भ्रष्टाचार मुद्दाका आरोपी वडाध्यक्ष

भ्रष्टाचार मुद्दाका आरोपी वडाध्यक्ष

नुवाकोट/टीकापुर : नुवाकोटमा वडाध्यक्षमा निर्वाचित एक व्यक्तिविरुद्ध विशेष अदालतमा आर्थिक अनियमिततासम्बन्धी मुद्दा चलिरहेको रहस्य खुलेको छ। उनीमाथि विशेष अदालतमा २०७६ भदौ २० गतेदेखि मुद्दा चलिरहेको विषयमा सोमबार विदुर नगरपालिका कार्यालयमा उजुरी दर्ता भएको छ।

गठबन्धन दल माओवादी केन्द्रबाट विदुर–९ को वडाध्यक्षमा निर्वाचन हरिराम भण्डारी मुद्दा चलिरहेकै अवस्थामा निर्वाचित भएको उजुरीमा उल्लेख छ। उनको शपथ ग्रहण रोक्न माग गर्दै सोही वडाका २० जना व्यक्तिहरूले नपा कार्यालयमा ५७५० नं. मा दर्ता गरेको उजुरीमा उल्लेख छ।

भण्डारीको विशेष अदालतमा मुद्दा नं. ०७६ सिआर ००६३ बाट विशेष अदालत काठमाडौंमा रकम हिनामिनाको मुद्दामा सरकारकै तर्फबाट अभियोग दायर भई गत वैशाख २० गते मुद्दा पेसीमा चढी कारबाहीसमेत चलिरहेको उजुरीमा जनाइएको छ। सोही वडाका शनि चित्रकार, विनयप्रसाद लामिछाने, राजकुमार तामाङ, जयराम रिजाल, धनबहादुर बोगटी, सीता बोगटी, धनमाया सुनार, सुरेन्द्र श्रेष्ठसहित २० जनाले मुद्दाको विवरणसहित विदुर नपा कार्यालयमा उजुरी पेस गरेका हुन्।

मुद्दा चलिरहेकै बेलामा वडाध्यक्षमा निर्वाचित भण्डारीको शपथग्रहण रोक्न माग गर्दै वडावासीले उजुरी दिएका हुन्। वडावासीले शपथ ग्रहण रोक्न माग गर्दै उजुरी दिए पनि भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। यस सम्बन्धमा बिदुर नपाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीसँग जिज्ञासा राख्दा उनले कैलालीमा रेशम चौधरीले सांसदको शपथ लिन हुने, विदुरमा हरिराम भण्डारीले शपथ ग्रहण गर्न किन नहुने ? भनेर प्रतिप्रश्न गरे। नेपाल सरकार वादी भई गत २०७६ भदौ २० गतेदेखि हरिराम भण्डारीसहित तीन जनाविरुद्ध विशेष अदालतमा रकम हिनामिनासम्बन्धी मुद्दा चलिरहेको छ।

भ्रष्टाचार मुद्दा लागेका अध्यक्षले गरे पदभार ग्रहण

गाउँपालिकाको राजस्व हिनामिनासम्बन्धी ‘भ्रष्टाचार मुद्दा’ खेपिरहेका कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवीदत्त उपाध्यायले पदभार ग्रहण गरेका छन्। मंगलबार एक कार्यक्रमकाबीच अध्यक्ष उपाध्यायले पदभार ग्रहण गरेका हुन्। माओवादीबाट उम्मेदवार रहेका उपाध्यायलाई निर्वाचित भएपछि निर्वाचन आयोगले शपथ नगराउन निर्देशन दिएको थियो।

पहिलोपटक आयोगले शपथ नगराउन निर्देशन दिए पनि त्यसपछि भने कानुनसम्मत गर्नू भनेर पत्र आएकाले मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत कैलालीका न्यायाधीश एवं कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले उपाध्यायलाई जिल्ला अदालतमै शपथ गराए।  

गत साता सार्वजनिक भएको मोहन्याल गापाको मत परिणामअनुसार ३ हजार १३४ मत प्राप्त गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित भएका हुन्। प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनी ४ सय १९ मतान्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धरम थापामगरले ३ हजार ७१५ मत प्राप्त गरेका थिए।

उपाध्याय २०७४ को निर्वाचनमा गाउँपालिका ७ का वडाध्यक्ष थिए। गाउँपालिकाका तत्कालीन अध्यक्ष नवलसिंह रावलसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजश्व हिनामिनासम्बन्धी मुद्दा दायर भएको थियो। गापाका तत्कालीन अध्यक्ष रावलको भने मृत्यु भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.