निकुञ्जमा पर्यटकको आगमन बढ्यो

रसुवा : लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ। कोरोना भाइरसको त्रास कम भएको, निकुञ्ज क्षेत्रका पदमार्गहरू सञ्चालनमा रहेको, कम वर्षा भएको कारण निकुञ्जमा पर्यटकको आगमन बढेको हो।
निकुञ्जको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/९ को १० महिनामा साढे १५ हजार पर्यटक निकुञ्ज भित्रिएका छन्। कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्म १५ हजार ६ सय ४१ पर्यटक आएका हुन्। जसमा १३ हजार १ सय २० नेपाली, २ हजार ३ सय ८८ विदेशी र सार्क राष्ट्रका १ सय ९३ पर्यटक छन्।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण २ वर्षसम्म पर्यटक आउने क्रम घटेको थियो। कोरोनाको संक्रमण रोकथामका लागि देश लकडाउन भएपछि पर्यटक आउने क्रम शुन्यमा झरेको थियो।
पछिल्लो समय पर्यटकीय क्षेत्रहरूमा नेपाली तथा विदेशी पर्यटक आउने क्रम बढ्दै गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए। यहाँ आउने पर्यटकमध्ये विदेशीको तुलनामा नेपालीले खर्च पनि बढी गर्ने गरेका छन्। निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि हजारौं पर्यटक आउने गरेका छन्। निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्। साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन्।
हरेक वर्षको असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्। जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन्। तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ।
निकुञ्ज क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रहरूमा इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्याण्ड, वेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, सिंगापुरलगायतका देशका पर्यटक आउने गरेका छन्। यसअघि निकुञ्जमा आउने पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ जाने गरेकोमा अहिले गोसाइँकुण्डमा जानेको संख्या बढेको छ।
निकुञ्ज क्षेत्रमा आएपछि लाङटाङ लगायतका एक दर्जन हिमश्रृङ्खला, गोसाइँकुण्ड लगायतका विभिन्न कुण्ड, ऐतिहासिकस्थल रसुवागढी, विश्वको दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जनावर पनि देख्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस !
