सिसडोल पुगे बालेन
नुवाकोट : डेढ दशक बढी समयदेखि काठमाडौं उपत्यकाको फोहोर विर्सजन गरिँदै आएको नुवाकोटको सिसडोलमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) पुगेका छन्। शनिबार ककनी गाउँपालिकाको ओखरपौवास्थित सिसडोल पुगेर मेयर साहले फोहोर व्यवस्थापनको दीर्घकालीन कार्य योजना बनाउने बताए। उनले भने, ‘महानगरमा फोहोर दीर्घकालीन रूपमा समस्या समाधान गर्छु। आफ्नो कार्य सफल नभएसम्म अन्तर्वार्ता पनि दिन्नँ।’
स्वतन्त्र उम्मेदवार बालेन मेयर भएलगत्तै फोहोर व्यवस्थापनबारे जानकारी लिन पहिलोपटक सिसडोल पुगेर अव्यवस्थित रूपमा रहेको फोहोर स्थलगत अवलोकन÷निरीक्षण गरेका हुन्। काठमाडौं उपत्यकाको दैनिक संकलित फोहोर व्यवस्थापनमा सिसडोलमा समस्या रहँदै आएको छ।
कहिलेकाँही महिनौं दिनसम्म पनि फोहोर नउठ्दा काठमाडौंवासीले समस्या भोग्दै आएका छन्। अहिले सिसडोलको डम्पिङ साइट भरिइसकेको छ। ककनीको ओखरपौवामा गत मंगलबारदेखि सरकारले प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर विसर्जन गर्न प्रयास गरेको छ।
ककनी र छिमेकी धादिङको धुनिबेंसी नगरपालिकाका स्थानीयवासी र जनप्रतिनिधिहरूले बन्चरेडाँडामा निर्माणाधीन डम्पिङसाइटमा विसर्जन गर्न नदिने अडान राख्दै आएका छन्। उचित क्षतिपूर्ति, मुआब्जा र विभिन्न पूर्वाधारहरूको सुनिश्चितता नगरेसम्म दीर्घकालीन रूपमै फोहोर व्यवस्थापन गर्न नदिने स्थानीयको अडान छ।
सहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्यान्डफिलसाइटमा फोहोर विसर्जन सुरु भएपछि स्थानीयवासी आन्दोलित भएका हुन्। स्थानीय निर्वाचनमा जाँदा प्रायः उम्मेदवारले निर्वाचित भए फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए।
नवनिर्वाचित मेयर बालेनको पनि फोहोर व्यवस्थापनलाई मुख्य एजेन्डा बनाएका छन्। उनले स्थानीयको गुनासो र मागहरू सुन्नुका साथै स्थानीयको माग सम्बोधन गरी काठमाडौंको फोहोर व्यवस्थापन नगरेसम्म खादा माला नलगाउने पनि बताएका छन्। स्थानीयले विगतबाटै विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर विसर्जन गर्न नदिने अडान राख्दै आएका थिए। तर, गत साता गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो। फोहोर बोकेका गाडीहरू बन्चरेडाँडा पुग्दा प्रहरीले सुरक्षा दिइरहे पनि स्थानीयवासीले आन्दोलन रोकेका छैनन्। बन्चरेडाँडासम्म सिसडोलको बाटो हुँदै जानुपर्छ। त्यहाँको बाटो राम्रो नभएकाले तत्कालका लागि ग्राभेल गरेर फोहोर बोकेका गाडीहरू आउ–जाउ गर्ने व्यवस्था मिलाइएको छ।