गठबन्धनले गर्दा स्थानीय निर्वाचनमा अपेक्षित परिणाम आएन : लिङ्देन
काभ्रे : स्थानीय निर्वाचनमा गठबन्धनको कारण निर्वाचनमा अपेक्षा गरिएको अनुसारको परिणाम नआएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
स्थानीय तहको निर्वाचन पछिको समिक्षा बैठक धुलिखेलमा बोल्दै लिङ्देनले भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा राप्रपाले सोचेको जस्तो जित निकाल्न नसकेको बताए। महाधिवेशन लगत्तै छोटो समयको तयारीको कारण पार्टीले स्थानीय निर्वाचनमा सोचेको जस्तो तहहरुमा जित निकाल्न नसकेको उनले बताए।
धुलिखेलमा भएको बैठकमा बोल्दै लिङ्देनले अब राप्रपाले अगामी संघ र प्रदेशको निर्वाचनको तयारिमा पार्टी लाग्ने बताउँदै पूर्ण समानुपातिक संसद् र जनताले प्रत्यक्ष चुनिने प्रधानमन्त्रीको विषयमा आवाज उठाउने बताए।
समिक्षा बैठकमा प्रदेश र संघको निर्वाचमा उपयुक्त र लोकप्रिय उम्मेदवारहरु समयमै छनोट गर्न पार्टी भित्र र पार्टी बाहिर सार्वजनिकरुपमा आह्वान गर्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
स्थानीय निर्वाचनमा पार्टी हित विपरित काम गर्ने निष्क्रिय बस्ने हरुको पहिचान गरेर १५ दिनभित्र सिफारिस गर्नको लागि छानबिन गर्न निरन्जन थापाको संयोजकमा ३ सदस्य रहेको समिति बनाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बुधबार र बिहिबार धुलिखेलमा बसेको थियो।