'स्वतन्त्रबाट जितेकाले पनि विकासको मोडालिटीमा परिवर्तन ल्याउन सक्छ'

'स्वतन्त्रबाट जितेकाले पनि विकासको मोडालिटीमा परिवर्तन ल्याउन सक्छ'

महोत्तरी : स्वतन्त्र उम्मेदवारी दिएर बर्दिबास नगरपालिका प्रमुख बनेका छन् प्रल्हाद कुमार क्षेत्री। बर्दिबासमा पछिल्लो समय रेल्वेदेखि मेडिकल कलेजसम्मका विषयले चर्चा हुने गर्छ। यहाँ किसानका समस्या र नदी उत्खननका विषय त्यतिकै जटिल बन्दै गएका छन्। तिनै निर्वाचित मेयर प्रल्हाद कुमार क्षेत्रीसँग अन्नपूर्णकर्मी धनवीर महतोले गरेको कुराकानीकव सम्पादित अंश।

स्वतन्त्र उम्मेदवारी दिएर बर्दिबासको मेयर पदमा निर्वाचित हुनुभयो। यो कसरी सम्भव भयो?

सर्वप्रथम त म सम्पूर्ण बर्दिबासबासीलाई धन्यवाद दिन चाहन्छु। ओहो मेरो सौभाग्य। म बर्दिबासकै जनमतले मेयरजस्तो पदमा आसन्न भएको छु। सबैको शुभेच्छाअनुसारको विकास गर्नका लागि मैले सुअवसर पाएको छु। हुन त म यसभन्दा अगाडि नेपाली कांग्रेसकोतर्फबाट बर्दिबासको सेवा गर्न चाहन्थे। त्यस समयमा मेरो पक्षमा जनमत प्राप्त भएन। यस चुनावमा म स्वतन्त्रबाट उम्मेदवार बनेपछि जनमत मेरो पक्षमा आएछ। पछिल्लो समयमा आएर पार्टीका शीर्ष नेतृत्वको कारण मैले टिकट पाउन सकिनँ। अनि मलाई स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्नुपर्ने बाध्यता थियो। मैले चुनावी मैदानमा रहँदा अनेकौपक्ष मेरो विरुद्धमा खडा भयो। तर म पनि बर्दिबासबासीको जनमतको कारण यसपटक सफलता हासिल गर्न सफल भएँ।

पदभार ग्रहणकै क्रममा पूर्वमेयर चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गर्नुभयो। कार्यपालिका बैठक नै नबसी गरेको निर्णय विवादित बन्न सक्छन् नि?

मैले आमजनताको समस्या बुझेर यस्तो निर्णय लिएको हुँ। अहिले बर्दिबासमा यस्तो दुर्गम बस्ती छ, जहाँ स्वास्थ्य र शिक्षाको लागि धेरै नै समस्या छ। पछिल्लो समयमा ती क्षेत्रमा मैले अनुगमनमा जाँदा त्यहाँ अनेकौं समस्या देखा पर्‍यो। जुन मेरो मस्तिष्कमा अमिट छाप परेकोमध्ये एक थियो। ती बस्तीमा एम्बुलेन्सको आवश्यकता। म निर्वाचित भएलगतै ती कार्य गरे, जसमा त्यस भेगमा आम नागरिकको जीवनको सबाल छ। मैले नगरप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको प्रारुप दिएको हुँ। मैले सो घोषणा गर्ने क्रममा पालिकाका हरेक जनप्रतिनिधि साक्षीको रुपमा रहेको छ। म आफ्नै गाडी चढ्छु। नगरप्रमुखको लागि खरिद गरिएको गाडीलाई दुर्गम भेगका नागरिकको स्वास्थ्यको दृष्टिकोणमा राख्दै एम्बुलेन्स बनाइदिएको छु। नगरपालिका यस कार्यमा जुटेका छन्, केहीदिनमै ती वस्तीमा हस्तान्तरण हुनेछ। 

तपाइँले उम्मेदवारी दिँदै गर्दा निर्वाचित भएको २४ घण्टाभित्र नदी उत्खन्न कार्य बन्द गर्ने कडा घोषणा गर्नुभएको थियो नि?

