त्यो माइला, यो ‘तुलसी’
काठमाडौं : ‘हामी उसलाई ‘माइला’ भन्छौं। नामबाट बोलाउँदाभन्दा ‘माइला’ भन्दा बढ्ता आत्मीय लाग्छ। सानामा माइलो अलि चकचके थियो। एक पटक मैले उसलाई कोठामा थुनेर राखें। स्कुल जाँदा बाटामा खोपी खेलेर आएछ। मैले थाहा पाएँ। अब पक्कै बाउको पिटाइ खाने भयो भन्ने मनमा डर जाग्यो। उसलाई बरू डर लागेन होला, मलाई त्यति धेरै लाग्यो,’ करिब २७ वर्ष भारतीय सेनामा लाहुरे जीवन बिताएका तुलसीप्रसाद गुरुङको बाल्यकालको कुरा हो यो।
उनी लाहुरे मात्रै होइनन्, तेक्वान्दो खेलाडी र समाजसेवी पनि हुन्। उनको जीवनको भोगाई अब पुस्तकमा समेटिएको छ। उक्त पुस्तक शनिबार काठमाडौंमा एक कार्यक्रकाबिच सार्वजनिक गरिएको छ। पुस्तक उनले आफै लेखेका हुन्। पुस्तक वि विल राइज फाउन्डेसनले प्रकाशित गरेको हो। गुरुङ उक्त फाउन्डेसनका पनि अध्यक्ष हुन्।
कास्कीको वार्चोकमा जन्मिएका गुरुङ लामो समय ब्रिटिस गोर्खा सैनिकमा आवद्ध रहे। योसँगै खेल क्षेत्रलाई पनि अघि बढाएका गुरुङ तेक्वान्दोका ८ डान हुन्। यस विधामा हङकङको राष्ट्रिय तेक्वान्दो टोलीका प्रमुख प्रशिक्षकसमेत बनिसकेका गुरुङ अन्तर्राष्ट्रिय रेफ्री पनि हुन्।
उनले विश्वभरका सयौं सैनिक एवं गैर सैनिकलाई तालिम दिइसकेका छन्। गरिमामय ‘हल अफ फेम’ को उपाधि थापेका गुरुङको खेल र सामाजिक क्षेत्रमा योगदानको कदरस्वरुप नेपाल सरकारले प्रबल जनसेवाश्री पदकद्वारा विभूषितसमेत गरिसकेको छ।
‘तुलसी अध्ययन गर्नेले मेरो संघर्ष र सफलताका कथा पनि पढ्न पाउनुहुनेछ,’ सार्वजनिक कार्यक्रममा गुरुङ भन्दै थिए, ‘मेरो बदमासी थाहा पाउनका लागि पनि यो पुस्तक पढ्नैपर्छ।’ कार्यक्रममा पुस्तकका सम्पादक तथा अन्नपूर्ण पोस्ट् दैनिकका सम्पादक अखण्ड भण्डारीले पुस्तकसँग जोडिएको अनुभूति बताएका थिए। कार्यक्रममा गुरुङको आत्मकथा झल्किने गरी छोटो भिडियो कथा पनि प्रदर्शन गरिएको थियो। पुस्तकलाई लेखक गुरुङ, उनकी श्रीमती गंगा गुरुङ र सम्पादक भण्डारीले संयुक्त रुपमा अनावरण गरेका थिए।