हिलिहाङको ऐतिहासिक संग्रहालय
फिदिम : गोरखाली राजा पृथ्वीनारायण शाह र लिम्बुहरूका राजा हिलिहाङ योङहाङको फौजबीच १७ पटक युद्ध भयो। नेपाल एकीकरणका क्रममा दुईवटा फौजबीच पटकपटक युद्ध त भयो नै तर पनि हारजित भने भएन। त्यसपछि, १८३१ सालमा गोरखाली र हिलिहाङ राजाबीच सम्झौता भयो। जसअनुसार केन्द्रीय राज्य गोरखालीको हुने र स्थानीय क्षेत्रको अधिकार हिलिहाङ राजालाई हुने सम्झौता भएको इतिहासका जानकार बताउँछन्।
यसैगरी, दुई राजाबीच दाजुभाइको सम्बन्ध रहने सन्धि भएको थियो। अर्थात् शाहहरू र योङहाङहरू राजखानदानी दाजुभाइ रहने गरी नेपाल एकीकरणको खाका तयार गरिएको पनि इतिहासका जानकारहरूको भनाइ छ। तत्कालीन लिम्बु राजा हिलिहाङले लिम्बुहरूको उत्थान र विकासमा मात्र नभई, नेपाल एकीकरणमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। एकीकरणपछि योङहाङ राजाको दरबारदेखि त्यसबेलाका ऐतिहासिक र पुरातात्विक महत्त्वका वस्तुहरू मासिँदै गए। हिलिहाङ राजाको दरबारको भग्नावशेष मात्र बाँकी छ। दरबार क्षेत्र जंगलमा परिणत भएको छ।
हिलिहाङ फाउन्डेसन र सरोकारवालाको दबाब र अभियानपछि हिलिहाङ दरबार पुनर्निर्माणलगायतका कामले ठोस रूप लियो, २०७४ को स्थानीय तह निर्वाचनपछि मात्र। तीनै तहका सरकारले संग्रहालय, दरबार निर्माणलगायत हिलिहाङको विकासका लागि ६ करोड बजेट परिचालन गरेका छन्। स्थानीय सरकार र प्रदेश सरकारको संयुक्त पहलमा संग्रहालय निर्माणको काम भइरहेको छ। केन्द्र सरकारको लगानीमा दरबार पुनर्निर्माणको काम पनि भइरहेको छ। यसबाट हिलिहाङ राजा र लिम्बुवानकोे इतिहास जीवित रहने र उक्त क्षेत्र प्रदेशकै मुख्य पर्यटकीय केन्द्र बन्ने लिम्बु समुदायका अग्रजको विश्वास छ।
‘सरकारले इतिहासमा पहिलोपटक हिलिहाङलाई सम्झिएर ऐतिहासिक र पुरातात्विक वस्तुहरूको संरक्षणमा लगानी गरेको छ’, हिलिहाङ फाउन्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङले भने, ‘जंगलमा छोडिएको हिलिहाङको इतिहास झन्डै अढाई सय वर्षपछि क्रमशः उजागर हँुदै गएको छ। राज्यले चिनेको एक मात्र हिलिहाङ दरबार र लिम्बुहरूका अन्तिम राजा हिलिहाङ रहेकाले उहाँको योगदानलाई संस्थागत गर्न संग्रहालयसहित अन्य संरचना बनाएका छौं।’ प्राकृतिक रूपमा पनि सुन्दर रहेकाले पर्यटकको आकर्षणको केन्द्र बन्ने स्थानीयवासीको विश्वास छ।
के भइरहेको छ, संग्रहालय
