स्थानीय निर्वाचनको सन्देश
स्थानीय तह निर्वाचनको मत परिणाम लगभग उत्तराद्र्धतर्फ आइपुग्दा केही नयाँ प्रवृत्तिको संकेत गरेको छ। बलियो संरचना भएका राजनीतिक दल र सुपरिचित अनुहारलाई पाखा लगाउँदै कतिपय स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। संघीय राजधानी र केही प्रदेश राजधानीसहितका ठूला सहरमा स्वतन्त्र उम्मेदवारप्रति मतदाताको क्रेज निकै देखिएको छ। परम्परागत मान्यतामा यो सामान्य होइन। फरक अवस्था हो। निरन्तरतामा क्रमभंगता हो। यसलाई मतदाताको अनपेक्षित हस्तक्षेप मान्न सकिन्छ। दलप्रतिको भद्र अवज्ञा पनि भन्न सकिन्छ। यद्यपि केही स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षणकै आधारमा आम जनतामा प्रणालीप्रति वितृष्णा जागेको भाष्य निर्माण गर्नु भने गलत हुन्छ। यो प्रणालीविरुद्धको आक्रोश वा विफलता हैन। दलीय उम्मेदवारको पूर्णतः अस्वीकृति पनि हैन। तर, दलहरूप्रतिको असन्तुष्टि भने अवश्य हो। कतिपय उम्मेदवारको छनोटमा भएको कमजोरीले, कतिपय उम्मेदवारको पृष्ठभूमिले, कतिपयको बोली र व्यवहारले अनि कतिपय ठाउँमा भने स्वतन्त्र उम्मेदवारको सामाजिक वा राजनीतिक छविको कारणले पनि यो स्थिति निर्माण भएको छ।
हरेक स्वतन्त्र उम्मेदवारका फरकफरक अवस्था भएकोले समग्रतामा उनका प्रवृत्तिलाई एकैरूपमा चित्रण गर्न सकिन्न। काठमाडौं, धरान, धनगढी र जनकपुरलाई उदाहरणको रूपमा लिएर विश्लेषण गर्ने हो भने पनि हरेक ठाउँका फरक अवस्था छन्। कहीँ स्वतन्त्र उम्मेदवार दलीय आधारमा पनि स्वतन्त्र नै छन् भने कतै दलका बागी वा विद्रोही।
काठमाडौंमा बालेन साह दलीय संलग्नता वा राजनीतिक पृष्ठभूमिका कारण परिचित व्यक्ति होइनन्। तर, युवाको आकर्षणमा परे। सेलिब्रेटी छवि, इन्जिनियरिङ अध्ययन, गम्भीर प्रस्तुति र आक्रामक प्रचारशैलीका कारण उनी छोटो समयमै सबैको चासोको पात्र हुन पुगे। राजधानीवासीमा परिवर्तनको उत्कट चाहना छ। दलप्रति उनीहरूमा आक्रोश छ। विगतको सेवा प्रवाहप्रति असन्तुष्टि छ। उनीहरू विकल्पको खोजीमा छन्। तर, दलले दिएका वैकल्पिक नेतृत्वले आशाको सञ्चार गर्न सकेनन्। यस्तो अवस्थामा उनीहरूले राजनीतिक वा सामाजिक जीवनमा खासै परीक्षण नभएको नयाँ व्यक्तिलाई शंकाको सुविधा दिन चाहे। समुदायका अनेक पहललाई प्रवाह नगरी उनीहरूले पहिलो रोजाइ बालेनलाई बनाए। यो सहरी मनोविज्ञान मात्र होइन, नयाँप्रतिको भरोसा पनि हो।
धरानको अवस्था अलि फरक छ। स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ सोही ठाउँमा निरन्तर सामाजिक अभियानमा क्रियाशील व्यक्ति हुन्। भ्रष्टाचारविरुद्धको अभियानले उनलाई चिनायो। खानेपानीलगायतका विकासका अभियानले विश्वास बढायो। सडक, टेलिफोनका साथै जनसरोकारका विषय र सरकारी सेवा प्रवाहमा गरेको पहलकदमीले धरानवासीको मन जिते। फलतः एमालेका मेयर तारा सुब्बाको निधनपछि २०७६ मा भएको उपनिर्वाचनमा केवल पाँच सय हाराहारी मतमा सीमित हर्कले २०७९ मा आइपुग्दा सुरु निर्वाचनको विजेता एमाले र उपनिर्वाचनको विजेता नेपाली कांग्रेस पाँच दलीय गठबन्धनसहित आउँदासमेत पछि पारे। साम्पाङ जनतामा भिजेरै विजेता बने।
