धनगढी–धरानको सन्देश
अटो रिक्सा चढ्थे। माइकिङ गर्थे। पर्चा पनि आफैं बाँड्थे। न जिन्दावाद भन्ने भीड। न त चोक नै ढाक्ने चुनावी सभा। ‘एक्लो’ हर्कराज राई सडकमा ‘चिच्याउँथे’। जनताका कुरा गर्थे। राजनीतिका ‘बाह्रमासे’लाई पत्यारै थिएन। किनकि, हर्कराजसँग न पार्टी संगठन थियो, न त कार्यकर्ताको भीड नै। साम, दाम, दण्ड, भेद नअपनाई सडकमा ‘चिच्याएकै’ भरमा पनि जनताले मत दिन्छन् होला र ? पैसाको खोलो नबगाई चुनावको कुरा गर्नु त ‘गंगा उल्टो बगाउने’ मुर्खता सिवाय केही थिएन, हर्कराजका लागि। उनले दर्शन र सिद्धान्तको लेपन लगाएनन्। जनताको गास, बास र कपासको मात्रै कुरा गरे। जनताले पानी खान नपाएको विषय उठाए, बिजुली नबल्दाको पीडा पोखे, फोहोर व्यवस्थापनको मुद्दा अघि सारे। जनताले उनै हर्कराजलाई पत्याए। अप्रत्याशित नतिजा ल्याए। जनता कम, कार्यकर्ता बढी भएको समाजमा ‘दलीय धाप र छाप’ दुवैलाई पराजित गरे। र, एउटा सामाजिक नजिर स्थापित गरे। जनताका पीडा बोल्ने, समाज रूपान्तरणमा इमान्दार भएर लाग्ने र केही गर्छु भन्ने आत्मविश्वास भएका ‘भुइँमान्छे’ पनि चुनाव जित्न सक्छन् भन्ने नजिर स्थापित गरे। ‘मनी, मसल’ को राजनीतिलाई झापड हाने। जताततै राजनीतिले गाँजेको मुलुकलाई सबल सिकाए र चुनावलाई नयाँ ढंगले ‘सोच्न र बोक्न’ पार्टीहरूलाई सन्देश दिए।
धरानमा हर्कराज राईदेखि धनगढीमा गोपाल हमालले ‘मूलधारको राजनीति’लाई च्यालेन्ज गरेकै हुन्। हमाललाई पनि राजनीतिको ‘टेको’ समात्न भनिएकै थियो। समाजसेवामा सक्रिय हमालले दलको बर्को ओढ्न मानेनन्। बरु, एक्लै अघि बढ्ने अठोट लिए। राजनीतिका थोत्रा भाषण र वक्तव्यबाजीमा समय खेर फालेनन्। समाजसेवालाई धर्म ठानिरहे। र ‘स्वतन्त्र’ हमाललाई जनताले धनगढी बनाउने साँचो सुम्पिए। जनताको सेवामा इमान्दार भएर लाग्नेलाई जनताले पत्याउँछन् भन्ने इतिहास लेख्न उनी, सक्षम भए। बालेन साह त चर्चाको शिखरमा छन् नै। काठमाडौंमा आगो नै बाले। वर्षांैदेखि प्रत्येक घरदैलोमा किलो गाडेका दलका उम्मेदवारलाई उछिट्ट्याए। देशकै राजधानी काठमाडौंलाई तरंगित बनाए। र विकास निर्माणमा आशाको सञ्चार जागृत गरे। यस पटकको स्थानीय तह निर्वाचनमा बालेन, हर्कराज र हमालहरू उदाए। जसले चुनाव मात्रै जितेनन्, जनताको मन पनि जिते। राजनीतिको चक्रव्यूह नै तोडे। परम्परागत राजनीतिक प्रणाली र संस्कारमा नयाँ बिजारोपण गरे। जनतामा आशा जगाए।
