सम्झौताअनुसार काम नपाएपछि साउदीमा १ सय ६९ जना नेपाली अलपत्र
साउदी : रोजगारीका क्रममा साउदी अरब पुगेका १ सय ६९ जना नेपाली अलपत्र परेका छन्।
साउदीको अल हलुवा तमिज वेकरीमा दुईजना, कोइदा इन्टोना कन्डक्सनमा ३४ जना ,अलसाफीमा १३ जना, टाईम डिमान्डमा ५० जना ,थराग ट्रान्सपोरमा २३ जना , युनियन जनरल, कन्डक्सनमा ४३ जना इन्टरनेशनल सामा एन्ड मेन्टेनसमा ९ जना गरी १ सय ६९ नेपाली अलपत्र परेका छन्। यिनीहरू प्रिन्स इन्टरनेसनल, ब्लू ग्यालेक्सी,एच आर मेनपावर, टोकियो, लक्स, डिप्रोटन, एन आर सी, र यात्रा मेनपावर, मार्स सर्भिसबाट साउदी पुगेका थिए।
पीडितहरू अक्टोबरदेखि जनावरीसम्म साउदीका विभिन्न कम्पनीमा काम गर्न पुगेका थिए । नेपालमा सम्बन्धित मेनपावरले कम्पनीले सम्झौताअनुसाको काम नदिएपछि उनीहरुले काम नगर्ने बरु स्वदेश फिर्ता हुने जानकारी दिएलगत्तै सम्बन्धित कम्पनीहरुले ७ जनालाई जेल समेत हालेको थियो।
सम्बन्धित कम्पनीले पासपोर्ट राख्ने, पीडितमाथि हातपात गर्ने, आइडी नबनाइदिने, तलब नदिएर आफूहरुलाई अलपत्र पारेकोबारे दूतावास र मेनपावरलाई जानकारी गराएका थिए। तर, हालसम्म पनि सहयोग र उद्धार हुन नसकेको उनीहरुको गुनासो छ।
दूतावासका अनुसार पीडितहरू अलपत्र परेको सूचना पाउनासाथ सम्बन्धित कम्पनी र नेपाल मेनपावर सञ्चालकबीच छलफल गरी आवश्यक सहयोग गर्न अनुरोध गरेकामध्ये केहीलाई स्वदेश फिर्ता गराइएको छ। तर, केही सम्बन्धित मेनपावरले जिम्मेवारीपूर्ण ढंगले काम नगरेकाले सम्बन्धित मेनपावरविरुद्ध कारबाही गर्न वैदेशिक रोजगार विभागलाई जानकारी गराएको दूतावासले जनाएको छ। दूतावासले अलपत्र परेका नेपालीहरुको उद्धारको लागि थप आवश्यक कदम चाल्ने जानकारी गराएको छ ।
अलपत्र परेका नेपालीहरुले आफूहरुले वैदेशिक रोजगारमा जाँदा सुनौलो भविष्य देखेको तर, मेनपावरको लापरबाही र सम्बन्धित कम्पनीको लापरबाहीका कारण आफूहरु अलपत्र परेको गुनासो पोखेका छन्। साउदी अरब आउँदा मेनपावरले प्रतिव्यक्ति १ लाख ५० हजारदेखि २ लाख २० हजारसम्म रकम असुलेको उनीहरुले बताएका छन्।
पीडितहरुले आफूहरुलाई सम्बन्धित कम्पनीले अलपत्र पारेको गुनासो मेनपावर सञ्चालकलाई जानकारी गरी उद्धार गरिदिन आग्रह गर्दै आइरहेको बताएका छन्।
अलपत्र परेका नेपालीहरु साउदीको रियाद, दमाम, जेध्दा, अब्बाह, सहरमा छन्। उनीहरुलाई तत्कालका लागि एन आर एन साउदी,र केही भातृसंगठन, सामाजिक संघसंस्थालगायत नेपाली होटल लालिगुराँसको सहयोमा खाना र बस्नको व्यवस्था गरिँदै आएको छ।
नेपालका केही मेनपावर कम्पनीले साउदीमा रहेका कम्पनीको बारेमा आधिकारिक रूपमा नबुझी नेपाली श्रमिकलाई पठाउँदा हजारौं श्रमिकहरू समस्याको परेका छन् ।
हालसम्म साउदीमा ४ लाखभन्दा बढी नेपाली कार्यरत छन्।