पाँचथरको हिलिहाङ गाउँपालिका– ४ पञ्चमीस्थित हिलिहाङ दरबार क्षेत्रमा संग्रहालय निर्माण भइरहेको छ। लिम्बुवानको अन्तिम राज्य याङवरक थुम (जिल्ला) को हस्तपुर गढीमा संग्रहालय निर्माण भइरहेको हो। तत्कालीन राजा हिलिहाङ योङहाङको दरबारनजिकै संग्रहालय निर्माण गरिएको हो। १ नम्बर प्रदेश सरकार र हिलिहाङ गाउँपालिकाको तीन करोड सहयोगमा संग्रहालय निर्माणको काम भइरहेको छ। समपूरक कार्यक्रमअन्तर्गत संग्रहालय निर्माणमा लगानी गरिएको प्रदेश सरकारले जनाएको छ। संग्रहालय निर्माणमा प्रदेशको ७० प्रतिशत र स्थानीय सरकारको ३० प्रतिशत लगानी छ।
पाँचथरको हिलिहाङ गाउँपालिका—४ हिलिहाङ दरबार क्षेत्रमा निर्माण गरिएको हिलिहाङ संग्रहालय।
संग्रहालयको भवन निर्माण भइसकेको छ। भित्री संरचनाहरू बनिरहेको सरोकारवाला बताउँछन्। संग्रहालयमा हिलिहाङको दरबारमा प्रयोग भएका ऐतिहासिक र पुरातात्विक वस्तुहरू राखिनेछन्। ‘संग्रहालयमा पुरातात्विक र ऐतिहासिक वस्तुहरू राख्न बाँकी छ’, हिलिहाङ फाउन्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङले भने, ‘हामी हिलिहाङकालीन हातहतियार, ऐतिहासिक तथा पुरातात्विक वस्तुहरूको खोजी गर्दैछौं। यस्ता सामग्री संकलन कार्यमा जुटेका छौं।
संग्रहालय सञ्चालनमा ल्याउन लागिपरेका छौं।’ संकलित हातहतियार र पुरातात्विक वस्तुहरू हिलिहाङका अग्रज सुब्बाको घरमा राखिएको बताइएको छ। हिलिहाङ राजाले प्रयोग गरेका अमाल, धमाल, सुभाङ्गी, तोप, बन्दुक, तरबार र झन्डाका अवशेषहरू संकलन गरिएका छन्। ‘सुरक्षाका दृष्टिले ती सामान कहाँ राखिएको छ भनेर भन्न मिल्दैन’, हर्कबहादुरले भने, ‘सबै सामग्री संग्रहालयमा ल्याइनेछ। पृथ्वीनारायण शाहसँग गरिएका सन्धिका प्रमाण पनि संग्रहालयमा राखिने छ।’
संग्रहालयले हिलिहाङको मात्र होइन, लिम्बुवानको इतिहासलाई जीवित राख्नेछ। यहाँ संग्रहालयसहित अरू थुप्रै संरचना धमाधम निर्माण भइरहेका छन्। संग्रहालयलाई हिलिहाङको मात्र नभएर प्रदेश एककै दर्पणको रूपमा विकास गर्ने योजना हो।
भवानी लिङ्देन - निवर्तमान अध्यक्ष, हिलिहाङ गाउँपालिका
लिम्बु सभ्यताका जानकार ऐतिहासिक र पुरातात्विक वस्तुहरू खोजी गर्दै संकलन कार्यमा जुटेका छन्। ‘संग्रहालय निर्माणमा प्रदेश र स्थानीय सरकारको संयुक्त लगानी छ’, प्रमुख प्रशासकीय अधिकृत विक्रम लिम्बुले भने, ‘संग्रहालयमा हातहतियार राख्न अहिले हिलिहाङकालीन हातहतियारको खोजी र संकलन भइरहेको छ।’ लिम्बुका तत्कालीन राजालाई राज्यले सम्झेपछि यो समुदायमा खुसी छाएको छ। संग्रहालय निर्माणले हिलिहाङ राजा र लिम्बुवानकोे इतिहास जीवित रहने लिम्बु समुदायका अग्रजहरूको तर्क छ।