हुन त, बहुदलीय व्यवस्थामा दलकै प्रतिनिधित्वमार्फत जनताको प्रतिनिधित्व राज्यसत्तामा हुन्छ भन्ने मान्यता राखिन्छ। यस अर्थमा बालेनदेखि हर्कराजहरू दलीय प्रतिनिधि होइनन्। तर दलसँग जितेका जनप्रतिनिधि हुन्। संविधान निर्माणको बेला दलहरूबीच अन्तिमसम्म बहसको प्रमुख विषय थियो– बहुदल कि बहुलवाद। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बहुदलीय व्यवस्था मात्रै राख्दा हुन्छ भन्ने केही दल थिए भने केहीले ‘बहुलवाद’सहितको गणतान्त्रिक व्यवस्था लेख्नुपर्ने अडान लिएका थिए। लामो बहसपछि ‘बहुलवाद’ राख्नेमा सहमति जुट्यो। जसको अर्थ हो– दलबाहिर पनि विचार वा वादको अस्तित्व स्वीकार गर्नु। समाजमा बहुदल मात्र भएर पुग्दैन। बहुल विचार पनि जन्मिन्छन्। बालेन र हर्कराजहरू त्यसकै प्रतिफल हुन। अर्थात्, दलहरूले बोक्ने विचार र सिद्धान्तबाहिर अरू पनि स्वतन्त्र रूपमा ‘विचार’ र नेतृत्व निर्माण हुन सक्छन् भन्ने संविधानले नै स्वीकार गरेको छ। ‘खाए खा, नखाए घिच’ शैलीको दलीय एजेन्डा र सिद्धान्त स्वीकार गर्न जनता तयार छैनन्, र हुन्नन् भन्ने संविधानकै मान्यता हो। यद्यपि, दल बाहिर जन्मिने विचार वा सिद्धान्त पनि ‘शान्तिपूर्ण र लोकतान्त्रिक शैली’बाटै निर्माण हुन जरुरी छ। लोकतन्त्रमा जनताको मन र मतबाट अनुमोदन हुनुपर्छ।
लामो बहसपछि संविधानमा ‘बहुलवाद’ राख्ने सहमति जुट्यो। जसको अर्थ हो– दलबाहिर पनि विचार वा वादको अस्तित्व स्वीकार गर्नु। समाजमा बहुदल मात्र भएर पुग्दैन। बहुल विचार पनि जन्मिन्छन्। बालेन र हर्कराजहरू त्यसकै प्रतिफल हुन।
मूलधारका राजनीतिक दल र नेतृत्वसँग जनता ‘फ्रस्टेसन’ छन् भन्ने स्पष्ट सन्देश स्थानीय चुनावले दिएको छ। घरघरमा संगठन र व्यक्ति–व्यक्ति पार्टीका सदस्य भएका ठाउँमा ‘स्वतन्त्र’ व्यक्तिहरू भटाभट चुनाव जित्नु दलहरूका लागि लाजमर्दो हो। यसले दलहरूलाई नयाँ ढंगले सोच्न र समाजको मनोभाव बुझ्न शिक्षा दिएको छ। बालेन, हर्कराज र हमालहरू चुनाव जित्दा गणतन्त्र वा लोकतन्त्रलाई कुनै घाटा छैन। दलहरूको गणितमा मात्रै केही तलमाथि भयो होला। यसबाट उनीहरू सच्चिने सुअवसर आएको छ। तर, चुनावले एउटा गम्भीर प्रश्न समाजसामु छोडेर गएको छ। दलहरूले केही गरेनन् भनेर ‘स्वतन्त्र’लाई विश्वास गरेका जनतामाथि नै विश्वासघात भयो भने के होला ? जो आए पनि उस्तै भन्ने स्थिति आउनुहुन्न। यदि त्यो चरणमा मुलुक पुग्यो भने गम्भीर बन्न सक्छ। बालेनहरूका लागि आफ्ना वाचा पूरा गर्ने सुअवसर छ। पार्टीका नेता वा कार्यकर्तालाई ठेक्का दिनुपर्ने, पार्टीको आदेश मान्नुपर्ने, पार्टीमा आस्थाकै कारण गलतलाई पनि सही भनिदिनुपर्ने बाध्यता उनीहरूलाई छैन। दलमा आबद्धता कारण कसैसँग सम्झौता गर्नुपर्ने अवस्था छैन।
