मदिराको नशामा कुटपिट गरी हत्या, दुई जना पक्राउ
काठमाडौं : सिन्धुपाल्चोक जुगल गाउँपालिका–८ बराम्चे घर भएका ३५ वर्षीय जिवन भन्ने कान्छा लामा तामाङको हत्या आरोपमा दुई जना प्रक्राउ परेका छन्।
तामाङको शव सडेगलेको अवस्थामा दक्षिणकाली नगरपालिका १ पावर हाउस नजिक बाग्मती नदि किनारमा फेला परेको थियो। निकै क्षतविक्षत अवस्थामा तामाङको शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा तामाङको कुटपिट पछि हत्या भएको निष्कर्ष निकालेको हो।
उनको हत्या आरोपमा बाग्मती गाउँपालिका- ६ मकवानपुरका ४५ बर्षीय कान्छामान ठोकर र ललितपुर गोदावरी- ६ लेले की ४० बर्षीया गायत्री नगरकोटी छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको टोलीले हत्या आरोपी ठोकर र नगरकोटीलाई प्रक्राउ गरेको हो।
घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा काठमाडौं महानगरपालिका–१६ नयाँबजार विष्णुमतीपुल नजिक बालाजु संरक्षण समिति एवं श्री शिव मन्दिर गंगा पहलमान पौवा परिसरभित्र रहेको भवनको कोठामा वैशाख २८ गते कान्छा लामालाई कान्छामान ठोकर, गायत्री नगरकोटी र मकवानपुर बाग्मती गाउँपालिका फापरबारी घर भएका दिपक वाइवा तामाङसमेत मिलेर कुटपिट गरी टाउकोमा हम्मरले हान्नुको साथै घाँटीमा सलले कसेर हत्या गरेको खुल्न आएको छ।
अपराध महासाखाका प्रबक्ता कृष्ण कोइरालाका अनुसार संगै बसेर मदिरा पिउने क्रममा उनीहरुविच विवाद भएको थियो। विवादका क्रममा सबै मिलेर जीवनलाई कुटपिट गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
हत्या पश्चात सलले बाँधी शवलाई तन्ना र म्याट्रिसले बेरेर प्लाष्टिकको डोरीले बाँधी कान्छामान ठोकर र गायत्री नगरकोटीले विष्णुमती खोलामा लगि फालेको खुल्न आएको छ। उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि काठमाडौं प्रहरी परिसर टेकु पठाइएको छ। घटनामा संग्लन भएको आरोप लागेका फरार दिपक वाइवाको प्रहरीले खोजी गरिरहेको छ।