नाक थुनाउने सहर

नाक थुनाउने सहर

सहरभरि रूख बिरुवा रोपेर हरियाली होस्। बाटोघाटो सफासुग्घर होस्। फोहोर तथा ढल निकासको उचित व्यवस्था होस्। सहरमा थुप्रिएका फोहोरबाट अर्गानिक मल बनाउने प्रविधिको प्रयोग होस्। चोकचोक र नदी किनारमा पार्क बनोस्। हरेक सहरबासीको सपना हो, यो। तर, काठमाडौंबासीले देखेको यो सपना पूरा हुने कुनै छाँटकाँट देखिएको छैन। उपत्यकाको हरेक घरछेउमा फोहोरको डङ्गुर थुप्रिएको छ। महिनौंदेखि सडकको फोहोर उठ्न सकेको छैन। जताततै फोहोरका डङ्गुर थुप्रिएको छ। फोहोरका दुर्गन्धले राजधानीबासी नाक थुनेर हिँड्न बाध्य छन्। हरेक दलको चुनावी नारामा फोहोर व्यवस्थापन समेटिएको हुन्छ। सफा र स्वच्छ काठमाडौं सहरको नारा हरेक चुनावमा राजनीतिक दलका नारामै सीमित हुन्छन्। त्यही कारण राजधानीबासी वर्षौंदेखि फोहोरको दुर्गन्धमा बाँच्न बाध्य छन्। फोहोरले दुर्गन्ध मात्रै होइन, अनेक सरुवा रोग निम्तिने डर पनि उत्तिकै हुन्छ। 

स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। स्वतन्त्र उम्मेदवार बालेन्द्र साह काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन्। पदभारग्रहण गरेकै दिन साह नुवाकोटको सिसडोलस्थित डम्पिङ साइड पुगे। उनी त्यहाँ पुगेपछि फोहोर नउठ्ने समस्या हल हुन्छ भन्नेमा सबै विश्वस्त थिए। तर, विभिन्न माग राख्दै आन्दोलन गरेका स्थानीयबासीले फोहोर बोकेका गाडी जान दिएका छैनन्। स्थाीयबासी आन्दोलनमा उत्रिएका छन्। 

शुक्रबार पनि नगर प्रमुख साह र उपप्रमुख सुनिता डंगोलको टोली सिसडोल पुगे। उनीहरूले स्थानीयसँग छलफल र अन्तक्र्रिया गर्दै समस्या समाधान गर्ने कोसिस गरे। तर, वार्ता टुंगोमा पुग्न सकेको छैन। 

फोहोरको कारण दुर्गन्ध फैलिएको गुनासोेपछि साहले तत्कालका लागि केमिकल हालेर गन्ध हटाउने आश्वासन दिएका छन्। दीर्घकालीन समाधानका लागि केही समय लाग्ने भएकाले स्थानीयले सहयोग गर्नुपर्नेमा जोड दिए। सहरवासीले कुहिने र नकुहिने फोहोर अनिवार्य रूपमा छुट्याउने नियम पनि लागू गरिने उनले जानकारी दिए। 

ककनी गाउँपालिका–३ का अध्यक्ष घननाथ बजगाईंको नेतृत्वमा सडकमा उत्रिएका स्थानीयले महानगर प्रमुखसँग सिसडोल र बन्चेरेडाँडा ल्यान्डफिल्डले गर्दा स्थानीयलाई निकै समस्या परेको बताएका थिए। उनीहरूले स्थानीयको स्वास्थ्य बिमा, शिक्षा, रोजगार, सडक निर्माण तथा जग्गा अधिग्रहणका विषय उठाउँदै आन्दोलन गरेका छन्। फोहोरको दीर्घकालीन व्यवस्थापनका सवालमा राज्यले कहिल्यै पनि पहल नगरेको गुनासो स्थानीयको छ। 

कहिले ल्यान्डफिड नजिकका स्थानीयको अवरोध, कहिले डम्पिङ साइट भरिने समस्या, कहिले बर्खाका कारण फोहोर बोकेका गाडी डम्पिङ साइट जान नसक्ने अवस्था। कारण जेसुकै भए पनि देशको राजधानी फोहोरमय बनेको छ। चोकचोक, गल्लीगल्ली र बाटा चौबाटा फोहोरले ढाकिएको छ। 

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार फोहोरलाई वर्र्गीकरण गरेर मात्रै संकलन र व्यवस्थापन गर्न आवश्यक छ। घरेलु, अस्पतालजन्य, औद्योगिक, प्लाटिकजन्य र सिसाजन्य फोहोरलाई एकै ठाउँमा संकलन गर्दा थुप्रै समस्या निम्तिन सक्छन्। 

घरबाट निस्कने कुहिने फोहोर धेरै हुने भएकाले यस्ता फोहोर घरमा नै संकलन गरी अर्गानिक मल बनाएमा फोहोरको मात्रा कम हुने र व्यवस्थापन गर्न पनि सहज हुने उनी बताउँछन्। काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार उपत्यकामा हरेक दिन १२ सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ। यसमा ५० प्रतिशत काठमाडौं महानगरपालिकाभित्रको छ भने ५० प्रतिशत उपत्यकाका अरू नगरपालिकाको फोहोर संकलन हुन्छ। फोहोर व्यवस्थापनका लागि स्थायी ल्यान्डफिड नबन्दा फोहोर व्यवस्थापनमा समस्या भइरहेको उनले जानकारी दिइन्। 

उपत्यकाको फोहोर महानगरपालिकाले नुवाकोटको सिसडोल ल्यान्डफिड साइडमा पठाउँदै आएको छ। फोहोर फाल्नका लागि सन् २००५ मा तीन वर्षका लागि सम्झौता भएको थियो। सम्झौता सकिएको १४ वर्षसम्म पनि सिसडोलमै फोहोर पठाइँदै आएको छ। फोहोरको डङ्गुरले सिसडोल भरिएर पहाड नै बनेको छ। पानी परेको समयमा फोहोर बोकेका गाडीहरू फोहोरको पहाड उक्लनै सक्दैनन्। यसले पनि उपत्यकाको नियमित फोहोर उठ्न सकेको छैन।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.