स्वर्गीय हाँसो
तिम्रो पालामा तिमीले फिँजाएको
मैले मेरै नैतिकता नामको खोटो सिक्काले
न बच्चाको भविष्य।
घाटामा चलेको परिश्रमको हाटबजारबाट
सस्तोमा उठाएको पसिनाको थोपाले
मालिकको घाँटी त भिज्यो होला
तर भिजेनन्, छोराको कापी केर्ने सपना
छोरीको चुल्ठो बाट्ने चाहना
र, पत्नीको पेट भर्ने रहर।
कर्मको मैदानमा
कर्तव्यको फुटबल पछार्दा पछार्दै
खिइएका पैतालाको रुञ्चे छालाबाट
हतास बनेको मेरो शरीरलाई
न गणतन्त्रको टेकोले अड्याउन सक्यो
न संघीयताको लौरोले थेग्न सक्यो
टोलटोलको र घरघरको सिंहदरबार
मात्र, घरको सिंहदरबार बन्दा
बेकार बनेका आन्दोलनका उभारहरू
र, बिचरा बनेका परिवर्तनका उचाइहरू
नियालेर कुरीकुरी गर्दै हाँसिरहेछ डाँडापीपल।
हुनेखानेहरूको पैतालाले
हुँदा खानेहरूको स्वाभिमान लत्याइरहँदा
रोएको गणतान्त्रिक दूधेबालक
फकिन नपाउँदै पारिवारिक जामाले
व्यक्तिगत बिरासत जोगाउन लालायित मेरो देश !
‘आमा ! आमा ! बाउ आए’ उखानको
सापटी संस्करणमा बाँचिरहेको छ।
गणतन्त्रको कोमल बिछ्याउनामा
फिँजाएको गरिबीको बर्को
झाँटझुट पारेर फेरफार गर्दा
न छोपिएको सामाजिक असमानताको खाडल
जातीय विभेदको उचाइ
र, आर्थिक अवन्नतिका सूचकहरू
जरैदेखि उखेल्न अघि बढेका
एक हुल राता मान्छेहरू
चौबाटोमा पथ हराएको यात्रुझैं
अलमलमा देखिन्छन्।
टोल–टोलमा मान्छे–मान्छेबाट त्रसित छन्
गाउँँ–गाउँमा मान्छे–मान्छेबाट त्रसित छन्।
किनकि अपव्याख्याको आगोमा
सभ्यताको सहर हुर्हुरी बलेको छ।
हामी हुन नसकेको म
र हाम्रो हुन नसकेको मेरोले
संविधानको मुलायम पानामा
स्वर्ण वर्णमा लेखिएको मेरो भाग्य
हजुरकै निगाहमा हजुरकै खातिर
हजुरकै आँगनमा बलिदानी गरेर
सापटीको पुरानो जडौरी भाग्य
तानतुन पारेर, च्यातिएको पर्खालबाट
मातिएको हजुरको जीवनी नियाल्दै
म पाजी स्वर्गीय हाँसो हाँसिरहेछु।
व्यवस्थाको सुन्दर बगैंचामा
कुशासनको कुरूप साँढे दौडाएर
निरीह रमितेहरू अट्टहाँस हाँसिरहेछन्
बिचरा हाम्रो सशस्त्र जनक्रान्ति
बिचरा हाम्रो युगीन परिवर्तन, बिचरा हामी !