जहाजको आवाजले झस्काउँछ

जहाजको आवाजले झस्काउँछ

काठमाडौं : गोकर्णेश्वर जंगलको फेदमा छ, माकलबारी बस्ती। मंगलबार त्यहाँ पुग्दा गाउँमा सन्नटा छाएको थियो। मुस्ताङमा आइतबार तारा एयरको जहाज दुर्घटनामा छिमेकी बितेको खबरले गाउँ नै शोकमा डुबेको थियो। अरू बेला बागमती नदी किनारको यो गाउँमा चहलपहल हुन्थ्यो। तर, माकलबारीका राजन गोलेसहित उनका ६ जना आफन्तको ज्यान गएपछि मृतक परिवार शोकाकुल छ। बालबालिकाहरू टुहुरो भएका छन्। परिवारजन अभिभावकविहीन भएका छन् भने गाउँले असल छिमेकी गुमाएका छन्।

माकलबारीमा नीलो रङले रंगिएको साढे चार तले पक्की घर देखिन्छ। त्यहाँ गाउँलेहरूको भीड छ। आँगनमा ढकमक्क फुल फूलेका छन्। तर, माहोल सुगन्धविहीन छ। कोठा भित्र–बाहिर रोदनको आवाज मात्रै सुनिन्छ। परिवारजनको खुसी हराएको छ। माथिल्लो तलाको पल्लोे कोठामा लामा गुरुले मन्त्र पढिरहेका छन्। प्रियजनको आत्माको शान्ति कामना गर्दै घरका सदस्यले दीप बालिरहेका छन्। नजिकै खाटमा बसेकी दीपा सुवेदी (गोले) भाव विह्वल छिन्। श्रीमान् राजन गोलेको मृत्युको खबरले उनी विक्षिप्त छन्। छिन–छिनमा घरमाथिको आकाशमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट उड्ने प्लेनको आवाजले उनलाई झस्काउँछन्। ७ वर्षीय युगिन  बाबालाई खोजिरहेका छन्। १५ वर्षीय छोरी प्रिया आमाको आँसु पुच्दै छिन्। आमालाई सम्हाल्न खोज्दा उनी पनि भकाँनिन्छिन्।

‘के गर्छौं दीपा तिम्रो यस्तै भयो।  धैर्य गर। अब शोकलाई शक्तिमा बदल !,’ नातामा दाइ पर्ने कृष्णहरि सुवेदीले उनलाई सान्त्वना दिँदै भनिरहेका थिए। विमान दुर्घटनामा दीपाले श्रीमान्, सासू, ससुरासहित ७ जना आफन्तजन गुमाएकी छन्। पूरै परिवारजनै गुमाउँदाको पीडा भुल्न कहाँ सजिलो छ र !  ‘हे दैव ! दुश्मनलाई पनि यस्तो अवस्था नआओस्’, कारुणिक अवस्था देखेर हामी पनि स्तब्ध भयौं।  

दुर्घटनामा राजनसँगै उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया गोले, काका पुरुषोत्तम गोले, काकी तुलसा,  मामा मकरबहादुर र माइजू सुकुमाया तमाङ ग्यावाको ज्यान गएको छ। मृतक सबै धनुषाको मिथिला नगरपालिका–११ चुरेस्थित लोटा गाउँका एकै परिवारका सदस्य हुन्। विगत १६ वर्षदेखि मृतक राजनसहितका परिवारजनले गोकर्णेश्वरको माकलबारीमा घर बनाएर बस्दै आएका थिए। 

जहाज दुर्घटनमा लोटाका उत्तम ग्यावाले बुवा मकरबहादुर तमाङ र आमा सुकुमायालाई गुमाएका छन्। उनका अनुसार शनिबार काठमाडौंबाट बुवा, आमासहित परिवारजन लिए राजनले काठमाडौंबाट प्लेन चढेर पोखरा ल्यान्ड गरेका थिए। ‘पोखराको फेवाताल घुमे। धुम्बाही मन्दिर पनि दर्शनले खुसी भएको फोनमा डेढ मिनेट कुरा हुँदा बुवाआमाले सुनाउनुभएको थियो। राति पोखरामा बास बसेर आइतबार बिहानै मुक्तिनाथ दर्शनार्थ जाने भन्दै बुवाले फोन राख्नुभएको थियो,’ उनले भने।