धनगढीका गोपाल हमाल परिचित उद्योगी–व्यवसायी हुन्। त्यस क्षेत्रको विकास र सामाजिक कार्यमा उनी राम्रैसँग भिजेका छन्। अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट मेयरको उम्मेदवार बनेका हमाल दलीय राजनीतिमा नलागेका पनि हैनन्। विवकेशील साझा पार्टीको प्रदेश संयोजक नै भए। तर, निर्वाचनको मुखमा पार्टी परित्याग गरे। फेरि स्वतन्त्रबाटै उम्मेदवार बने। अघिल्लो पटक नपाएको जनसमर्थन अहिले पाए। गठबन्धनलाई फिक्का पार्दै सुदूरपश्चिमको राजधानीमा मेयरको बागडोर सम्हाल्ने हैसियत बनाए। सहजै निर्वाचन जिते।
जनकपुरका मनोज साह नेपाली कांग्रेसका नगर सभापति थिए। अघिल्लो निर्वाचनमा पनि मेयरको प्रत्यासी रहेका उनी यसपटक पार्टीबाट उम्मेदवार हुने प्रयासमा रहे पनि त्यो सम्भव भएन। गठबन्धनको सहयात्री दल जसपाको भागमा परेपछि उनले उम्मेदवारीभन्दा पार्टी नै परित्याग गर्ने निर्णय लिए। अघिल्लो निर्वाचनमा पराजयदेखि नै मतदाताबीचमा रहेर निरन्तर मत मागिरहेको दाबी गर्ने उनी स्वतन्त्र हैसियतमा मैदानमा उत्रिए। दलको व्यक्ति दलबाटै उम्मेदवार बन्न चाहे पनि सम्भव नभएपछि चितवनका जगन्नाथ पौडेलझैं विद्रोह गरेर स्वतन्त्र उम्मेदवार भए। जनताको विश्वास पनि पाए।
निर्वाचनअघि उम्मेदवारको लोकप्रियता जाँच गर्ने विधि नै छैन। दलको छनोट र आम जनताको चाहनाबीचमा जुन रिक्तता छ, स्वतन्त्र उम्मेदवारले अनपेक्षित रूपमा पक्डिने विजयको आधार त्यही हो।
अन्य विजयी वा विजयको नजिक पुगेका स्वतन्त्र उम्मेदवार पनि यस्तै परिवेशका छन्। कोही बागी विद्रोही र कोही साँच्चिकै स्वतन्त्र। कोही निरन्तरको अभियानमा रहेका र कोही आकस्मिकरूपमा मैदानमा उत्रिएका। परिस्थिति जे भए पनि स्वतन्त्र उम्मेदवारले विगतको तुलनामा यो निर्वाचनमा बलियो हस्तक्षेप कायम गरेका छन्। यसले प्रणालीमा संकट नल्याए पनि दलहरूको अवस्थामा बदलाव ल्याउन सक्दछ। यो निर्वाचनमा स्वतन्त्रले प्राप्त गरेको समर्थन दलीय प्रणाली वा दलीय उम्मेदवारको विफलताको सूचक होइन तर दलको निर्णयमाथिको चुनौती भने अवश्य हो। यो दलप्रतिको अलार्मिङ हो।
स्वतन्त्र उम्मेदवारको विजयको सन्दर्भ अपवाद हो। मूल प्रवृत्ति होइन। यद्यपि दलहरूलाई कोर्स करेक्सन गर्न बलियो दबाब भने हो। यदि दलहरूले यसबाट शिक्षा लिए र आफूलाई नयाँ ढंगले अघि बढाए भने स्वतन्त्र अभियान यहीँ रोकिन सक्दछ। हस्तक्षेप गर्न सक्ने हैसियतमा थप विस्तार हुँदैन। तर, समग्र सुधारतर्फ अग्रसर नहुने हो भने यो प्रवृत्तिको रूपमा झांगिने अवस्था नआउला भन्न पनि सकिन्न। संघीय प्रणालीको अभ्यासमा