हो, मेरो घोषणापत्रमा उल्लेख भएको बुँदामध्ये यो पनि प्राथमिकताको विषयमा परेको थियो। अहिले यो विषय मिडियामा चर्चाको विषय बन्दै गएको छ। हरेक सञ्चारकर्मीले मसँग भेट हुँदा यो विषयवस्तुमा चर्चा गरेकै हुन्छ। मैले निर्वाचित भएर पदभार ग्रहण गरेपश्चात् यसतर्फ गम्भीरपूर्वक लागेर अवैध नदी उत्खन्न बन्द गर्ने कार्यमा तत्लीन रहेको छु। म अध्ययन गर्दैछु। नीति-नियम अनि विज्ञहरुको परामर्शअनुसार बर्दिबासक्षेत्रको अवैध नदी उत्खन्न कार्य बन्द गरिनेछु। अब राष्ट्रपति चुरे संरक्षण कार्यालयको कर्मचारीहरुसँग छलफल गरेर यहाँ सञ्चालित अवैध त्यस्ता गतिविधिलाई कानुन अनुसारको कारबाही प्रक्रिया अगाडि बढाउनेछु। यसमा कसैलाई पनि छुट हुनेछैन। नीति-नियम बाहेक रहेका हरेकलाई कानुनीको दायरामा ल्याउने छु।

बर्दिबास मुलुककै चर्चित गन्तव्यको रुपमा परिचित छ। नमुना सहर बनाउनका लागि यहाँको भूमिका कस्तो रहला?

निश्चितरुपमा पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बर्दिबास चोक देशमै परिचित ठाँउ छ। मेरो भाग्य म यस्ता क्षेत्रको पालिकाको प्रमुख पदमा रहेर विकास गर्ने अवसर पाएको छु। म यो सहरलाई ग्रीन सिटी एण्ड क्लिन सिटी बनाउनका लागि हरसम्भव प्रयासरत रहने छु। बर्दिबासलाई देशकै नमुना सहरको रुपमा विकसित गर्नेछु। बर्दिबासलाई आर्थिक, शैक्षिक, स्वास्थ्यलगायत चौतर्फी विकासको हितमा कार्यसम्पादन गर्नेछु। म आफ्नो कार्यकालमा यस पालिकालाई हरेक दृष्टिकोणबाट जनमैत्री बनाउने प्रयासरत रहनेछु।

नगरपालिकाको तल्लो भेग अर्थात् पशुपतिनगर, किसानगर, प्रेमनगर क्षेत्रमा नगरको विकासको दृष्टिकोण पर्न नसकेको स्थानीयको गुनासो छ?

ती स्थानहरुको हकमा क्रमिकरुपमा विकास हुने क्रम जारी छ। पहिलो कार्यकालको क्रममा ती भेगका नागरिकले अनुभव गर्न नसकेको विकासको गतिविधिमा मेरो कार्यकालमा प्राथामिकतामा पर्नेछ। मैले त्यहाँका जनताहरुको इच्छाअनुसारको विकासको गतिविधि सञ्चालन गर्नका लागि निम्ति ती क्षेत्रका जनप्रतिनिधिलाई आग्रह गर्न चाहन्छु कि दलगत राजनितीक स्वार्थभन्दा माथि उठेर जनमैत्री विकासको लागि पहलकदमी गरियोस्। ती क्षेत्रका आम नागरिकको साझा समस्याको रुपमा सडक, सिँचाई, कृषि विद्युतीकरण, बजारीकरण रहेको छ। ती क्षेत्रको आमनागरिकलाई पायक पर्ने स्थानमा कोल्डस्टोर्स निर्माण गर्नेछु। मेरो पालिकाको प्राविधिक टोली ती क्षेत्रमा खटिने छ। जहाँ जनताले समस्या पोख्नेछ।

यहाँका कृषकहरु अनेकौं समस्याले ग्रसित छन्। ती समस्याको समाधान कसरी गर्नुहुन्छ?