राजनकी सानी आमा मुना लामा भन्छिन्, ‘कसको लापरबाहीले यत्रो ठूलो दुर्घटना भयो। न्यायिक छानबिन होस्। दोषीलाई कारबाही हुनैपर्छ। अब यस्तो घटना कहिल्यै नहोस्।’
गोले परिवार तारा एयरको जहाजमा पोखराबाट जोमसोम उडेको थियो। आकाशमा उडेको प्लेनलाई बादलमा हरायो। गन्तव्यमा नपुग्दै मुस्ताङको थासाङ गाउँपालिका–२ मानापाथी हिमाल क्षेत्रको पहाडमा ठोक्किर भुइँमा खस्यो। जहाँ चालक दलसहित २२ जनाले अकालमै मृत्युवरण गर्न बाध्य भए। उत्तम भन्छन्, ‘बुवाआमा शुक्रबार बस चढेर काठमाडौं आउनुभयो। भान्जा राजनसँगै पोखराबाट मुक्तिनाथ जान प्लेन चढ्नुभएको थियो।  तुरुन्तै फर्केर आउँछु भनेर घरबाट आउनु भएका बुवाआमा अब कहिले फर्किन्नु हुन्न। कसरी मन बुझाउने ?’ भन्दै उनको बोली बन्द भयो। मृतक राजनका दिदी शान्ति, रञ्जु, साबित्रा र भाइ मनोजलाई झनै पीडा भएको छ। लन्डनमा बस्दै आएका मनोज बुवा, आमा, दाइसहितको परिवारजनको मृत्युले घर फर्किएका छन्। शुभ यात्रा भन्दै शनिबार तिर्थाटनका लागि सावित्राले परिवारजनलाई पठाएका थिए। दुर्भाग्य ! उनका प्रियजनहरू जोमसोमको हवाईमार्गबाट प्लास्टिकको पोकोमा काठमाडौं फर्किए। 

आफन्त कृष्णहरि घिमिरेका अनुसार राजन गोलेका कान्छो भाइ मनोज लण्डनमा परिवारसहित बस्छन्। उनले गत चैतमा आमा–बुवा, काका–काकी, मामा–माइजूलाई  तिर्थाटन गराउने चाहना राख्दै दाइ राजनलाई केही पैसा  पठाएका थिए। त्यतिखेर स्थानीय तहको चुनावी सरगर्मी बढेको थियो। चैतमा परिवारजनलाई धार्मिक यात्रा गराउन सकेनन्। ‘सामाजिक कामसँगै उहाँ नेकपा एकीकृत समाजवादी पार्टीनिकट रहेर राजनीतिमा सक्रिय हुनुहुन्थ्यो,’ उनले भने, ‘चुनावमा पुर्खौंली गाउँ  धनुषा जानुभयो। चुनाव सकिए पनि जेठ १० गते परिवारजनलाई लिएर मुक्तिनाथ दर्शन गराउने प्रयास गर्नुभयो। केही नमिलेर त्यतिखेर पनि जान सक्नु भएन। त्यतिखेर जानसक्नु भएको भए हामीले आज यो दिन देख्नुपर्ने थिएन।’

जहाज दुर्घटनालाई गम्भीरतापूर्वक छानबिन गर्न पीडित परिवारले माग गरेका छन्। राजनकी सानी आमा मुना लामा भन्छिन्, ‘कसको लापरबाहीले यत्रो ठूलो दुर्घटना भयो। न्यायिक छानबिन होस्। दोषीलाई कारबाही हुनैपर्छ। अब यस्तो घटना कहिल्यै नहोस्।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.