पतिको दीर्घायुका लागि ‘बटसावित्री’
विराटनगर : पतिको दीर्घायुको कामना गर्दै मिथिलाका महिलाहरूले बटसावित्री ‘बरसाइत’ पर्व मनाएका छन्। पतिको लामो आयु तथा दीर्घायु जीवनको कामना गर्दै सोमबार मिथिला क्षेत्रमा मैथिल विवाहित महिलाहरूले बटसावित्री पर्व मनाएका हुन्।
महिलाले बटवृक्षको नजिक पूजा गरेमा पतिको आयु लामो हुने र स्वास्थ्य पनि राम्रो हुने धार्मिक एवं पौराणिक जनविश्वास रहिआएको छ। बटसावित्री पूजालाई मिथिलामा ‘बरसाइत’ भन्ने गरिन्छ।
प्राचिनकालमा सावित्रीले आफ्नो पति सत्यवानलाई यमराजको हातबाट मुक्त गराई नयाँ जीवन दिलाउन सफल भएको धार्मिक विश्वास छ। जेष्ठ औंशी तिथिमा प्रत्येक वर्ष मनाइने यस पर्वमा देवी पार्वती सावित्री र नागनागिनका साथै वरको बोटको पूजा गरी मनाउने गरिन्छ। बिहानैदेखि उपवास बसेर महिलाहरू स्नान गरी नयाँ वस्त्र धारण गरेर पूजाको थालीमा आँप, केरा, हाते पंखा, मिठाइ, चना, काक्रोलगायतका सामग्री लिएर वरको पूजा गरी ती प्रसाद सावित्री, नागनागिन र पार्वतीलाई चढाएर पर्व मनाउने गरिन्छ।
नवविवाहिता महिलाहरूले पहिलो वर्षमा विशेष पूजा गरेर मनाउने गर्छन भने अन्य विवाहिता महिलाले वट वृक्षमा पूजा गरी कथा सुन्ने गर्छन्। ब्रत बस्नेले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको बरदान माग्ने परम्परा छ। वरको रुखमा ब्रम्हा, विष्णु तथा शिवको बास हुने र सावित्री पनि सोही रुखमै प्रतिस्थापित भएको विश्वास अनुसार यस पर्वको सुरुवात भएकाले वटसावित्री पूजा भन्ने गरिएको हो। पौराणिक कथाअनुसार सावित्रीले सोही रुखमुनि आराधना गरी आफ्ना पति सत्यनावलाई जीवित तुल्याएकी थिइन्।
महिलाहरू यस दिन एकाबिहानै पवित्र जलासयमा स्नान गरी वटवृक्षलाई जलद्वारा सिचित गरेर श्रद्धापूर्वक पूजाअर्चना गर्छन्। यस पर्वका दिन नवविवाहिता नारीले विशेष रुपमा पूजाअर्चना गर्ने गर्छन्। मुख्यतया ब्राह्मण र कायस्थ जातिमा मनाइने यो ब्रतमा नवविवाहिता बेहुलीका घरमा माइतबाट पूजाको सम्पूर्ण सामग्री ल्याउने गर्दछन्। काँचो चनालाई भिजाएर त्यसलाई प्रसादका रुपमा वितरण गर्ने चलन छ।