बर्दिबास नगरपालिका कृषिमा आधारित पालिका छ। खेतीपाती र पशुपालनबाट किसानहरु आम्दानी गर्दै आएका छन्। ती किसानहरु विभिन्न समस्याबाट ग्रसित रहेको अनुभव मैले नजिकैबाट नियालेको छु। मलखाद्यको अभाव, विउविजन समयमा उपलब्ध हुन नसक्नुजस्ता समस्याको कारण किसानहरु पीडित रहँदै आएका छन्। समयसापेक्ष रुपमा कृषिक्षेत्रमा विकसित गर्नका लागि एक गाँउ, एक उत्पादन ल्याउनेछु। जसको लागि विज्ञ एवं प्राविधिक टोलीलाई किसानको समस्या बुझनका लागि पठाएर समाधानको उपाय निकाल्ने छु। उपयुक्त स्थानमा कृषि वजार अनि कोल्ड स्टोर्सको निर्माण म आफ्नै पालामा निर्माण गर्नेछु। आधुनिकप्रविधीयुक्त औजार, मेसनरी, मलखाद्य, विउ विजन, सिँचाइको निम्ति नगरपालिकाको कृषि शाखा तत्पर रहने छ। म विश्वास दिलाउन चाहन्छु कि मेरै पालामा बर्दिबास पालिकामा कृषिक्षेत्रले प्रगतिपथमा अवश्य नै लम्किने छ। नगरले किसानको समस्या समाधानको लागि कुनै पनि कसर वाँकी राख्दैन।

बर्दिबासको बहुप्रतिक्षित रेल्वे सेवा र मेडिकल कलेज अलपत्र अवस्थामा छ। यसमा के पहल गर्नुहुन्छ?

म भाषणमार्फत् जनतासमक्ष झुठो आश्वासन बाँड्न चाहन्न्। म भाषणभन्दा बढी काममा ध्यान दिने छु। म स्वतन्त्रबाट निर्वाचित भएकाले दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नेछु यसमा शंका गर्नुपर्ने त्यस्तो कुनै आधार नै छैन। बार्दिबासबासीको लामो प्रतिक्षाको विषयमा रेल्वे सेवा अनि मेडिकल कलेज रहेको छ। १५ वर्ष अगाडि घोषित रेल्वेको मुआव्जाको रकम संशोधन गर्नुपर्ने आवश्यक छ। ती विवादित मुद्दा मुआब्जाको सम्बन्धमा म चाँडै नै सरोकारवाला निकायसमक्ष छलफल गर्नेछु। त्यसलाई सुक्ष्मरुपमा सम्बोधन गर्ने किसिमले पहलकदमी गर्नेछु। जग्गाको पुरानो मुआब्जालाई संशोधन गर्नुपर्ने आवश्यक छ। यहाँको सिडिओ साहेब, जग्गाधनी, रेल्वेको प्रतिनिधिलगायतका सरोकारवाला निकायसमक्ष छलफल गरेर यस विषयको निष्कर्ष निकालेर बर्दिवाबासमा रेल्वे सञ्चालन गर्नका लागि हरसम्भव प्रयासरत गर्नेछु।

अन्त्यमा के भन्न चाहनुहुन्छ?

म हरेक सरोकारवाला निकायसँग छलफल गरी बर्दिबासको चौतर्फी विकासका निम्ति तत्पर छु। जनतासँग कुनै समस्या वा गुनासो भए मलाई प्रत्यक्ष भेटेर वा समाजिक सञ्जालमार्फत् ती पठाउन सकिने छ। म ती समस्या सम्बोधन हुने किसिमले प्रत्यन गर्नेछु। आम समुदायले पनि बर्दिबास विकासको निम्ति दलगतस्वार्थभन्दा माथि उठेर सहयोग गरिदिनहुनका लागि सबैसमक्ष आग्रह गर्न चाहन्छु। स्वतन्त्रबाट विजयी हुनेले पनि विकासको मोडालिटीमा परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरणलाई म सार्थक तुल्याउन चाहन्छु।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.