सात समुद्रमा कविताको आँसु

सात समुद्रमा कविताको आँसु

प्रसंग शैलेन्द्र साकारको नयाँ कविता संग्रह अरू सात समुद्रको हो। सर्वप्रथम हलेंदो कोट्ट्याउन मन लाग्यो। कविता लेख्न थाल्दै गरेको भोजपुर बजारको यौटा सोझो ठिटो काठमाडौं पस्यो खाली खुट्टा। रमेश विकल, वासु शशी, मदन रेग्मी, सिद्धिचरण, पारिजात नानाभाँतीका लेखककविको संगतमा लाग्यो। आफ्नै संसारमा बरालियो, अनेक सपना देख्यो। यौटा युग भोग्यो, साहित्य र राजनीतिको रापिलो आगोले सेकिएको। जसलाई केही महिनाअघि निस्किएको संस्मरणात्मक पुस्तकमा उसले लेखेको पनि छ। सबैभन्दा बढी त्यस युवाले कवि बन्ने कसरत गर्‍यो। त्यसैले कविता लेख्यो, लेखिरह्यो।

कवि भएर उनी २०१९ सालमै देखा परे। समकालीन प्रतिभा मञ्जुलहरू राल्फा बने गीत गाउँदै हिँडे। मोहन कोइरालाको अर्ध निद्राको अवस्थामा लेखिने खाले तथाकथित प्रयोगवादी कविता लेख्दै अघि बढिरहेका यी कवि काठमाडौंको संस्कार, पञ्चायती शासन इत्यादिबाट दिक्क बने। यिनलाई एक्कासि मलाय राय चौधरीको हावा लाग्यो र रातारात घोषणापत्र लेखेर एक बिहान झोछेंको गल्लीबाट अस्वीकृत आन्दोलन छेडे। घोषणापत्र मात्रै लेखेनन्, घोषणापत्रको ढुकढुकी कवितामा पनि उतारे, म आफ्नो शरीरभरि विष उमारेर तँलाई ठुंग्न आइरहेछु÷म यो परम्परा, यो झुटो युगको षड्यन्त्र र शब्दको जादु सबैको विरुद्ध बकिरहेछु...।

निरन्तरको कविता लेखन र घोषणाले परिचय फराकिलो गरायो। तनाव र आक्रोशमा मुछिएका अरू थुप्रै साहित्यकारसँगको उठबसको क्रम बढ्दै गयो। ख्यालख्यालमै बुट पालिस आन्दोलन छेडे। नेपालकै पहिलो साहित्यिक आन्दोलन थियो त्यो सरकारको पाखण्डविरुद्ध सिधै व्यंग्य गरिएको। जसले अन्तर्राष्ट्रिय चर्चा पनि बटुल्यो। २०३६ सम्म आइपुग्दा ७५ कविता लेखिसकेछन्, साझा प्रकाशनबाट संग्रह छापियो शैलेन्द्र साकारका कविता नाममा। निराशा, हतास, हीनता, कुण्ठा र आत्मघाती आक्रोशयुक्त प्रयोगवादी पुस्ता र कविता लेखनलाई बिदाइ गरेर यथार्थपरक नेपाली कविताको नयाँ रुख हुर्काउने कविताहरूको 

पनि बीजारोपण गर्ने कविताहरू।

सडक कविता क्रान्तिको प्रतिफल थियो नेपाली कविताको इतिहासमा अत्यधिक चर्चा बटुलेको संग्रह, ‘सर्पहरू गीत सुन्दैनन्’। नेपाली कविता लेखनको कालरात्रि या ग्रहणकाल र २०३६ देखि यताको राजनीतिक, सांस्कृतिक र सामाजिक जागरण कालबीचको महत्त्वपूर्ण पुलका रूपमा अवस्थित रहेका साकारको ऐतिहासिक महत्त्व बोकेको संग्रह हो यो। २०४६ सालपछि देशमा धेरै किसिमका परिवर्तन आए। सर्पहरूका विरुद्ध आवाज उठाउने पुस्ताले २०४६ को विचलन र विद्रुपता २०६४ मा डबल भएको देखें। त्यो पुस्ता— पारिजात, युद्धप्रसाद मिश्र, वासु शशी— त्यो पुस्ताले रोपेको सपनाको बोटमा अराजक समाज व्यवस्था, अराजक राज्यव्यवस्था, अनुशासनहीनता मात्रै फल्यो। जुन अम्बा टोक्यो त्यसैमा किरा।

२०४६ सालपछि अब त आँसुको समुद्रबाट पार पाइयो भनेर एसियामा सीमित कविले जब सात समुद्र तरेर अमेरिका पुगे र तर कवि मानिसले बगाएका आँसु देखेर तर्सिए। उताका पनि रोइरहेकै छन् यताका पनि। रोदन विश्वव्यापी छ। मान्छेले बगाएको आँसु जम्मा गर्न सके अरू सात समुद्र बन्ने थियो कि ! कवि साकारको संकेत यो छ कि बनेको समुद्र हेरेर मानिसले अरू नरुने र नरुवाउने काम गथ्र्यो कि ? कुरा आउन सक्छ आँसुको समुद्र कहाँ बनाउने ? चन्द्रमामा पनि बनाउन सकिन्छ। मान्छेले चन्द्रमामा घडेरी किनबेच गर्न प्लटिङ गरेका छन्।