‘संग्रहालयले हिलिहाङको मात्र हैन, लिम्बुवानको इतिहासलाई जीवित राख्नेछ’, हिलिहाङ गाउँपालिकाका निवर्तमान अध्यक्ष भवानी लिङ्देनले भने, ‘इतिहास जीवित राख्न संग्रहालयसँगै अरू पनि थुप्रै संरचना निर्माण भइरहेका छन्। संग्रहालयलाई हिलिहाङको मात्र नभएर प्रदेश एककै दर्पणको रूपमा विकास गर्नुपर्छ।’ तत्कालीन राजा हिलिहाङको सहजीकरणले मात्र नेपाल एकीकरणले सार्थकता पाएको र नेपालले अहिलेको स्वरूप धारण गरेको लिम्बु समुदायका अग्रजहरूको दाबी छ। ‘लिम्बुवान राज्यको इतिहासलाई नेपाल सरकारले बल्ल बुझेजस्तो महसुस भएको छ’, फाउन्डेसनका अध्यक्ष हर्कबहादुरले भने, ‘नेपाललाई अहिलेको स्वरूपमा राख्न लिम्बुवानी राजा हिलिहाङको ठूलो योगदान छ।’
संग्रहालयमा प्रदेश १ मा रहेका विभिन्न जाति र समुदायसँग सम्बन्धित ऐतिहासिक र पुरातात्विक वस्तुहरू पनि राख्ने तयारी छ। ‘हिलिहाङ संग्रहालयलाई प्रदेश १ को ऐनाको रूपमा विकास गर्ने योजना छ’, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले भने, ‘संग्रहालयमा सबै जातजाति, भाषाभाषी र सम्प्रदायको इतिहास झल्कने गरी विकास गर्नेछौं।’ संग्रहालय चाँडो सञ्चालनमा ल्याउन गाउँपालिकाले पनि कदम चाल्ने उनले बताए। करिब २ सय ५० वर्षदेखि चासो नदिएको दरबार क्षेत्रमा आधा दर्जनभन्दा धेरै संरचना निर्माण भइरहेका छन्। दरबारको जीर्णोद्धार, उत्खननदेखि संग्रहालय निर्माण, दरबार निर्माण, हिलिहाङको सालिक निर्माण, हिलिहाङ रंगशाला निर्माण र सडक निर्माणका काम धमाधम भइरहेका छन्।
हिलिहाङको इतिहास
लिम्बु राज्यका अन्तिम राजा हिलिहाङको जन्म १७८३ कात्तिक १८ गते भएको थियो। तत्कालीन लिम्बुवानका १७ थुममध्येको एउटा थुम याङवरकको हस्तपुर (यक) गढीका उनी राजा थिए। ३१ वर्षको उमेरमा १८१४ सालमा उनले राजगद्दी सम्हालेका थिए। हिलिहाङले १८१४ देखि १८४२ सम्म २८ वर्ष शासन गरेको इतिहास छ।
संग्रहालयलाई सबै जात, जाति, भाषाभाषी र सम्प्रदायको इतिहास झल्कने गरी विकास गर्नेछौं। यो संग्रहालय हाम्रो प्रदेशको ऐना हो।
समरबहादुर अधिकारी - अध्यक्ष, हिलिहाङ गाउँपालिका
हिलिहाङलाई १८औं पुस्ताको राजाको रूपमा लिइन्छ। उनी निकै दूरदर्शी र पराक्रमी राजा थिए भनेर स्थानीय पाकाहरू चर्चा गर्छन्। उनले नेतृत्व सम्हालेपछि गोरखाली सेनासँग पटकपटक युद्ध भएको थियो। युद्धमा कसैको पनि जितहार नभएपछि १८३१ साउन २२ गते सम्झौता (लालमोहर) भएको थियो। लडाइँ र संघर्षका बीचमा राजा पृथ्वीनारायण शाह र हिलिहाङबीच औपचारिक तथा अनौपचारिक गरी धेरै पटक सन्धिसम्झौता पनि भएका थिए। ती सम्झौतामध्ये १८१४, १८३१ र १८४२ मा भएका सन्धि सबैभन्दा धेरै चर्चामा छन्।
