नेपाल–जापान आर्थिक सम्बन्धका सूत्रधार
काठमाडौैं : सन् १९४५ मा दोस्रो विश्वयुद्ध समाप्त भयो। जापानले आर्थिक पुनरुत्थानको बाटो समात्यो। मुलुकको पहिलो गभर्नर हिमालय शमशेर राणा सन् १९६० को सेप्टेम्बरमा जापान भ्रमणमा गए। अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक सम्मेलनमा भाग लिन जापान गएका थिए। जापानको केन्द्रीय बैंकका गभर्नर यामामोटोसँग राणाको भेटघाट भयो। याटामोटोले जापानको बैंकमा खाता खोल्न राणासँग आग्रह गरे। त्यसको एक वर्षपछि नेपालले जापानको सरकारी बैंकमा खाता खोल्यो।
विदेशी मुद्राको सञ्चितिमध्ये केही रकम जापानी ऐनमा राख्यो। बैंक अफ जापानमा खाता खोल्ने नेपाल पहिलो राष्ट्र बन्यो। त्यो बेला नेपालले गरेको विश्वासलाई आज पनि जापानले उत्तिकै सम्मान र आदर गर्छ। पहिलो गभर्नर राणालाई जापान सरकारका तर्फबाट राजदूत युताका किकुताले ‘द अर्डर अफ द राइजिङ सन (गोल्ड एन्ड सिल्भर स्टार) बाट मंगलबार सम्मान गरे। नेपाल–जापानबीच आर्थिक सम्बन्धका सुत्रपात मानिन्छन, राणा। ‘जापानको अर्थतन्त्रलाई विश्वास गरेर रिजर्भ राख्ने हामी पहिलो बनेका थियौं,’ राणाले भने। त्यसअघि राष्ट्र बैंकले भारतीय, बेलायती र अमेरिकी मुद्रामा मात्रै सञ्चिति राख्थ्यो।
२९ वर्षकै उमेरमा गभर्नर बनेका राणाले जापानसँग आर्थिक कूटनीतिमा त इतिहास रचे नै, देशभित्र नेपाली नोट चलनचल्तीमा ल्याउन पनि ऐतिहासिक काम गरेका थिए। गभर्नर नियुक्तिपछि उनले नेपाली नोट निष्कासनको सुरुआत गरे। त्यो बेला, तराई भेगमा नेपाली मुद्रा प्रचलनमा थिएन। भारतीय रुपैयाँ मात्रै चल्थ्यो। तराईमा नेपाली मुद्रा चलाउनु हुँदैन भन्ने अवधारणा थियो। राणाले त्यसलाई तोडे। देशका सबै भागमा नेपाली मुद्रा चल्ने वातावरण बनाए। त्यो बेला तराईमा नेपाली मुद्रा चलनचल्तीमा ल्याउन सक्नु देशकै लागि ठूलो सफलता भएको राणा बताउँछन्। ‘तराईमा नेपाली मुद्रा प्रचलनमा ल्याउन सम्भव हुँदैन भन्थे,’ राणा सम्झिन्छन्, ‘तर सहज ढंगले नेपाली रुपैयाँलाई चलनचल्तीमा स्थापित गर्न सफल भइयो।’ नेपाल राष्ट्र बैंक स्थापना गर्नुको मुख्य उद्देश्य नै मुलुकभित्र आफ्नै रुपैयाँको कारोबार होस् भन्ने सरकारको उद्देश्य थियो।
राणाले मुलुकका लागि अर्को पनि अमूल्य गुन लगाएका छन्। त्यसबेला झापादेखि कञ्चनपुरसम्मको तराई र भित्री मधेसमा भारतीय मुद्रामा कारोबार हुन्थ्यो। तर, विनिमयदर भने समान थिएन। सटहीको अस्थिरताले गर्दा व्यवसायीहरूले आफूखुसी सामानको मूल्य बढाउँथे। महँगीको भारमा जनता पर्थे। राणाले नेपाल र भारतीय मुद्रामा स्थिर विनिमय दर लागू गरे। यसअनुसार भारतीय १ सय रुपैयाँको १ सय ६० रुपैयाँ नेपाली निर्धारण गरियो। २०१७ वैशाखदेखि लागू भएको यो विनिमयदर अझै कायम छ। ‘त्यसबेला विनिमयदर तोक्न खोज्दा धेरैले कार्यान्वयनमा सम्भव छैन भनेका थिए,’ राणाले भने, ‘तर, सफल भयौं।’ त्यही व्यवस्थाकै कारण उद्योगपति, व्यापारी र उपभोक्ताबीच नेरु–भारुको सटही दरको अस्थिरता हटेको राणाले बताए। भारतीय रुपैयाँको विनिमयदर देशभर एउटै लागू भयो।
सन् १९२८ जनवरी १० मा जन्मिएका राणा पहिलो अर्थसचिव पनि हुन्। बुवा लक्ष्मण शमशेर र आमा गीता राणा हुन्। तत्कालीन प्रधानमन्त्री देव शमशेरका पनाति हुन्। देव शमशेरका छोरा जंग शमशेर, जंग शमशेरका छोरा लक्ष्मण शमशेर र लक्ष्मण शमशेरका छोरा हिमालय शमशेर हुन्। नेपालमा मेरिट सकाएपछि राणा बिए र एमए अध्ययन गर्न भारतको मुम्बइ गए। राणा परिवारको सुख–सयलमा हुर्किएका राणा मुम्बई पुगेपछि भने सामान्य परिवारको विद्यार्थी झै जीवनयापन बिताए। सन् १९४९ (वि.सं २००६ तिर) मुम्बइ युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर (एमए) पास गरे। त्यसपछि स्वदेश फर्के। सन् १९५५ (वि.सं २०१२ तिर) अमेरिकाको हार्डवेयर यूनिभर्सिटीबाट कर (ट्याक्सेसन) को कोर्षसमेत गरे।
