बहुमतबाहेकका जिल्लामा गठबन्धन
काठमाडौं : सत्तासीन ५ दलले जिल्ला समन्वय समिति (जिसस) को नेतृत्व चयनमा पनि साझा उम्मेदवार उठाउने तयारी गरेका छन्। जिल्लाका सरकारी तथा गैरसरकारी क्षेत्रका विकास निर्माणको अनुगमन, रेखदेख र खबरदारी गर्ने अधिकार जिल्ला समन्वय समितिसँग हुन्छ।
स्थानीय निर्वाचनबाट सत्तासीन कुनै पनि दलको बहुमत नपुगेको जिल्लामा गठबन्धनमार्फत साझा उम्मेदवार उठाउने तयारी गरिएको उनीहरूले जनाएका छन्। कांग्रेसको १६ र माओवादी केन्द्रको ४ जिल्लामा एकल बहुमत छ । ११ जिल्लामा एमालेको बहुमत छ। अन्य बाँकी जिल्लामा सत्ता गठबन्धनसँग एमालेको मत बराबर छ। २०७४ को स्थानीय निर्वाचनमा भने ३० बढी जिल्लामा एमालेले मात्र एकल बहुमत ल्याएको थियो।
सत्ता गठबन्धन दलले भने एकल बहुमत भएकाबाहेकका जिल्लामा गठबन्धन गरेर जाने निर्णय गरेका छन्। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘गठबन्धन गर्ने भनेर निर्णय नै गरिसकेका छौं। जिल्लाका साथीहरू नेतृत्व छलफलमा जुटिसक्नुभएको छ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बुधबार पार्टीको अभिमुखीकरण कार्यक्रममा बोल्दै कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी प्रतिबद्ध रहेको बताएका थिए। उनले कांग्रेसलाई अहमता प्रदर्शन नगर्न पनि चेतावनी दिए।
‘अहिलेको गठबन्धन प्रतिनिधिसभाको चुनावसम्मै लिएर जाने हो,’ प्रचण्डले भने, ‘संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षाको निम्ती भनेर हामीले गठबन्धन गरेका छौं। जिससको निर्वाचन अब हुँदैछ। त्यहाँ पनि हामी गठबन्धन गर्छौं। यो कुरा हामीले गठबन्धनको बैठकबाटै सल्टाइसकेका छौं।’ माओवादीलाई हल्का रूपमा नलिन कांग्रेसलाई आग्रह गर्दै प्रचण्डले आफ्नो पार्टीले धोका नदिने प्रतिबद्घता पनि जनाए।
त्यस्तै, राष्ट्रिय जनमोर्चाकी अध्यक्ष दुर्गा पौडेल भन्छिन्, ‘हामी स्थानीय निर्वाचनमा पनि हातेमाले ग¥र्यौं। जिससको यो निर्वाचनमा पनि गठबन्धन नै हुन्छ। यसपटक पनि हामीबाट धोका हुँदैन। गठबन्धनमा हामी इमान्दार छौं।’ कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गठबन्धनका कुनै पनि दलको बहुमत नपुग्ने जिल्लामा गठबन्धन गरेर साझा उम्मेदवार उठाइने जनाए। ‘बहुमत नभएका जिल्लामा गठबन्धन गरेर जाने निर्णय भएको छ,’ सिटौलाले भने, ‘झापामा एमालेको बहुमत छ। त्यहाँ सत्तारूढ दलहरूको गठबन्धन हुन्छ। गठबन्धनभित्रकै दलहरूमध्ये कसैको एकल बहुमत छ भने त्यहाँ एक्लै निर्वाचनमा जाने हो।’
नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले गठबन्धन गरेर जाने भन्ने विषयमा कसैको पनि फरक मत नरहेको बताए। ‘जिल्लाको हकमा त्यहाँको चुनावी नतिजा कसको बहुमत आएको छ त्यसलाई हेरेर गठबन्धन होला,’ उनले भने, ‘हामीले भन्दा सबै ठाउँमा गठबन्धन गरेरै जाऔं भनेका छौं।’ जिल्लाको समग्र विकासमा समन्वयकारी भूमिका निर्वाह गर्ने जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुखसहित बढीमा ९ सदस्य निर्वाचित हुने व्यवस्था छ। नगरपालिका र गाउँपालिकाका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षले मात्रै जिससका पदाधिकारी चयनमा मतदान गर्न पाउँछन्। जिससको उम्मेदवार बन्न वडा सदस्यमा निर्वाचित भएको हुनुपर्छ।
कांग्रेसले डोटी, डडेल्धुरा, कञ्चनपुर, अछाम, बाँके, ओखलढुंगा, सोलुखुम्बु, धनुषा, सुनसरी सर्लाही, काठमाडौं, ललितपुर, बागलुङ, बर्दियामा बहुमत पाएको छ। एमालेको धनकुटा, झापा, मोरङ, मुस्ताङ, म्याग्दी, कास्की, लमजुङ, पाल्पा, अर्घाखाँची, नवलपरासी पूर्व, बाजुरामा बहुमत छ। बाजुराको बूढीगंगा नगरपालिकामा मतदान हुन बाँकी भए पनि एमालेकै बहुमत पुगिसकेको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल भन्छन्, ‘कार्यपालिका चयन भएका जिल्लाहरूमा जिससको निर्वाचन गर्न सकिन्छ। अब चुनावी प्रोसेस अघि बढाउँदा हुन्छ।’ स्थानीय तहको निर्वाचन सम्पन्न भएको ३० दिनभित्र जिससको निर्वाचन गर्नुपर्छ।
गठबन्धन गर्ने भनेर निर्णय नै गरिसकेका छौं। जिल्लाका साथीहरू नेतृत्व छलफलमा जुटिसक्नुभएको छ।
– रामचन्द्र पौडेल
वरिष्ठ नेता, कांग्रेस