काठमाडौं विश्वविद्यालयका १७ सयबढी विद्यार्थी दीक्षित
काभ्रे : काठमाडौं विश्वविद्यालयको २७ औं दीक्षान्त समारोह (दोस्रो चरण) शुक्रबार काठमाडौं विश्वविद्यालय केन्द्रीय परिसर धुलिखेलमा सम्पन्न भएको छ। प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाको अध्यक्षता आइआइ टि हैदेराबादका निर्देशक बि एस् मुर्तीको प्रमुख आतिथ्य दीक्षान्त कार्यक्रम सम्पन्न भएको हो।
२७ औं दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न सङ्कायका गरी एक हजार ७ सय १२ जना विद्यार्थी दीक्षित भएका छन्।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कुलपति देउवाले खनिज पदार्थको पहिचान गरी विशेषज्ञता हासिल गरी देश विकासमा टेवा पुर्याएकोमा धन्यवाद व्यक्त गरे। ‘खनिज पार्थको पहिचान गरी ग्रीन हाईड्रोजन उत्पादन व्यवस्थापन गर्नु आजको आवश्यता हो त्यसमा विश्वविद्यालयले दक्ष प्राविधिकको उत्पादन गरेकोमा खुसी व्यक्त गर्दछु।’ देउवाले भने, ‘जलवायु परिवर्तनलाई न्युनिकरण गर्न र जैविक विविधताको अनुसन्धानमा दक्ष जनशक्ति उत्पादनमा केयुको योगदान उच्च रहेको भन्ने विश्वास लिएको छु।’
दीक्षान्त कार्यक्रममा आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, साइन्स र मेडिकल साइन्सेजका विधाका गरी ११ जना पीएचडी तथा एमफिल ४३ जनासहित स्नातक र स्नातकोत्तर तहका १६६१ जना विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ।
आर्ट्सका ३२ जना, एजुकेसनका १०० जना, इन्जिनियरिङका ३५२ जना, म्यानेजमेन्टका १६ जना, मेडिकल साइन्सेजका ९९६ जना र साइन्सका २१९ जना दीक्षित भएको छ। आज नेपाली बिद्यार्थीहरुसंगै भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, अष्ट्रेलिया, चीन, बंगलादेश, नेदरल्याण्ड र जर्मनी गरी ९ देशका १५७ जना विद्यार्थीहरु दीक्षित भएका छन्।