जनकपुरधामको मेयरमा स्वतन्त्रका मनोज, उपमेयरमा कांग्रेसका किशोरी
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह विजयी भएको छ। सत्तारुढ दलको गठबन्धनमा नेपाली कांग्रेसको टिकटबाट बञ्चित मनोज कुमार साहले स्वतन्त्रबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्। स्वतन्त्रबाट मेयरमा मनोज साह र सतारुढ गठबन्धनबाट उपमेयरमा कांग्रेसका उम्मेदवार किशोरी साह विजयी भएका हुन्।
स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले १३ हजार ४ सय ६५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन्। उनका निकटत्तम प्रतिद्वन्दी नेकपा एमालेका शिवशंकर साह(हिरा)ले ९ हजार ५ सय ३२ मत ल्याए।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका मनोज कुमार चौधरीले ५ हजार ३ सय ६०, गठबन्धनबाट जनता समाजवादीका लालकिशोर साहले ५ हजार १ सय ९४, स्वतन्त्र उम्मेदवार बलराम महतोले ४ हजार २९०, स्वतन्त्र उम्मेदवार जानकीराम साहले २ हजार ७२, जनमत पार्टीबाट अनिता देवी साहले १४३७ र तमलोपाबाट विभा ठाकुरले ११ सय ४१ मत ल्याएका छन्।
यसैगरी उपमेयरमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका किशोरी साहले १५ हजार ५ सय २५ ल्याएर विजयी भएका छन्। साहका निकटत्तम प्रतिद्वन्दी नेकपा एमालेका रुणा देवी झाले १० हजार ८८५, लोसपाकी रिता मिश्रले ५ हजार ८१७ मत ल्याईन्। मिश्र निवर्तमान उपमेयर हुन्।
सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले जनकपुरधामको मेयर जनता समाजवादी पार्टी (जसपा) लाई छाडेपछि कांग्रेस उपमहानगर समितिका सभापति समेत रहेका मनोज कुमार साहले राजीनामा दिएर उम्मेदवारी दिएका थिए।