लोकतन्त्रको हर्क–बढाइँ

लोकतन्त्रको हर्क–बढाइँ

अन्नपूर्ण पोस्ट्ले गएको वैशाख ३ गते विशेष संस्करण निकालेको थियो, ‘राजनीतिको रसातल।’ दलका नेताहरूका कुकृत्यले राजनीति कसरी धरातलमा झर्‍यो भने त्यसको सन्देश थियो। त्यसमा मैले लेखेको थिएँ, ‘राजनीति राज्य सञ्चालनको मियो हो। यसको वरिपरि दाइँ गरिरहेका नेताहरू आचारहीन बन्दै गए। जनताले लडेर प्रजातन्त्र ल्यायौं। उन्नत लोकतन्त्र बनायौं। देशलाई गणतन्त्रसम्म पुर्‍यायौं।

संविधानसभाबाट उत्कृष्टतम् संविधान पायौं। संघीयता, समावेशिता र समानता अक्षरमा लेख्यौं। तर, सुशासन देखेनौं। प्रजा र शासित नै भइरह्यौं। सार्वभौम नागरिक हुनुको अनुभूति गर्न पाएनौं। किन ? के अझै उत्तर नखोजेर प्रश्नमै अल्झिइरहने ? देश चुनावी संघारमा छ। राजनीतिक दलहरू घरआँगन छिरेका छन्। पाँच वर्षदेखि हराएका नेताहरू धनुष्टंकार भई नमस्कार गर्दै झुपडीमा प्रकट भएका छन्। हामीले ठान्यौं– जनतालाई सिकाउने, नेतालाई चेताउने बेला यही हो। पाँच वर्ष पहिलाका आश्वासन एवं वाणी खोतल्ने साइत यही हो। नत्र हामी नागरिक सधैं रैती भइरहने छौं। भोटका नाममा छक्किइरहने छौं।’

भयो ठ्याक्कै त्यस्तै।

अब्राहम लिंकनको एउटा उक्ति सम्झौं, यहाँनिर, ‘ब्यालेट (मत) बुलेट (गोली) भन्दा शक्तिशाली हुन्छ।’ हुन पनि गोलीलाई मात्र होइन, बोलीलाई थला पार्ने परिणाम आयो यसपालि। मतको महŒव दर्शाए सर्वसाधारणले। स्थानीय निर्वाचनमा अधिकांशतः त्यस्ता व्यक्ति चुनिए, जसमाथि मतदातालाई भरोसा छ। दल भनेर राजनीतिक चौघेरामा अल्झिएनन् उनीहरू। व्यक्ति भनेर जो उठ्छ, उसैलाई चुनेनन् पनि। त्यसमध्ये एउटा छनोट म यहाँ उदाहरणस्वरूप पेस गर्न चाहन्छु, ती हुन्– हर्क साङपाङ।

धरान उपमहानगरका मेयर हर्क यस्ता लोभलाग्दा विजेता हुन्, जसमाथि धरानेको ठूलो भरोसा बाँचेको छ। जति पनि स्वतन्त्रले जिते, तीमध्ये पृथक् पात्र हुन् हर्क। उनी जनताकै सिपाही हुन्। अन्यायविरुद्ध लड्दै आएका व्यक्ति हुन्। कुशासन र ढिलासुस्तीका विरोधी हुन्। जब सर्वसाधारणले सेवाका नाममा झन्झट भोग्थे, हर्कलाई सम्झन्थे। उनी तम्सिएर अग्रसर हुन्थे। पिरमर्कामा निर्धक्क बोल्थे। कतिपय काम गराएरै छाड्थे।

हो, जनप्रतिनिधि यस्तै हुनुपर्छ। धरानेले त्यही ठाने र उनलाई जिताए। अब उपमहानगरको डाडुपन्यूँ उनकै हातमा आएको छ। त्यसको भान्छे हुने सजिला–अप्ठ्यारा पनि हेक्का राखेकै होलान्।

कसैले अलि कमजोर आँकेर भन्छन्– उनी राजनीतिमा खारिएका छैनन्। कतिपयले अक्षमता देखाउन खोज्दै थप्छन्– अलि सोझा देखिन्छन्। तर, जो राजनीतिमा खारिए, जो टाठा–बाठा र खास ‘नेता’ जस्ता ठानिए, तिनैले देश डुबाए। देशले खोजेको नेता कतै हर्क नै पो हुन् कि ? अहिल्यै अन्यथा आशंका नगरौं, चिन्ता चाहिँ लिन पाइन्छ– कालान्तरमा उनी पनि उधुमै बाठा नबनून्। धराने नागरिक पानीका भोका छन्। तिर्खा मेट्ने आश्वासन उनले भोटसँग साटेका छन्। उनले फगत पानी ल्याए पुग्छ। सकेनन् भने उनी पनि उही ‘गफाडी’ सावित हुनेछन्। र, जनताले आफ्नै थान्कोमा फिर्ता पठाउने छन्।