त्यतिबेला तिब्बत तथा सिक्किमको सम्भावित आक्रमणबाट बच्न संयुक्त सैन्य दस्ता खडा गरी लड्नेसम्मका सम्झौता भएका थिए। ती सम्झौतापछि मात्र नेपाल एकीकरणले सार्थक रूप लिएको भनेर लिम्बु समुदायका अगुवाहरूको दाबी छ। ‘सम्झौता गर्न हाङ हिलिहाङले नै बढी समन्वय गरेको इतिहास भेटिन्छ’, फाउन्डेससनका अध्यक्ष हर्कबहादुर भन्छन्, ‘नेपाल एकीकरणका लागि हिलिहाङको योगदानलाई बिर्सनु हँुदैन।’ सन्धिहरूमा स्थानीय क्षेत्रका अधिकार हिलिहाङ राजाले सञ्चालन गर्न पाउने र गोर्खालीलाई केन्द्रीय राज्य मान्ने तथा राजाबीच दाजुभाइको सम्बन्ध रहने सन्धि भएको थियो।
सरकारले इतिहासमा पहिलोपटक हिलिहाङलाई सम्झिएर ऐतिहासिक र पुरातात्त्विक वस्तुहरूको संरक्षणमा लगानी गरेको छ। जंगलमा छाडिएको हिलिहाङको इतिहास झन्डै अढाई सय वर्षपछि क्रमशः उजागर हुँदै गएको छ। राज्यले चिनेको एक मात्र हिलिहाङ दरबार र लिम्बुहरूका अन्तिम राजा हिलिहाङको योगदानलाई संस्थागत गर्न कम्मर कसेर लागेका छौं।
हर्कबहादुर योङ्हाङ - अध्यक्ष, हिलिहाङ फाउन्डेसन
त्यतिबेला लिम्बुवानको आर्थिक, सामाजिक, सांस्कृतिक र प्रशासनिक अधिकार हिलिहाङमै रहेको बताइन्छ। तर, हिलिहाङको मृत्युपछि त्यो अधिकार खोसिएको र लिम्बुवान राज्यको अस्तित्व खोसिएको आरोप लगाइने गरिन्छ। हिलिहाङको सम्मानमा गाउँपालिकाको नाम नै राखिएको छ। साबिकका अमरपुर, सुभाङ, पञ्चमी र भारपालाई गाभेर हिलिहाङ गाउँपालिका नामकरण गरिएको हो।
गाउँकै मुहार फेरिने विश्वास
संग्रहालय निर्माणले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्वका सम्पदाको संरक्षणसँगै पर्यटन फस्टाउने स्थानीयवासीको विश्वास छ। ‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्र मात्र नभएर यो अब्बल पर्यटकीय गन्तव्य बनाउन थप कदम चाल्नुपर्छ’, गाउँपालिका अध्यक्ष अधिकारीले भने। हिलिहाङ क्षेत्रको विकासमा सबैले हातेमालो गर्नुपर्ने स्थानीय अग्रज बताउँछन्।
इतिहासमा सीमित हुन लागेको हिलिहाङ दरबार क्षेत्रलाई पुरातात्विक सम्पदा तथा पर्यटकीय गन्तव्य बनाउन थालिएकोमा स्थानीयवासी खुसी छन्। ‘हिलिहाङ राजाको नाममा सरकारले ठूलो लगानी गरेपछि हामी खुसी छौं’, हिलिहाङका स्थानीय डम्बर सुहाङ भन्छन्, ‘संग्रहालय र दरबार निर्माण भएसँगै यो क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा पनि विकास भइरहेको छ।’
हिलिहाङ दरबारसम्मको यात्रा
हिलिहाङ दरबार पाँचथरको ग्रामीण भेगमा पर्छ। यहाँ पुग्न पाँचथर सदरमुकाम फिदिमदेखि मेची राजमार्ग भएर जानुपर्छ। मेची राजमार्गको हिलिहाङ चोक पुगेपछि राजमार्ग छाडेर कच्ची सडक भएर दरबार जानुपर्छ। हिलिहाङ चोकदेखि करिब दुई किलोमिटर कच्ची सडकको यात्रा गरेपछि दरबार क्षेत्र पुग्न सकिन्छ। अहिले दरबारसम्म पुग्न कच्ची सडक धमाधम निर्माण भइरहेको छ।
साबिक पञ्चमी गाविसको अग्लो डाँडामा हिलिहाङको दरबार क्षेत्र पर्छ।