमर्शसमेत गरिएको थियो। महामन्त्री थापाले वाग्लेको पुस्तक नेपालको अर्थ–सामाजिक विषयमा रुचि राख्नेहरूका लागि उपयोगी हुने बताए। ‘पुस्तक सरकार सञ्चालनसँग गाँसिएका नीति, बजेट र आयोजना बारेको टिप्पणीमा आधारित छ। नेपालको दीर्घकालीन विकासको रोडम्यापमा अन्तर्निहित सोच, मान्यता र दर्शनबारे पुस्तकमा अभिव्यक्त विचारले हाम्रो समाज र आगामी सरकारलाई दिशानिर्देश गर्नेछ’, उनले भने, ‘तथ्यसंगत तर्क र प्रक्षेपण त हुन्छन् नै, युवा पुस्ताले पर्न सक्ने भर, लिन सक्ने प्रेरणा र बोक्न सक्ने आशा उनका लेखहरूमा म पाउँछु।’
योजना आयोगकी पूर्व सदस्य झाले अल्पकालीन सरकारका कारण विकासमा हुने गरेका अवरोध चिर्न दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन्। ‘अतृप्त अवसर’ पुस्तकले पनि यही किसिमको विचार अभिव्यक्त गरेको उनले बताइन्।
नेपालको इतिहासमा जुद्धशमशेरपछि अपूर्व अवसरका साथ केपी ओली नेतृत्वको सरकार आएको उल्लेख गर्दै लेखक वाग्लेले यस्तो अवस्थामा पनि सोचेअनुसार गर्न नसक्नु नेपालका लागि दुर्भाग्यपूर्ण रहेको धारणा राखे। बोलीचालीको सरल एवं सहज भाषामा आफूले लेख तयार गरेको र तिनलाई सर्वसाधारणले समेत बुझ्ने तहमा प्रस्तुत गर्ने जमर्काे गरेको उनले बताए।
सन् १९७४ मा गोरखाको बुङ्कोटमा जन्मिएका वाग्लेले लन्डन स्कुल अफ इकोनमिक्सबाट अर्थशास्त्रमा स्नातक, अमेरिकाको हाभर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। सन् २०२० देखि २०२२ सम्म न्युयोर्कस्थित राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को मुख्यालयमा एसिया–प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकार रहेका वाग्ले त्यसअघि तीन वर्ष राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सदस्य थिए।