परिवारकी मियो थिइन् क्रिस्मी
पोखरा/ स्याङ्जा : क्रिस्मी थापा जसले बुवाको थर पाएकी थिइन्। घर पाएकी थिइनन्। बुवा आमाको मन मिलेन। आमा मामलमा नै बसिन्। क्रिस्मी त्यही जन्मिइन्, हुर्किन।
उनको मामा घर हो स्याङ्जा चापाकोट नगरपालिका–४ मल्याङकोट कोटगाउँ। उनलाई माया गरेर सबैले त्यहाँ भान्जी भनेर बोलाउँथे। आमाले अर्काे बिहे गरिन्। क्रिस्मीको घर भन्नु मामाघर नै थियो। हजुरआमाले आमाको पनि माया दिइन्। हुर्काइन्। एयरहोस्टेस बनाइन्। ‘हजुरआमा भरे आउँछु है’ भनेर निस्कने र फोन गर्ने नातिनी क्रिस्मी अब पुनः त्यो घर पुग्न सकिनन्।
आइतबार दुर्घटना भएको तारा एयरको जहाजसँगै सानैबाट दुःख गरेर हुर्काउने हजुरआमालाई सुखसँग पाल्ने क्रिस्मीको सपना पनि जल्यो। क्रिस्मीले गाउँकै खड्ककाली माध्यमिक विद्यालयबाट एसइई पास गरेकी थिइन्। त्यसपछि वालिङ बहुमुखी क्याम्पसबाट प्लस टु सकिन। त्यसपछि स्याङ्जाको मल्याङकोटबाट सपनाको उडान भरेर उनी पोखरा पुगेकी थिइन्। एयरहोस्टेसको तालिम लिइन्। गाउँघरतिरकै चिनेजानेकाहरूको पनि सहयोग र हौसलाले अघि बढिन्। तालिमपछि तारा एयरमा एयरहोस्टेस बन्ने सपना पूरा गरिन्। एयरहोस्टेस तयारी गरिन्। सन् २०१५ देखि उनी एयरहोस्टेस बनिन्। क्रिस्मी आफ्ना भाइहरू (मामाका छोरा)का अभिभावकत्व पनि थिइन्। भाइहरूलाई आफ्नै कमाइबाट पढाइरहेकी थिइन्।
नातिनीको दुर्घटनामा ज्यान गएको खबरपछि सोमबार पोखरा विमानस्थल पुगेकी क्रिस्मीकी हजुरआमा उमासराले त्यो समाचार पत्यारिलो लागेको थिएन। उनी अझै नातिनी आउँछे र हजुरआमा भन्दै बोलाउँछे भन्ने आसमा थिइन्।
उता आमा विष्णुदेवीलाई पोखरा एयरपोर्ट आइपुग्दासम्म पनि छोरीको ज्यान गइसकेको थाहा थिएन। उनले आफैंले मोबाइलमा फोन गरेकी रहेछिन्। रुँदैरुँदै उनी भन्दै थिइन्, ‘मेरी छोरीको फोन लागेको छैन।’ तर, त्यही बेला मुस्ताङमा आइतबार दुर्घटना भएको जहाजका यात्रुहरूको शव पोखरा विमानस्थलमा ल्याइँदै थियो।