निर्वाचन प्रचार सामग्रीले कुरूप जनकपुर

निर्वाचन प्रचार सामग्रीले कुरूप जनकपुर

जनकपुरधाम : स्थानीय निर्वाचन सकिएको तीन साता बित्यो। मत परिणाम आएर जनप्रतिनिधि पनि चुनिए। कार्यपालिका गठन भयो। तर, जनकपुरधाममा निर्वाचनका समयमा टाँसिएका/टाँगिएका प्रचार सामग्री अझै छरपस्ट छन्। हटाइएका छैनन्। 

निर्वाचनमा दल र उठाइएका उम्मेदवारको घोषणापत्रमा एउटा मुख्य नारा थियो– ‘जनकपुरधामको फोहोर व्यवस्थापन र सुन्दरता।’ तर, उनीहरूले नै गरेको फोहोर अझै छरपस्ट छ। न जितेका जनप्रतिनिधिले यसको व्यवस्थापन गरे, न त नारा लिएर उठेका उम्मेदवारले नै। अहिले यही निर्वाचन सामग्रीले जनकपुर कुरूप बनेको छ। धार्मिक सम्पदा, मठमन्दिर, पार्टी–पौवा र गुठीको सुन्दरता उडेको छ। 

निर्वाचन प्रचारका क्रममा जिल्लाका राजनीतिक दल र तिनका उम्मेदवारले मत माग्न प्रयोग गरेका प्रचार सामग्रीहरू हटाउने तर्फ भने कसैले ध्यान दिएका छैनन्। यसको धेरै असर मधेसको राजधानी सदरमुकाम जनकपुरधाम र मुख्य बजार क्षेत्रमा परेको छ। दलहरूले विभिन्न स्थानमा टाँगेका झन्डा, चुनाव चिह्न, पर्चा र पम्प्लेटहरू हटाएका छैनन्। 

आफ्नो पक्षमा माहोल सिर्जना गर्न र मतदातालाई आकर्षित गर्नका लागि निर्वाचन भन्दा अगाडि दलहरूले प्रचार सामग्रीमा चर्को प्रतिस्पर्धा नै गरे। सार्वजनिक स्थल, ऐतिहासिक तथा धार्मिकस्थल, बाह्रबिघा, तिरहुतिया गाछी, जानकी मन्दिरको पर्खाल मात्र होइन सार्वजनिक पार्टीपौवा र चौतारा पनि छाडेनन्। सरकारी कार्यालयका गेट र पर्खालहरूमा जथाभावी टाँसिएका पर्चा र अझै यत्रतत्र छन्। सार्वजनिक स्थलका रूखदेखि विद्युत्का पोल पनि पर्चाले बाँकी रहेनन्। लाखौं रकम खर्चेर प्रतिस्पर्धी पार्टीभन्दा दोब्बर प्रचारप्रसार गर्ने र जनताको मन जित्न दलहरूबीच रस्साकस्सी नै चल्यो। यसकारण प्रचार सामग्रीको प्रयोग बढी भयो। निर्वाचनको मत परिणाम सार्वजनिकपछि दलहरू समीक्षा र विजयी जुलुसमा देखिँदै कार्यकाल सुरु गरिसकेका छन्।

केही दिनमा सर्वदलीय बैठक बोलाएर मेयरदेखि वडाध्यक्षसम्म र जिल्ला तहका नेताहरूको बैठकबाट सबैलाई आआफ्नो सामग्री हटाउन आग्रह गर्छौं।
मनोजकुमार साह, मेयर

निर्वाचनबाट विजयी भएका जनप्रतिनिधिहरूलाई आम मतदाताबाट बधाई थाप्न भ्याइनभ्याइँ छ। उनीहरू सहर बजार र गाउँगाउँमा पुगेर मतदातालाई धन्यवाद दिनमा समेत भ्याएका छन्। निर्वाचनमा पराजय भएका दलहरू यतिबेला पार्टी हार्नुको समीक्षा गरिरहेका छन्। तर, सार्वजनिक स्थल, पार्टी पौवा, चौतारा, विद्युत्का पोल तथा रुखहरूमा टाँसेका प्रचार सामग्रीहरू हटाइएका छैनन्। चुनाव सकिए पनि शिवचोक, भानुचोक, जानकी मन्दिर, बाह्रबिघा, तिरहुतिया गाछी, सडक वरिपरका पर्खाल, बिजुलीका खम्बा तथा नगरका टोलटोलमा राखिएका प्रचार सामग्री हटाइएको छैन।

चुनाव परिणामलगत्तै घरदैलो अभियानमा मतदातासँगको भेटघाटमा व्यस्त सँगसँगै कार्यपालिकाको निर्वाचनमा व्यस्त भएकाले प्रचार सामग्री हटाउन नपाइएको नेपाली कांग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार तथा जनकपुरधामका मेयर मनोजकुमार साह बताउँछन्। ‘अहिले मतदातालाई धन्यवाद दिन, निर्वाचनको अन्तिम प्रक्रिया भर्खर सम्पन्न भयो, त्यसैले यताउताको काममै व्यस्त छौं,’ उनले भने, ‘अबको केही दिनमा सर्वदलीय बैठक बोलाएर मेयरदेखि वडाध्यक्षसम्म र जिल्ला तहका नेताहरूको बैठकबाट सबैलाई आ–आफ्नो सामग्री हटाउन आग्रह गर्छौं। नभए कर्मचारी खटाएर प्रचार सामग्री हटाउनेछौं।’

नेकपा एमालेको तर्फबाट उम्मेदवार शिवशंकर साह (हीरा)ले आफूहरूले कुनै पनि हालतमा प्रचार सामग्री हटाउने भन्दै केही ढिला भएको स्वीकार गरे। नेकपा एमालेसँगै अन्य राजनीतिक दलको तर्फबाट प्रयोग भएका सामग्री हटाउन आफूहरू तयार रहेको उनले बताए। भने, ‘मेरो स्वास्थ्य अस्वस्थ भएर उपचारको क्रममा छु। निर्वाचनपछि प्रचारसामग्री हटाउन प्रचार समितिलाई निर्देशन दिइसकेको छु।’

‘पार्टीको तल्लो तहसम्म, हामीले प्रचार सामग्रीलाई तत्काल हटाउन भनेका छौं’ नेकपा एमालेका धनुषा इन्चार्ज रामचन्द्र मण्डलले, ‘कहीँ कतै छुटेका ठाउँमा केही दिनमा सफा पारिन्छ, यसमा हामी सचेत र तयारी हालतमा छौं।’ यता जिल्ला प्रशासन कार्यालयले भने चुनावमा मौन अवधि सुरु हुनुभन्दा पहिलेदेखि नै प्रचार सामग्री हटाउन निर्देशन दिइएको जनाएको छ। आफूहरूले मौखिक रूपमा निर्देशन दिएको भन्दै प्रशासनले दलहरूले भने अटेर गरेको बताएको हो। निर्वाचन सकिए पनि प्रचार सामग्री नहटाउँदा सार्वजनिक स्थलहरू फोहोरले कुरूप बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.