‘वटसावित्री’ पर्व मनायो
विराटनगर : पतिको दिर्घायुको कामना गर्दै मिथिलाका महिलाहरुले बटसावित्री ‘बरसाइत‘ पर्व मनाइएको छ। पतिको लामो आयु तथा दिर्घायु जीवनको कामना गर्दै सोमबार मिथिला क्षेत्रमा मैथिल विवाहित महिलाहरुले बट सावित्री पर्व मनाएकी छिन्।
महिलाले वट वृक्षको नजिक पूजा गर्दा पतिको आयु लामो र स्वास्थ्य राम्रो हुने धार्मिक एवं पौराणिक जनविश्वास रहि आएको छ। वट सावित्री पुजालाई मिथिला भाषामा ‘बरसाइत’ भन्ने चलन रहेको छ।
प्राचिनकालमा सावित्रीले आफ्ना पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएको धार्मिक विश्वास रहिआएको छ।
जेष्ठ अमावस्या तिथिमा प्रत्येक वर्ष मनाउने यस पर्वमा देवी पार्वती सावित्री र नागनागिनका साथै वरको बोटमा पूजा गरी मनाउने गरिन्छ। बिहानैदेखि उपवास बसेर महिलाहरु स्नान गरी नयाँ वस्त्र धारण गरेर पूजाको थालीमा आँप, केरा, हाते पंखा, मिठाइ, चना, काक्रोलगायतका सामग्री लिएर वरको रुखमुनि पुगेर बरको पूजा गरी ती प्रसाद सावित्री, नागनागनि र पार्वतीलाई चढाएर पर्व मनाउने गरेका छन्।
नवविवाहित महिलाहरुले पहिलो वर्षमा विशेष पुजा गरेर मनाउने गरिन्छ भने अन्य विवाहिता महिलाले वट वृक्षमा गएर पूजा गरी कथा सुन्ने गरिन्छ। यस पर्वमा व्रतीले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको बरदान माग्ने परम्परा रहिआएको छ।
वरको रुखको मुलमा ब्रम्हा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रुखमै प्रतिष्ठापित भएको विश्वास अनुसार यस पर्वको सुरुवात भएकाले वट सावित्री पूजा भन्ने गरिएको छ। पौराणिक कथा अनुसार सावित्रीले सोही रुखमुनि आराधना गरी आफ्नो पति सत्यनावलाई जीवित तुल्याएकी थिइन्।
महिलाहरु यस दिन एकाबिहानै कुनै पवित्र जलाश्यमा स्नान गरी कुनै वटबृक्षलाई शुद्ध जलद्वारा सिचित गरेर श्रद्धापुर्वक पूजा अर्चना गर्छिन्। यस पर्वको दिन नवविवाहित नारीले विशेष रुपमा पूजा अर्चना गर्ने गर्छन।