रहेका कतिपय मुलुकमा स्थानीय तहलाई निर्दलीय बनाउने प्रचलन छ। छिमेकी मुलुक भारतमा पनि त्यही अभ्यास छ। नेपालमा पनि स्थानीय तहलाई निर्दलीय बनाउनु पर्छ भन्ने कतिपयको मान्यता छ। स्वतन्त्र उम्मेदवारको विजयलाई यस मान्यताको आधारमा सही सावित गर्ने प्रयास पनि भइरहेको छ। यद्यपि नेपालको संघीयता भारत वा त्यस्तै मोडल बोक्ने मुलुकभन्दा फरक छ। भारतमा दुई तहको संघीयता छ भने नेपालमा तीन तहको। यस अर्थमा नेपालको स्थानीय तह स्वतः दलीय आधारमै हुने हो। नागरिकलाई बलियो बनाउने स्थानीय संरचनाले नै हो। र, स्थानीय तहलाई बलियो बनाउने दलीय मान्यतामा स्थापित संरचनाबाटै हो।
नेपालमा लामो समयदेखि अभ्यासमा रहेको स्थानीय निकायलाई स्थानीय तहमा रूपान्तरण गरिएको छ। संवैधानिकरूपमै अधिकार सम्पन्न बनाइएको छ। त्यसर्थ पनि यसको प्रभावकारी सञ्चालनको निम्ति दलीय संरचना आवश्यक हुन्छ। अन्ततः दलको विकल्प दल नै हुने हो। एक दलको उम्मेदवारको विकल्प अर्को दलको उम्मेदवार नै हो। आमरूपमा दल वा दलीय उम्मेदवार नै हो। तर, उम्मेदवार छनोटको प्रक्रिया र आधारमा भने पुनर्विचार आवश्यक रहेको यो निर्वाचनले पनि पुष्टी गरेको छ। दलले विकल्प नदिए व्यक्तिले दिएको विकल्पले नागरिकलाई आकर्षित गर्न सक्छ।
गठबन्धन निर्वाचनमा महत्त्वपूर्ण पक्ष हो तर सम्पूर्ण होइन। र, अहिलेको गठबन्धन यसै पनि स्थायी वा दीर्घकालीन होइन।
नेपालमा राजनीतिक दलहरूले उम्मेदवार चयन गर्ने मूल विधि नेतृत्वको चाहनामा निहित छ। मूलतः पार्टीको मूल नेतृत्व वा निर्णयकर्ताको इच्छामा भर पर्दछ। त्यो विस्तारित रूपमा जाँदा केन्द्रीय नेतृत्व, प्रदेश नेतृत्व, जिल्ला नेतृत्व र स्थानीय नेतृत्वमा पुग्दछ। आमकार्यकर्तासम्म पुग्दैन। मतदाताको क्षेत्रभित्र पुग्ने त झन कुरै भएन। उम्मेदवार चयनको मूल विधि निर्णय गर्ने कमिटीमा प्राप्त हुने बहुमत हुन्छ। निर्वाचनअघि उम्मेदवारको लोकप्रियता जाँच गर्ने विधि नै छैन। आम मतदाताको चाहनाको परीक्षण गर्ने पद्धति विकास गरिएकै छैन। दलको छनोट र आम जनताको चाहनाबीचमा जुन रिक्तता छ, स्वतन्त्र उम्मेदवारले अनपेक्षित रूपमा पक्डिने विजयको आधार त्यही हो। पार्टी संगठन र विकासमा पुर्याएको योगदान, कठिन अवस्थामा उभिएको धरातल, नेतृत्वप्रति दर्शाएको सद्भाव वा समर्थनजस्ता विषयहरू नेतृत्वको लागि अहम् पक्ष हुन् कुनै पनि कार्यकर्ताको मूल्यांकनका लागि। पार्टीप्रतिको निष्ठालाई नै महत्त्व दिने हो पार्टीले। तर, कहिलेकाहीँ यहीँनेर पार्टी पंक्ति र आम मतदाताबीचमा मेल नखाँदा परिणाममा अनपेक्षित अवस्था देखिने हो। दल नेतृत्वप्रतिको निष्ठालाई प्राथमिकतामा राख्छ। मतदाता मूलतः आफूप्रतिको लगाव हेर्दछ। समाज गतिशील छ। आमजनता परिवर्तनशील छन्। संस्थापन जहिले पनि मूलतः यथास्थितिवादी हुन्छ। ऊ जोखिम लिन डराउँछ। तर, मतदाता परिवर्तनमुखी हुन्छ। जोखिम लिन चाहन्छ। पार्टीको जनाधार हुँदाहुँदै परिणाम विपरीत आउने मुख्य पक्ष यो पनि हो। नेतृत्वले स्थानीय कमिटीभन्दा बृहत्तर दृष्टिकोण राखी लोकप्रियतालाई आधार मान्दा परिणाम कसरी फरक पर्दछ भन्ने एउटा उदाहरण काठमाडौंको उपमेयर पनि हो। यो अवस्था अन्य थुप्रै ठाउँमा उल्लेख्य रूपमा देखिएको छ।