ईश्वरले मानिसलाई तँ जतिबेला पनि रोइराख भनेर छोडेका त थिएनन् होला ! तर मानिस रोइरहेकै छ पलपल। मानिसले चन्द्रमामा जाने प्रबन्ध गर्न छोडेर जंगलतर्फ नै फर्कने प्रबन्ध गर्ने हो कि ? किनकि त्यहाँ मानिस निर्वासित थिएन। न त भित्री रूपमा न त बाहिरी रूपमा। संग्रहमा समावेश कविता मानिस र देश पढेपछि यस्तै विचार मनमा आउँछ। जंगलमा जस्तै मानिस सभ्यतामा सिंगो मानिसको रूपमा बाँच्न नपाउनुको यातना 
भोगिरहेको कुराहरूको उदाहरण बोकेको अर्को कविता छ क्याबिनमा विखण्डन एक क्षण।

संग्रहमा ८२ कविता छन्। एक्लो, जहाजको कालो बाकस, हराउन लाग्यो, समय, स्थिति, कृत्रिम, फूललाई आफ्नो मृत्यु मर्न देऊ, देश १, देश २, अश्वमेघ यज्ञको घोडा, सत्ता र तिमी, बाँचेका छौंलगायत दुई दर्जन कविता कवि शैलेन्द्र साकारको विगतको विरासत बचाउने कविताका रूपमा देखा परेका छन्। २०६० सालमा अमेरिकाबारे लेखिएका फुटकर कविताको सँगालोपछि २०७८ असोजमा देखा परेको अरू सात समुद्रका कविताहरूमा साकारका पुराना कवितामा झैं विसंगति र त्यसप्रतिको घृणा, विरोध र असहमति स्पष्ट रूपमा देखिन्छ।

जहाजको कालो बाकस यौटा बेजोड कविताको रूपमा आएको छ। कविलाई भित्ते लेखन, विज्ञापन लेखन, घोषणापत्र लेखन र नारा लेखनको काममा आउने निम्न तहको टापटिपे सहयोगीका रूपमा हेर्ने राजनीतिक पार्टी र पैसा, सोर्स फोर्स तथा नाम कमाउन नसक्ने नालायक पाजी सम्झने आफन्तका लागि बलियो जवाफ हो यो कविता। कवि वास्तवमा ख्याल गर्ने चिज हैन, कवि त्यति हलुका वस्तु हैन। १८औं शताब्दीसम्म पनि राजदरबारहरूमा कवि किन राखिन्थ्यो भन्ने कुरा यस कविताले पुष्टि गरेको छ। कवि भनेको सर्प राष्ट्रको मणि हो। विडम्बनाको कुरो नेपाली जातिले कविलाई मिल्काउन पर्ने फोहोरको थुप्रोबाहेक केही पनि देख्दैन। पार्टीले त कविको हैसियत नेतालाई पानी ओसार्नेको रूपमा सीमित राखेको छ। ल बाबु यसो गर ! पार्टी भन्छ। वास्तवमा नेता आफैंमा कवि हो। विडम्बना नेपालका सन्दर्भमा यो लागू हुँदैन।

यही विडम्बनाका कारण जन्मिएको देखिन्छ संग्रहको अर्को कविता अपमानित र घाइते। कवि लेख्छन्, शिरीषको फूल भाँचिएन भाँचियो पारिजातको ढाड। पारिजात बिम्ब हुन् चेतनाको, सत्यको, ज्योतिपुञ्जको, नेपालको, क्रान्तिको...। २००७ सालले कवि गोपालप्रसाद रिमालको ढाड भाँच्ने काम गरेको थियो। सिलसिला चालू छ। युद्धप्रसाद मिश्रको नाम जताततै मेटाइएको छ। कविको ढाड भाँच्नुभन्दा ठूलो अराजकता अरू के हुन सक्ला ? अपमानले दिने घाउ आन्दोलनले दिने गोलीभन्दा भयानक हुन्छ। आँसु बग्ने यो पनि अर्को कारण छ।

