बाबुछोराको त्यो अन्तिम संवाद...
जाजरकोट : ‘निशब्द छु। भाव विहिल छु।’ २०७९/२/१५ गते विहान ५:३० बजे म र स्रोत व्यक्ति मणिराम पाखरेल सर जाजरकोट खलंगा रम्वा होटलमा बसिरहेको बेला अडियो कल आयो।
छोरो उत्सव पोखरेलले पोखराबाट जोमसम उडान भर्ने कुरा बताए, जुन मैले प्रत्यक्ष सुनेको थिए। मणिराम सरले शुभयात्रा बाबू भन्नुभयो जुन अन्तिम शब्द बन्यो सायद।
मैले मनमनै भाग्यमानी बाबू सम्झे। छोराले गरेको उन्नति ठिक छ भनेर गफ गरे। १० बजेभित्र हामी नलगाड नगरपालिका दल्ली पुगिसकेका थियौं तर मुस्ताङ जिल्लामा भएको जहाज दुर्घटनामा उनै उत्सव थिए। जो सङ्ग बिहान मात्र कुराकानी भएको थियो।
करीब ५ घण्टापछि हतास भएर मेरो छेउमा पुगेका मणिराम सर आँखाभरी आँसु थिए। बोली अवरूद्व थियो। मेरो सर्वनाश भयो सर भनेर भन्नुभयो।
म निशव्द भए, नेपालगन्जसम्म पठाउनका लागि गाडि व्यवस्था गर्न लागे। पठाइयो। र जवरजस्ति सम्झाए पनि। एउटा कुशल प्राबिधिक गुमाउनुको राष्ट्रिय पीडा, छोरा गुमाउनुको बावुको पीडाको सम्मीश्रण थियो मेरो भावनामा। भगवानसंग पुकारा गरेपनि सायद सुनेनन।
हार्दिक समवेदना मणिराम सर...अझै मृत भन्नलाई साहस छैन यो मनमा। नलगाड नगरपालिकाका प्रमुख प्रशासकिय अघिकृत मानबहादुर गिरीको हो स्टाटस।
यही स्टाटसले धेरै कुरा स्पष्ट पारिसकेको छ तारा एयरको जहाज दुर्घटनाका सन्दर्भमा। को-पाईलट उत्सव अब हामी माझ रहेनन्। चौरजहारी क्षेत्रका पहिलो पाइलट उत्सव दुर्घटनामा परेको खबरले यो क्षेत्र शोकमग्न भएको छ।
उत्सव पोखरेल आइतबार बिहान जोमसोम उडान गर्ने तयारीमा थिए। पोखरा रहेका उत्सवले उडान भर्नुअघि बुबालाई फोन गरे। जाजरकोट सदरमुकाममा रहेका उत्सवका बुबा मणिरामसँग उनको छोटो कुराकानी भयो। पोखरा–जोमसोम उडान गर्ने तयारीमा रहेको जानकारी उत्सवले गराए। त्यसपछि मणिरामले ‘शुभयात्रा बाबु’ भनेर आशिर्वाद थिए।
उत्सव पोखराबाट जोमसोमका लागि उडे। मणिराम भने आफू कार्यरत जाजरकोटकै नलगाड नगरपालिकातिर गुडे। मणिराम कार्यक्षेत्र पुग्दा नपुग्दै खबर आइपुग्यो। उत्सव को-पाइलट रहेको तारा एयरको विमान सम्पर्कविहीन भयो भनेर। मणिराम नगरपालिकाकै व्यवस्थापनमा नेपालगञ्ज हुँदै काठमाडौं पुगे।
आइतबार दिनभर जहाजको केही पत्ता लागेन। सोमबार बिहान जहाज दुर्घटना भएको पत्ता लागेपछि मणिरामलगायत उत्सवको परिवार मात्रै होइन‚गाउँ नै शोकमा डुबेको छ।
३० अप्रिल २०२१ देखि उनी तारा एयरमा जोडिएर काम गर्न थालेका उनले एक वर्षदेखि विमान उडाइरहेका थिए। चौरजहारी नजिकै जहाज आएको देखेर म पनि ठूलो भएपछि पाइलट बन्छु भन्थ्यो। सानै देखि पाइलट बन्ने उसको धोको थियो पुरा त भयो त्यही पाइलट भएकै कारण सदाका लागि ज्यान गुमाउनु पर्यो उत्सवका काका चुडामणी पोखरेलले भने–‘लामो समय उडान भर्छु भन्थ्यो। हुने हार दैव नटार भने झै भयो। त्यसले त्यही लेखेर ल्याएको रहेछ।’ दाईको पढाई सकेर विवाह गर्ने कुरो थियो तर सवै अधुरै रह्यो पोखरेलले भने।
२४ वर्षीय उत्सव चौरजहारी नगरपालिका-३ लापुलेगाँउका स्थायी बासिन्दा हुन्। चौरजहारी क्षेत्रका पहिलो पाइलट उत्सवको निधनले चौरजहारीसहित सम्पूर्ण जिल्ला नै स्तब्ध बनेको छ। शिवपुरी मावि गर्खाकोट जाजरकोटबाट एसएलसी गरेका उत्सबले भिएस निकेतन काठमान्डौबाट विज्ञान विषयमा १२ कक्षासम्म र फिलिपिन्सबाट दुई वर्ष अघि मात्र पाइलट कोर्स पूरा गरेका थिए। अत्यान्त मिलनसार र लगनशिल थिए उत्सब।
उत्सवले उडान गर्न थालेपछि उनका दाइ उमेश पनि फिलिपिन्समा पाइलट कोर्स गरिरहेका छन्। बुबा मणिराम र आमा उषाका दुई छोरा मात्रै हुन्। उमेश र उत्सव। मणिराम माध्यमिक तहका स्थायी शिक्षक हुन हाल जाजरकोटको नलगाड नगरपालिकामा स्रोत व्यक्तिका रुपमा कार्यरत छन् भने आमा उषा दाङको एक विद्यालयमा अध्यापन गराउँछिन्। उत्सवका बुवा र आमा यतिबेला अर्धवेहोस अवस्थामा छन्। पाइलट पढ्न फिलिपिन्स गएका दाई उमेश पनि मंगलबार काठमान्डौ आउँदैछन्। आफन्त, साथीभाई र छरछिमेक उनको निधनको खवरले भावविहल भएका छन्।
‘शिक्षण पेशा अंगालेर भएपनि उच्च मनोबलका साथ गरिएको जीवनभरीको लगानी, ईच्छा, आकांक्षा, लक्ष्य, उद्धेश्य र सपना सबै ध्वस्त पारेर सदाका लागि छोडेर गईस् बाबू। स्वर्गमा बास होस्।’मणिरामले भनेका छन्।