नियति
क्षणिक आनन्दमा रमाएको मन बन्दैन मन्दिरमा तुल !
कतै पहिरोमा पुरिँदैछन् त कतै बाढीमा हराउँदैछन्
पूर्वजले सुम्पेको नासो हरियाली वन र उर्वर माटो
बाँकी छ सन्ततिलाई सुम्पन नबिराउँ कसैले बाटो
प्रदूषणमा फुलेको माया कहाँ स्वच्छ हुन्छ र ?
प्रकृतिको उपहार सुन्दर जीवनमा हो कालो टाटो।
थाहा छ हामी सबैलाई, हामी कहाँ र किन जाँदैछौं ?
स्वार्थमा रुमल्लिएका पाइलाले संसार कहाँ लाँदैछौं ?
जीवन पाएर मात्र हुँदैन बनाएर बाँच्न जान्नु पर्छ
नियत हो या नियति हो किन जानीजानी विष खाँदैछौं ?
सहनशीलताको शीतलतामा राप र ताप सेलाउँछन्
जल्नेहरू नै खरानी बन्ने हुन् हावामा आफैं हराउँछन्
आगो त पानीमा पनि बल्छ रे त !
समयलाई पर्खनेहरूले नै आगोमा बरफ जमाउँछन्।
प्रदूषणको रंग नदलौं बेलैमा सोच बदलौं
धेरै अबेर भइसक्यो, अब ढिला नगरौं
खाँचो छ जलवायु परिवर्तनविरुद्धको सहकार्य
दिगोपनका लागि एकता आजको अपरिहार्य।