सिद्धु मुसेवाला, जो 'गन कल्चर' गीतले चर्चा कमाए, बन्दुकको गोलीबाटै अस्ताए
काठमाडौं : छिमेकी मुलु्क भारतमा सिद्धु मुसेवालाको हत्याले सनसनी मच्चाएको छ। सोमबार साँझ घरबाट निस्किएका उनको हतियारधारीहरुले करिब ५ बजे पञ्जाबको जवाहर गाउँ नजिकै गोली हानी हत्या गरेका थिए। भारतीय प्रहरीका अनुसार उनीमाथि ३० राउन्ड गोली प्रहार गरिएको थियो। उनको शरीरबाट २५ वटा गोली निकालिएको पोस्टमार्टममा सहभागी डाक्टरको भनाइ उद्धृ गर्दै बीबीसीले जनाएको छ।
ती डाक्टरका अनुसार अस्पताल पुर्याउनुअघि नै उनको मृत्यु भइसकेको थियो। अधिकांश गोली उनको छाती र पेटमा लागेको थियो। त्यसबाहेक हात र खुट्टामा पनि गोली लागेको बताइएको छ।
पञ्जाब सरकारले सिद्धुको हत्या सम्बन्धनमा न्यायिक छानबिन गर्न कमिटी गठन गरेको छ। पञ्जाबको उच्च अदालतका एक जजलाई छानबिनको जिम्मा दिइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
को हुन् सिद्धु?
सिद्धु एक चर्चित गायक र र्यापर हुन्। विशेषतः पञ्जाब र हरियाणाका युवा पुस्तामाझ लोकप्रिय सिद्धु हालसालै राजनीतिमा सक्रिय भएका थिए। उनी कांग्रेसमा आबद्ध भएका थिए। गत ३ डिसेम्बर २०२१ मा तत्कालीन पञ्जाब कांग्रेसका अध्यक्ष नवजोत सिंह सिद्धु र पञ्जाबका तत्कालीन मुख्यमन्त्री चरणजीत सिंह चन्नीको उपस्थितिमा उनी कांग्रेसमा प्रवेश गरेका थिए।
पार्टी प्रवेश कार्यक्रममा उनले भनेका थिए, 'आजभन्दा ३-४ वर्षअघि मैले संगीतमा पाइला टेकेको थिएँ। यो क्षेत्रले मलाई जसरी चिनायो, त्यसैगरी एक नयाँ पेशामा म आफूलाई चिनाउन गइरहेको छु। मेरो जीवनमा एउटा अर्को पाइला सार्दैछु। जुन मेरो अर्को संसार पनि हुनेछ।'
उनले आफ्नो सम्बन्ध गाउँसँग भएको स्पष्ट पारेका थिए। 'म सामान्य परिवारमा जन्मिएँ। मेरो बुबा सेना थिए। हामीले केही प्रगति पनि गर्यौं। तर हामीले गाउँ छाडेनौं। हामी आज पनि यहीँ गाउँमा बस्छौं। कांग्रेस आम जनताको पार्टी हो। मेरो आवाजले कांग्रेसलाई थप मद्धत गर्न सक्छ,' उनले आफ्नोबारे भनेका थिए।
उनको भाषणले सहभागीहरुलाई रोचक बनाएको थियो। हालै सम्पन्न विधानसभा चुनावमा उनले उम्मेदवारीसमेत दिएका थिए। तर दुर्भाग्य उनी आम आदमी पार्टीका विजय सिंगलासँग पराजित भए।
शुभदीप सिंह यसरी बने सिद्धु मुसेवाला
सिद्धुले चार वर्षमै पञ्जाबको मनोरञ्जन क्षेत्रमा स्थापित बनेका थिए। संगीत क्षेत्रले उनको पहिचान पनि बदलिदिएको थियो। शुभदीप सिंह भनेर चिन्नेहरुले उनलाई सिद्धु मुसेवाला भनेर चिन्न थालेका थिए। संगीतमा उनले आफ्नो छुट्टै पहिचान बनाउन 'गन कल्चर'सम्बन्धी गीतले मद्धत गर्यो। गन कल्चरमा उनको थुप्रै गीत सार्वजनिक भए। त्यसमा हाई, ढक्का, वर्ल्ड स्कुल र सन्जु नामक गीत प्रमुख हुन्, जुन सुपरहिट सावित भए। यी गीतमार्फत् चर्चित हुँदै गर्दा उनीमाथि बन्दुक सँस्कृतिलाई बढावा दिएको आरोप पनि लाग्न थाल्यो। उनीमाथि उजुरीहरु पर्न थाले।
अदालतमा उनीमाथिको मुद्दा चलिरहँदा उनले एस आइ एम स्टुडेन्ट, तेरी मेरी जोडी, गुनाह, मुसा जट्टलगायत फिल्ममा कामसमेत गरे। तिनै गीतहरुले चर्चामा ल्याउँदा उनी धेरैको 'टार्गेट'मा परिसकेका थिए। पछिल्लो समय सार्वजनिक भएका प्रायः गीतहरु विवादीत बने।
कसले गर्यो क्रूर हत्या?
सिद्धुमाथि ९ एमएम र ४ एमएमको गोली लागेको र उनीमाथि दुई वटा बन्दुकबाट फायरिङ भएको दाबी प्रहरीको छ। हत्याको जिम्मेवारी लरेन्स बिश्नोई र गोल्डी बराडले लिएका छन्। उनको हत्याको योजना धेरे पहिलेदेखि भएको प्रहरीको दाबी छ। पञ्जाब सरकारले उनलाई दिइएको सुरक्षा हटाएलगत्तै हत्या सम्भव भएको प्रहरीको भनाइ छ।
जेलमा रहेका लरेन्स बिश्नोईले क्यानडामा रहेका गोल्डी बराडसँग मिलेर हत्या योजना बनाएको र सुरक्षा खुकुलो बनाएपछि हत्या गरेको प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
- एजेन्सीको सहयोगमा