राजनीतिमा मूलभान्छे बनेका हालका नेताहरू हिजो हर्ककै जस्ता पोसाक लगाउँथे। उस्तै क्रान्तिका गीत गाउँथे। उस्तै जनताका भाषा बोल्थे। उस्तै भाकामा सहयोगको अभिनय गर्थे। हेर्नुहोस् त, कसरी बदलिए तिनीहरू।

हर्क साङपाङ नेपाली राजनीतिका नवीन बिम्ब हुन्। उनको इमानयुक्त चेहरा, मौलिक पहिरन, टेम्पोमा एक्लै भोट माग्दै हिँड्ने तरिका धेरैलाई मोहित पार्ने विशेषता बने। राजनीतिका हिरो यस्तै हर्कजस्ता पात्र हुन्। तर, सम्झनै पर्ने यो पनि छ कि, राजनीतिमा मूलभान्छे बनेका हालका नेताहरू हिजो हर्ककै जस्ता पोसाक लगाउँथे। उस्तै क्रान्तिका गीत गाउँथे। उस्तै जनताका भाषा बोल्थे। उस्तै भाकामा सहयोगको अभिनय गर्थे। हेर्नुहोस् त, कसरी बदलिए तिनीहरू। त्यसरी नै फेरिएमा हर्कलाई पनि उसैगरी भड्खालामा हाल्नेछन् भन्ने हेक्का भएकै होला। आशा गरौं, त्यसो नहोस्। हर्कको विजयमा धरानेको हर्क हार्दिकतामा प्रकट हुन सकोस्। उनीजस्ता देखिँदाका इमानदार र जुझारु व्यक्तिले कथित खारिएका राजनीतिज्ञलाई पाठ सिकाउन सकून्। यस चुनावको मूल सन्देश यही हो।

राजनीतिक दलहरूलाई यतिबेला हर्क, बालेन साह, गोपाल हमालहरू टाउको दुखाइका विषय बनेका छन्। कतिपयले भन्छन्– स्वतन्त्र उम्मेदवारले जित्नु लोकतन्त्रका लागि दाग हो। कसरी ? के स्वतन्त्रले जित्दैमा लोकतन्त्र डुब्छ ? कि ढल्छ ? हर्क, बालेन र गोपालहरू यही लोकतन्त्रको मलिलो माटोमा मौलाएका प्रतिभा होइनन् ?

उनीहरू यही लोकतन्त्रमै फक्रिए। फले। दललाई ठेक्का बनाएका कतिपय नेतालाई त्यही लोकतन्त्रले अस्वीकार गर्छ भन्दैमा के लोकतन्त्र जान्छ ? दलका नाममा फल्ने विषलाई जनताले हाँसी–हाँसी सञ्जीवनी बुटी भनेर धारण गर्नुपर्ने त पक्कै होइन होला !

बरु दलहरूले लोकतन्त्रको संरक्षण एवं संवद्र्धनमा के पौरख गरे ? यस घडी यो पाठ भने सिकेको हुनुपर्छ– जनता रैती होइनन्। जसो–जसो गरे पनि फलाना चिह्नमा आँखा चिम्लिएर भोट हाल्दैनन्। जनता विवेकहीन मूर्ति पनि होइनन्। जसले विवेकशून्य भएर मतदान गर्दैनन्। को राम्रो, को नराम्रो छुट्ट्याउने खुबी बनाइसके।

लोकतन्त्रको काफल पाकेर जनताले पाएको लाभ भनेको यही हो। सर्वसाधारणकै सचेतनाका कारण हाम्रो लोकतन्त्र समुन्नत हुँदै गएको छ। मतदाताको निर्णय क्षमता विस्तार भइरहेको छ। दल र नेताहरू भने पुरानै ढर्रामा छन्। फलतः आफैं अगाडि सरेर ल्याएको लोकतन्त्रमा दलहरू जनतासामु निहुरमुन्टी ‘न’ हुनुपर्ने स्थिति आएको छ। हेरौं केही दृष्टान्त, जहाँ दलहरूले बाटो बिराएका छन्–

