नुवाकोटमा बस, ट्रिपर र मोटरसाइकल ठोक्किंदा पाँच जना घाइते
नुवाकोट : त्रिदेशीय मार्ग अन्तर्गत रहेको नुवाकोटको देवीघाटमा बुधवार तीन वटा यातायातका साधन एकैपटक ठोक्किदा पाँच जना घाइते भएका छन्। घाइतेहरुको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार गरिएको छ।
नुवाकोटको विदुर नगरपालिका-५ देवीघाटमा त्रिदेशीय सडकमार्ग अन्तर्गत रहेको गल्छी–देवीघाट–त्रिशूली सडकखण्डामा बस, ट्रिपर र मोटरसाइकल ठोकिँदा पाँच जना घाइते भएको प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
घाइतेहरु पाँचै जना पुरुष रहेका छन् भने व्यस्त सडकमार्गमा गुडिरहेका बेला पहिले बस र ट्रिपर ठक्कर खाएको र त्यसमा लगत्तै एक मोटरसाइकलसमेत अनियन्त्रित भई ठोक्किएर घटना भएको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए।
उनका अनुसार घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ। रसुवाको नौकुण्ठ गाउँपालिकाको पाच्र्याङबाट यात्रु लिएर काठमाडौँका लागि छुटेको बा ४ ख २२५९ नम्बरको बस र बा ४ ख ७७७२ नम्बरको ट्रिपर सडकमार्गमा एकआपसमा ठोक्किएको डिएसपि खड्काले बताए।
बस र ट्रिपर ठक्कर खाएको र लगत्तै वा ३७ प १०२८ नं. को मोटरसाइकलसमेत ठोक्किँदा विदुर ५ का ४९ वर्षिय पूर्णमान चित्रकारसमेत घाइते भएको नुवाकोट प्रहरीले जनाएको छ।
ठक्करले केरुङ यातायात प्रालिको बसमा सवार चारजना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरुमा रसुवाको नौकुण्ड गाउपालिका-८ का ३५ वर्षीय धनबहादुर गुरुङ, नौकुण्डकै २७ वर्षिय दावा मिजार, वर्ष ९ का बुद्ध घले र नुवाकोटको बिदुर नगरपालिका-५ का १९ वर्षीय सागर कुमाल रहेका छन्।
बस चालक ककनी गाउँपालिका-६ का शुक्रबहादुर तामाङ र ट्रिपर चालक धादिङ जिल्ला गल्छी गाउँपालिका-८ का सानुकान्छा लुङ्गेलीमगर प्रहरीको नियन्त्रणमा रहेको नुवाकोट प्रहरीले जनाएको छ।