सुमनको उर्दू गजल टी सिरिजमा
काठमाडौं : गायक सुमनशेखर मानन्धरको स्वरमा रहेको उर्दू गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ। टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले सार्वजनिक गरेका हुन्। म्युजिक भिडियोमा सुनील थापा, निर्जन थापा र धारणा शर्माको अभिनय छ।
मुगुको रारामा खिचिएको गीतले हिन्दी र उर्दूभाषीलाई नेपालमा आकर्षित गर्ने अपेक्षा राखिएको छ। गीतकार तथा संगीतकार इम्तियाजवफाले गीतले नेपालको पर्यटनलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास व्यक्त गरे।
यसैगरी गायक सुमन शेखरले भारतीय उपमहाद्वीपमा बसोबास गर्ने करोडौं हिन्दी र उर्दूभाषी जनतालाई नेपाल बोलाउने अभिप्रायसहित गीत तयार गरेको बताए। कुनै समय अध्ययनका लागि पाकिस्तान बसेका गायक मानन्धरले सोही बसाइँले आफूलाई उर्दू गीत गजलमा चाख बसेको र सोही चाखलाई लामो समयपछि यो गीतमार्फत अभिव्यक्त गरेको बताए।
‘यो गीत तयार गर्न हामीलाई तीन वर्ष लाग्यो। यो गीतले रारा ताल हेर्न आउने दर्शकमा वृद्धि हुने अपेक्षा गरिएको छ’, उनले भने, ‘भावनाको अभिव्यक्तिसँगै संगीतलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि पनि प्रयोग गर्न सकिन्छ भनेर गीत हिन्दी र उर्दू भाषामा तयार गरेका हौं।’
निर्देशक जनकदीप पराजुलीले टी सिरिजको च्यानलमा नेपाली कलाकार र प्राविधिकले सिर्जना गरेको सिर्जना सार्वजनिक भएको सम्भवतः पहिलो घटना भएको जानकारी गराउँदै यसले नेपाली संगीत र कलाकारलाई भारतमा स्थापित गर्न बाटो खोल्ने बताए।
‘टी सिरिजजस्तो भारतकै नम्बर एक कम्पनीमा नेपाली प्राविधिक र कलाकारले गरेको काम सार्वजनिक हुनु गौरवको कुरा हो। गीतले नेपालको पर्यटनलाई पनि केही न केही फाइदा गरोस् भन्ने हाम्रो चाहना हो’, पराजुलीले भने।
वरिष्ठ चलचित्रकर्मी नीर शाहले सुमनशेखर मानन्धरका बुबासँगको सामीप्य स्मरण गर्दै सम्पूर्ण टिमको मेहनतको प्रशंसा गरे। नीर शाहले आफू पनि गीत संगीतको विद्यार्थी भएको बताउँदै गीत र दृश्यको संगमले उत्कृष्ट सिर्जना तयार भएको धारणा राखे। विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले आफू मौलिकताको पक्षधर भए पनि प्राविधिक रुपमा बलियो गीत तयार गरेकोले यसले दीर्घकालीन रुपमा नेपाली कलाकार र प्राविधिकलाई फाइदा पुर्याउने विश्वास व्यक्त गरे। सञ्जीव पाण्डेको संयोजन र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको गीतलाई अर्जुन तिवारीले छायांकन गरेका हुन्। भिडियो सम्पादन धुव्रराज पराजुलीले गरेका छन्।