लोकतन्त्र भर्सेस भोकतन्त्र

एउटा प्रख्यात भनाइ छ, ‘संसारमा गरिबी यति भयावह हुँदै गएको छ कि धनी मान्छेको स्याम्पुमा भन्दा गरिबको प्लेटमा फलफूल कम हुन्छ।’ संसारको कुरा छाडौं, हामी नेपालीको अवस्था ठीक यस्तै छ। गरिब झन्–झन् गरिब हुँदै गएका छन्। देश लुट्नेहरू माथि–माथि पुगिरहेका छन्। भोको पेटले भोट हाल्छ तर पेट भरिने वस्तु कहिल्यै पाउँदैन। उसले मान्छे फेर्छ। हेर्छ। 

फेरि उस्तै पर्छ। अनि, व्यवस्थामै खोट देख्न थाल्छ। दलहरूलाई त्यही कारण यसपालि चेतावनी दिएकै हुन्।

देश दिँदैन, लिन्छ मात्र

नागरिकको करले राज्य चल्छ। तर, करदाताले कहिल्यै केही पाउँदैन। उठेको राजस्व मनपरि खर्च हुन्छ। त्यसले शासन चल्छ। मिलाएर हर्ताकर्ताको रासन चल्छ। शिक्षाका अवसर हुनेखानैकै कब्जामा छन्। गरिबले उपचार नपाएर अकालमै मृत्युवरण गर्नुपर्छ। मुस्किलले पढेको युवा पुस्ता बेरोजगार बस्नुपर्छ। केही नलागेर खाडी र मलेसियामा श्रम बेच्न पुग्नुपर्छ। तिनको रेमिट्यान्समा यता घूस तानातान हुन्छ।

जनता विवेकहीन मूर्ति पनि होइनन्। जसले विवेकशून्य भएर मतदान गर्दैनन्। को राम्रो, को नराम्रो छुट्ट्याउने खुबी बनाइसके।

दैनिक १५ सयका दरले युवा बिदेसिन्छन्। लोकतन्त्रका कुनै शासनले तिनलाई यहाँ रोक्न सकेनन्। तिनका हितमा केही गर्न सकेनन्। देश क्रमशः ज्येष्ठ नागरिक र बालबालिकाको थलो बन्दै गयो। अनि, कसरी हुन्छ विकास ? कसरी आउँछ समृद्धि ? के सोचेर भोट हाल्ने देश यस्तो बनाउनेहरूलाई ?

संघीयता कि शासनको थोक–बजार ?

देश संघीयतामा गयो। सेवा केन्द्रमै रह्यो। शासन भने तल–तलसम्म पुग्यो। स्थानीय तहमा ३५ हजार २ सय २१ जनताबाट निर्वाचित, गाउँ÷नगरसभा सदस्यले जिताउने ४ हजार ८ सय ५२ र जिल्ला समन्वय समितिमा ६ सय ९३ गरी ४० हजार ७ सय ६६ जनप्रतिनिधि हुन्छन्। संघीय संसद् (राष्ट्रिय र प्रतिनिधिसभा गरी) ३ सय ३४ र सातै प्रदेशमा ५ सय ५० गरी ८ सय ८४ सांसद चाहिन्छन्। केन्द्र र प्रदेशका गरी हाल १ सय २० मन्त्री छन्।

झन्डै आधा लाखको पल्टन शासनको तर चाट्ने ठाउँमा छ, जसलाई पाल्न सडकमा कुचो बेच्नेले समेत कर तिर्नुपर्छ। यत्रा प्रतिनिधिले कतिलाई के सेवा दिए भन्ने कतै हेक्का हुन्न। बरु कहाँबाट कसले कति लुटे भन्ने देख्न सकिन्छ। त्यही असन्तुष्टि क्रमशः व्यक्त गर्न थाले मतदाताले।

नोटले आउला त भोट ?

मतदाता किनेर जितिन्छ भन्दै लाग्ने पनि उत्तिकै छन्। यसको कारण छ। स्थानीय तह लोभी–स्वार्थीका लागि आकर्षक गन्तव्य बनेको छ। राजस्व उठाउनेददेखि खर्च गर्नेसम्मका मुख्य हर्ताधर्ता जनप्रतिनिधि नै हुन्छन्। अघिल्लो पालि धेरै प्रमुखले डोजरै पालेर राखे। आफैं बजेट छुट्ट्याए, आफैं व्यापार गरे। आफैं कमिसन खाए। त्यो देखेर मत किन्न चाहनेहरू भने सम्भवतः यसपालि चित खाए। त्यही भएर हर्क साङपाङहरूले जित्न पाए।

‘हेप्ने ?’ कुनै समय यो शब्द निकै चर्चामा थियो। त्यो नेपथ्यमा हराउँदै गयो। तर, जनतालाई हेप्ने काम रहिरह्यो भने, हेक्का रहोस्– हर्क, बालेन र गोपालहरू थपिँदै जानेछन्, जसका तागतसामु ठूला दलका ठूलै नेताहरूसमेत ढलिरहने छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.