उम्मेदवार चयन, निर्वाचनको स्वच्छता, शान्ति सुव्यवस्था, निर्वाचन अभियान अनेक विषयले निर्वाचनको परिणामलाई प्रभावित पार्न सक्छ। निर्वाचनको प्रयोजनका लागि गरिने गठबन्धनले पनि जित हारको निर्धारण गर्दछ। जित हारको अवस्थाले सिट मापन हुन्छ। सिटको संख्याले तत्कालको जय पराजय बताउँछ। यद्यपि समग्र मूल्यांकन भने जनमतको आधारमा निर्धारण हुन्छ। त्यसले जनाधारको तस्बिर दिन्छ। निर्वाचनको प्रवृत्तिगत विश्लेषण समग्र मतसंख्याको आधारमा गर्ने हो भने दलीय हैसियत स्पष्ट हुन्छ। दलीय हैसियतको यथार्थपरक विश्लेषणबाटै भावी स्वरूपको आकलन गर्न सकिन्छ।
स्थानीय तहको यो निर्वाचनमा गत निर्वाचनको सिट संख्याको तुलनामा नेकपा एमालेले केही गुमाएको अवस्था छ भने नेपाली कांग्रेसले केही लाभ लिएको छ। माओवादी पनि गत निर्वाचनको तुलनामा केही फाइदामा छ। नेकपा एकीकृत समाजवादी केही स्थानमा बाहेक निराशाजनक अवस्थामा छ। जसपा पनि उत्साहजनक अवस्थामा छैन। लोसपा वा जनमोर्चाको उपस्थिति कमजोर छ। यो निर्वाचनलाई एमाले भर्सेस गठबन्धनको दुईपक्षीय प्रतिस्पर्धाको रूपमा हेर्दा एमालेभन्दा दुई तिहाइ सिटले गठबन्धन अगाडि छ। तर, यो गठबन्धन दीर्घकालीन राजनीतिक गठबन्धन नभई चुनावी ट्याक्टिस मात्र भएकोले यसको सान्दर्भिकता अल्पकालीन छ।
आगामी संसदीय निर्वाचनको सन्दर्भमा यही गठबन्धन यही रूपमा अगाडि बढ्ने आधार देखिन्न। यसर्थ निर्वाचन परिणामको आकलन पनि दलहरूको अलगअलग हैसियतकै आधारमा गर्नुपर्दछ। त्यसको निम्ति दलहरूले निर्वाचनमा प्राप्त गरेको मतसंख्या मुख्य पक्ष हुन्छ। मतसंख्यामा नेपाली कांग्रेस र नेकपा एमाले लगभग उस्तै हैसियतमा देखिन्छन्। गत संसदीय निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसभन्दा एमाले जुन अनुपातमा अगाडि थियो, त्यो स्थिति नभए पनि सिट संख्यामा जस्तो जनमतमा कमजोर छैन। बलियो छ। समग्रमा विगतकै अवस्थामा छ। यो निर्वाचनबाट पाठ सिकेर नयाँ रणनीतिका साथ अघि बढ्ने हो भने आगामी निर्वाचन अहिलेको सामान्य अनुमानभन्दा भिन्न हुनेछ। गठबन्धन निर्वाचनमा महत्त्वपूर्ण पक्ष हो तर सम्पूर्ण होइन। र, अहिलेको गठबन्धन यसै पनि स्थायी वा दीर्घकालीन होइन। यसर्थ एकातिर त्यसमा आउने फेरबदलले प्रभाव पार्दछ भने अर्कोतिर उम्मेदवारको चयनले। स्वतन्त्रमा समेत जान सक्ने मतदाताको रुझान परिवर्तनको एजेन्डा बलियोसँग बोक्ने दल र विश्वस्त उम्मेदवारप्रति नजाने हुँदैन। यो निर्वाचन भावी निर्वाचनको लागि पाठ हो परिणाम होइन।