मुम्बईबाट एमए गरेर स्वदेश फर्किएको केही समयपछि अर्थात् वि.सं २००७ सालमा पहिलो अर्थ सचिव बन्ने मौका पाए। तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले मन्त्रालयको सचिवमा (एमए) गरेका युवा खोजीरहेका थिए। शैक्षिक योग्यता भएका व्यक्ति सीमित मात्रै थिए। अर्थमन्त्री सुवर्ण शमशेरले एमए पास गरेका चारजना युवालाई केही समय काममा लगाए। उत्कृष्टताको आधारमा हिमालय शमशेरलाई अर्थ सचिवको जिम्मेवारी दिए। मन्त्रालय प्रवेश गरेको करिब ३ महिनामै हिमालय शमशेर (विसं. २००७–२०१२ सालसम्म) ५ वर्ष अर्थसचिव बने। उनको जीवनको पहिलो ‘टर्निङ पोइन्ट’ यही थियो। सचिव हुँदा उनले अर्थतन्त्र सुधार र जनताको विकासका लागि नयाँ निकायहरू संस्थापन गर्न सक्रिय भूमिका निर्वाह गरे। अर्थ व्यवस्थालाई व्यवस्थित गर्न महत्त्वपूर्ण योगदान पुर्याएका थिए। त्यसबेला भए/गरेका कामलाई उनी युगान्तकारी परिवर्तन ठान्छन्।
‘अर्थसचिव भएपछि आर्थिक प्रणालीमा युगान्तकारी परिवर्तन गरें,’ राणा भन्छन्, ‘बजेट बनाएँ। जनतालाई विकासका लागि सरकारी अनुदान दिने व्यवस्था गरियो।’ त्यसबेला सरकारको आम्दानी मालपोतबाट मात्रै हुन्थ्यो। राणाले २००८–२००९ सालतिर भन्सार अड्डाहरू पुनर्गठन गरे। अन्तःशुल्क विभाग र आयकर विभाग पनि गठन गरेका थिए। त्यसपछि, राष्ट्र बैंकको स्थापना भयो। गभर्नरको खोजी भयो। छिमेकी भारत र पाकिस्तानमा अर्थ सचिवलाई गभर्नर बनाउने प्रचलन थियो। त्यसैलाई मुलुकमा अबलम्बन गरियो। हिमालयन शमशेर गभर्नरका लागि योग्य ठहरिए। १९५६ अप्रिल २६ मा उनी ५ वर्षका लागि पहिलो गभर्नर बने। उनको जीवनको यो दोस्रो महत्त्वपूर्ण ‘टर्निङ पोइन्ट’ थियो। उनलाई गभर्नर बनाउन राजा महेन्द्रको पनि सहयोग रहेको बताइन्छ।
तर, तत्कालीन राजा महेन्द्रले २०१७ सालमा संसद् विघटन गरेर सत्ता लिए। बहुदलीय व्यवस्थामा विश्वास गर्नेहरू सबैलाई हटाए। हटाइनेमा गभर्नर राणा पनि परे। ४ महिना कार्यकाल बाँकी छँदै उनी हटाइए। तर, गभर्नर हँुदा उनले केन्द्रीय बैंकको संस्थापन तथा मुलुकको अर्थतन्त्रमा कायापलट ल्याउने गरी काम गरिसकेका थिए।
गभर्नर सेवाबाट हटे लगत्तै उनले संयुक्त राष्ट्र संघ (यूएन)मा प्रोग्राम अफिसरको काम गरे। यूएनको करिब २४ वर्षको सेवा अवधिमा उनले अमेरिका, श्रीलंका, अफगानिस्तान, बर्मा, इन्डोनेसिया, पाकिस्तानलगायतमा मुलुकमा गएर काम गरे। यूएनबाट अवकाश पाएपछि स्वदेश फर्के। गोर्खा ब्रुअरी कम्पनी खोले। साथीहरूसँगको पार्टनरसिपमा गुणस्तरीय बियर उत्पादन गर्न उक्त कम्पनीको स्थापना गरेको उनी बताउँछन्। कम्पनी सञ्चालनको ५ वर्षपछि बिक्री गरे।
सन् १९९६ जनवरी १८ मा हिमालयन बैंक खोले। निजी लगानीमा ‘क’ वर्गको वाणिज्य बैंकको उनी संस्थापक हुन्। हिमालयन बैंक पनि तत्कालीन समयमा विदेशी बैंक पाकिस्तानको हबिब बैंक लिमिटेडसँगको संयुक्त लगानीमा खोलिएको पहिलो बैंक हो। राष्ट्र बैंकको छापमा ‘असतोमा सदगमय’ लेखिएको छ। राणाले नै यो वचन राख्न लगाएका थिए। त्यसको अर्थ हुन्छ– असत्य कामबाट सत्य कामतर्फ लैजाऊ। अर्थतन्त्र चलाउँदा विकृत्ति ल्याउनु भएन। आर्थिक अनियमितता गर्नु भएन।’ यतिबेला मुलुकको अर्थतन्त्र संकटमा छ। मुलुकको नीति बनाउने र नेतृत्व गर्नेले ‘असतोमा सदगमय’ को वचनलाई एकपटक स्मरण गर्ने कि ?’