बालेनहरूसँग ‘कोही छैनन्। तर, सबै छन्। देश र जनताको पक्षमा काम गर्छु भन्दा जनताको अपार साथ छ। चुनावमा प्रदर्शन भएको जनसागर विकास निर्माणको नेतृत्व गर्दा पनि समर्थनमै रहनेछ। तर, विगतकै निरन्तरता दिन खोजियो भने कोही पनि हुने छैनन्। त्यसैले गणतन्त्रमा दलले पनि केही नगर्ने र स्वतन्त्र भनिएका पनि त्यसै बिलाए भने व्यवस्थाप्रति नै जनताको वितृष्णा पैदा हुनेछ। दलप्रतिको वितृष्णा व्यवस्थामाथि पोखिनेछ। झन्डै ७० वर्षको क्रान्तिपछि बनेको संविधान र उपलब्धि गुम्नेछन्। जनताले लडेर ल्याएको व्यवस्थामाथिको प्रश्न मुलुक र जनताका लागि पक्कै पनि हितकार हुने छैन।
अस्ति झै लाग्छ, संविधान निर्माण भएको। त्यतिबेला दलहरू भन्थे– अब राजनीतिक लडाइँ सकियो। लड्नुपर्छ त केवल–अस्थिरता र गरिबीसँग। यी पनि दुवै पराजित हुनेछन् र देशले मुहार फिर्नेछ। जनताले सुखी र समृद्धि आउने आसमा औंला भाच्दै बसे। स्थिरताका लागि जनताले २०७४ मै झन्डै दुई तिहाइ बहुमत दिए, नेकपालाई। तत्कालीन नेकपालाई इतिहास निर्माण गर्ने सुअवसर थियो। २०४८ मा गिरिजाप्रसाद कोइरालापछि केपी ओलीका लागि ऐतिहासिक अवसर जनताले दिएका थिए। तर, नेकपाको आन्तरिक विवादले जनमत छिन्नभिन्न भयो। दुई–दुईपटक संसद् विघटन गरियो। राजनीतिक अस्थिरता मौलायो। विकास निर्माणको सपना त कहाँ उडाइयो, उडाइयो। दलहरू कुर्सीको पुरानै लडाइँमा लागे। अदालतले पुनस्र्थापना गरिदिएको संसद् पनि ‘जिउँदो लास झै’ छ। न उत्साह छ, न त कामयावी नै। हाजिर गर्ने र सांसदको भत्ता पकाउनेबाहेक संसद्ले अरू कुनै काम गरेको छैन। न्यायालयको अवस्था उस्तै छ। प्रधानन्यायाधीशमाथि महाभियोगको तरबार झुन्डिएको छ। ‘महँगो’ न्याय सर्वसाधारणको पहुँच बाहिर जाँदैछ। महँगी र भ्रष्टाचारले शिखर चुमेको छ। जनतामा चरम निराशा छ। देशमा व्याप्त समस्या र दलहरूका परम्परागत एजेन्डाकै कारण यसपटक जनताले ‘बालेन’हरू जन्माएका हुन। राजनीतिलाई बिर्ता ठान्ने र शक्तिको बलमा ‘टिकट’ लिनेहरूलाई जनताले तिरस्कार गरेका हुन्। जनता, रैती होइनन्, न्यायमूर्ति हुन्। जबर्जस्ती लादिने नेतृत्व र नीति जनतालाई स्वीकार्य छैन।
जनताको मत लिन जनताको मन पनि जित्नुपर्छ भन्ने सन्देश धरानदेखि धनगढीका जनताले दिएका छन्। पदमा बस्दा जनता बिर्सिएर ‘ठालु’ को व्यवहार गर्नेको ठूलो संख्या यस पटकको चुनावबाट बढारिएको छ। राजनीतिक दलहरूलाई स्थानीय चुनावमार्फत जनताको स्पष्ट सन्देश छ– समयमै सच्चिएर आऊ, नत्र सक्किन तयार भएर बस।’