कविता : बर्थिङ सेन्टर
गद्दीसीन छोराहरू!
मात्र मनोरञ्जनको भञ्ज्याङ नसम्झिदिनू।
भदौको यो अन्धमुष्टी रातमा
झ्याउँकिरी र गुहेखोल्सो
दुइटै उर्लिरहेका छन्
यस्तो बुझ्छु–
मेरो पाठेघरको गुफाभित्रबाट
एउटा महाप्रकाश
अथवा एउटी महारोशनीले
धर्तीको दैलो उघार भनिरहेको हुनुपर्छ।
निरक्षर सुँडेनीले निचोर्दानिचोर्दै
बर्सेनि बेर्ना उमारिरहनुपर्ने मेरो रचनाकार शरीर
अथवा, फलाक्दाफलाक्दै
धामीझाँक्रीले तन्त्रमन्त्र र टुनामुना
गर्भको प्राकृतिक कारखानामा सिर्जित
दस महिने सुवर्ण सिक्का
किंवदन्तीको एकमुखे रुद्राक्षजस्तै
जीवनको ढुकढुकीबाट अलप हुन सक्छ।
पाठेघरको ब्याडमा
भ्रुणका बेर्नाहरू निसर्त रोपेर
पृथ्वीलाई मानवमय बनाएका छौं आमाहरूले।
विज्ञानले सार्वभौमसत्ता सम्हालेको यो युगमा
हाम्रो गर्भ त्राहिमाम नबनोस्।