यहाँ मानिस अनि कविको मात्रै हैन फूलको समेत आँसु बगिरहेको छ। कविता नलेख्नेलाई यो बहुलट्ठी कुरा नै लाग्छ। कवि हृदयलाई मानिसले फूल टिपेर बेच्न लगेको, माला बनाएर स्वार्थ पूरा गरेको दृश्य खसीबाख्रालाई समातेर बली चढाएको भन्दा फरक लाग्दैन। फूल रोएको देख्नु नै कवि हुनु हो पनि: फूललाई आफ्नै प्राकृतिक उष्णतामा हुर्कन देऊ÷फूलको हत्या नगर फूललाई आफ्नै मृत्यु मर्न देऊ।
साकारको यस कविताले बालकृष्ण समको रुख नकाट दाउरे दाइ ती हाम्रा मृत आमा हुन् शीर्षकको मार्मिक कविता याद दिलाउँछ। कवि ढुंगामा पनि प्राण देख्छ। कविलाई बगरको ढुंगा पनि मायालु लाग्छ। कसको के लाग्छ ? घुँडा टेक्नुपर्ने त हो अरूले तर कवि शीर्षकको कविताले कविले चाहिँ घुँडा टेकेर डल्लो परेको यथार्थ ओकलेको छ। यही हो विसंगति। यौटा मात्रै छैन विसंगति— सम्पूर्ण देशवासी पर्खिरहेछ समृद्धि÷त्यो कुन दिशाबाट प्रवेश हुने हो÷त्यही थाहा नपाएर÷नागरिक आन्दोलन जारी छ।

फेरि पनि आँसु नै बग्छ। दिग्भ्रमित दिमाग लिएर आगामी सयौं वर्ष आन्दोलन गरेर बसिरहने लक्षण देखिएको छ नेपालको। १९९० देखि २०७८ सम्मको इतिहासलाई गम्भीर अध्ययन गर्ने हो भने यसको कुनै खास र ठोस राष्ट्रिय संस्कार र संस्कृति देखिन्न। यसलाई आफू हुनुको बोध नै छैन। यसले आफ्नो स्वत्व धेरै मात्रामा गुमाइसकेको देख्न सकिन्छ। आज प्रत्येक नेपालीको मुटुभित्र गुञ्जिरहेको शंका यही हो। मुनाका मदनहरू शीर्षकको कविता यत्तिकै जन्मिएको छैन। यो मुना यौटी स्त्री मात्रै नभएर नेपाल देश पनि हो। जति भने पनि जति कराए पनि विचार हराएकाहरूसित कसैको केही लाग्दैन। नेपाली साँच्चै नै विचार शून्य भइसकेको भान हुन्छ। देशमा १ सय ३० भन्दा धेरै पार्टी छन्। हरेक पार्टीसँग सिंगो जनसंख्याको यौटा समूह सम्पत्तिका रूपमा भाग लागेको छ। ती सब त्राटकमै छन्।

कवि साकारलाई भन्नेहरू ‘अराजक कवि’ भन्छन्। अराजकताले आगो लगाउने, ध्वस्त पार्ने, बिगार्ने, सिध्याउने बाँदर प्रवृत्ति अँगालेको हुन्छ। अराजकहरू निहिलिस्ट हुन्। आतंक र भय फैलाउनु अराजकता हो। यो अराजक प्रवृत्ति न साकारका आजसम्मका कवितामा देखिन्छ न व्यक्तिगत बानी व्यहोरामा। अराजक शब्द जति सस्तो छ प्रयोगमा उति नै महँगो। कुनै पनि कवि अराजकताको पुजारी हुँदैन। हुनै सक्तैन। स्वभावतः अराजकता विरोधी गतिविधि उसको प्रकृति हुन्छ किनकि कवि जीवनको पुजारी हो, अनुशासनयुक्त सभ्यताको उपासक हो। अस्वीकृत आन्दोलन अनुशासनहीन सभ्यताविरुद्ध आवाज थियो, बुट पालिस र सडक कविता क्रान्ति अनुशासनहीन र अराजक शासन सत्ताविरुद्धको कार्य थियो। भो, चाहिएन मात्नेहरूको आगो लेखेर त झन् यिनले सचेत र अनुशासनयुक्त विरोध, विद्रोह तथा क्रान्तिको वकालतमा मानिसलाई दिग्भ्रमित हुनबाट बच्न बौद्धिक खुराक पस्किए। मात्तिएर क्रान्ति हुँदैन बरु त्यसले आफैंलाई निल्छ र हुन लागेको काम पनि बिग्रन्छ। वास्तवमा असली कविताको शक्ति नै यही हो।

संसार सत्ताको पागलपनले मात्रै हैन धार्मिक पागलपनले पनि पीडित छ। सर्पहरू गीत सुन्दैनन्मा पनि धार्मिक पागलपनविरुद्ध रिंगटा शीर्षकको कवितामार्फत चेतनाको स्वर उराल्ने साकारले एकपटक फेरि नयाँ संग्रहमा पनि ‘धर्मान्धहरूका विरुद्ध’मार्फत बढ्दै गएको अराजकताले बाँच्न कठिन भइरहेको चिन्ता व्यक्त गरेका छन्। मान्छेको दिमागबाट विचार हराउन लाग्यो भनेर पनि चिन्तित छन् कवि। चिन्ता र चिन्तनबाट जन्मिएका कविताहरूको नयाँ संग्रह हो, अरू सात समुद्र।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.