सप्तरंगी पार्कमा साकेला [फोटो फिचर]
धरान : किरात राईहरुको महान चाड उभौली पर्व धरानको सप्तरंगी पार्कमा भव्यरुपमा साकेला नाचेर समाप्त गरिएको छ। किरात राई यायोक्खा सुनसरीको आयोजनामा प्रर्दशन गरिएको साकेला सिली प्रर्दशनमा सुनसरी, मोरङ, धनकुटा, खोटाङ, भोजपुर, उदयपुरलगायतका जिल्लाबाट २० हजारभन्दा बढी किरात राईहरु साकेला नाच्न उपस्थित भएका थिए।
हातमा चोरीको चम्मर, ढोल झ्याम्टा बजाउँदै किरात राईहरु गोलाकार भएर साकेला सिली प्रर्दशनी गरे। विभिन्न समूहमा भेला भएका किरात राईहरुको उपस्थितिले सप्तरंगी पार्क खचाखच भरिएको थियो।
बुद्ध जयन्ती तथा फागु पूर्णिमाको दिनदेखि सुरु भएको सोकला नाच शनिबार प्रदेश १ का मुख्यमन्त्रीको प्रमुख आथित्यतामा र प्रदेश १ का सभामुख प्रदिप भण्डारी, धरानका मेयर हर्कराज राईको विशेष आथित्यतामा सम्पन्न भएको छ।
१५ दिनदेखि सुनसरीका विभिन्न स्थानमा साकेला नाचेर सबै किरात राईहरु अनिवार्य उपस्थित भएर गोलाकार भएर पितृको स्मरण गर्दै साकेला नाचलाई सप्तरंगी पार्कमा आएर समापन गरिएको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्रकुमार राईले बताए।
किरात राईहरुका साकेला थान, तथा विभिन्न चौर तथा आगनहरुमा युवायुवती, बृद्ध बृद्धा तथा नाताकुटुम्बहरु भेला भएर गोलाकार घेरामा बाधिएर पितृको सम्झना गर्दै, भूमीको पूजा गर्दै, अनिष्टबाट बचाउँन कुलदेवतालाई भाकल गर्दै शिली र ढोल, झयाम्टाको धुनमा साकेला नाच्ने गरिएको उनले बताए।
किरात राई यायोक्खा सुनसरी कोषाध्यक्ष उपेन्द्र चाम्लिङले किरात राईहरु भेटघाट, जीवनशैली, पौराणिक कथा र सामाजिक सम्बन्धका बारेमा सिलीमार्फत् र ढोलझाम्टाको तालमा किरात बाहूल्य भू-भागहरुमा साकेला नाच्ने गरेको बताए।
वैशाख पूर्णिमा र मंसिरे पूर्णिमा गरी वर्षमा दुई पटक मनाइने यो पर्वलाई किरात राईहरुले विशेष पर्वकारुपमा मनाउँदै आएको उनको भनाई छ। विभिन्न प्रकारका साकेला सिलि गाउदै हातमा चौरीको चम्मर, झयाम्टा र काँधमा ढोल बोकेर किरात राईहरु साकेला नाचिरहेका छन्।
पूर्वी पहाडी जिल्लामात्र नाचिने सोकला पछिल्लो समय तराईका धरान, इटहरी, तरहरा, बेलवारी, विराटचोक, दमक, उर्लावारी, पथरी, विर्तामोड, काकडभिट्टालगायतका मुख्य सहरहरुमा समेत साकेला नाच्न थालिएको किरात राई यायोक्खाका निर्वतमान केन्द्रीय अध्यक्ष तिलक राईले बताए।
आफ्नो किराँत भेषभुषमा सजिएका किरात राइहरु यतिबेला घरमा पारेको कोदोको आराखा (रक्सी), हाँस, कुखुरा, बंगुरको मासु, आलुदम, र सेलरोटी खाँदै साकेला नाच्नु किरात राईहरुको सस्कृति भएको उनले बताए। यो पर्वले किरात राईहरुका लागि वर्ष दिनसम्म भेट नभएका परिवारलाई समेत भेट गर्ने अवसर जुराइ दिएको छ राईले भने।
हिन्दू धर्ममा जसरी हिन्दू धर्मालम्बीहरु एकै साथ भेला भएर दसैं र तिहार मनाएर रमाइलो गर्ने प्रचलन छ। त्यसरी नै किरात राइहरु पनि यस पर्वमा असाध्यै रमाउने गरेका छन्। देश विदेशमा छरिएर रहेका किरात राईहरु यतिबेला आ-आफ्ना घरमा भेला भैसकेका छन्।
किरात धर्मअनुसार बालीनाली लगाउने समय सुरू भएको प्राकृतिक संकेत पाएपछि आफूले लगाएको बाली राम्ररी सप्रियोस, भलबाढी पहिरो नआओस, प्राकृतिक विपत्ति नम्तिओस् भनि भूमीको कामना गर्दै साकेला उभौली मनाइने गरिएको किरात राई यायोक्खा सुनसरीका सहसचिव रमेश राईले बताए।