कृत्रिम ताल, मालामाल
मधेसमा चुरे दोहनका कारण वातावरण प्रदूषण र खोलानाला सुक्ने क्रम दिन प्रतिदिन बढिरहेको छ। कतिपय ठाउँ बाढीले कटान गर्दा जमिन बगरमा परिणत भएका छन् । कतिपय ठाउँमा बाँझोको समस्या छ। त्यस्तै, पानीका मुहान सुक्ने समस्या त झन् जग जाहेरै छ। यस्तो अवस्थामा सुक्खा तथा बाँझो जमिनमा ताल तथा रिचार्ज पोखरी बनाउन सके वातावरणीय सन्तुलन कायम गर्न सकिने देखिन्छ। यसको उदाहरण हो, सर्लाहीको बागमती नगरपालिका–४ र १२ मा फैलिएको भरत ताल।
बगर खन्दै जाँदा अन्ततः त्यो तालमा परिणत भएको छ। खुसी लाग्छ। बाँझो र बागमती नदीको बगरको रूपमा रहेको खाली जमिनलाई पर्यटकीय क्षेत्र बनाएका छौं। यसका लागि सबै खाले अनुसन्धान गरेर ताल बनाउने काम गरिएको हो।
भरतकुमार थापा,
पूर्व–पश्चिम लोकमार्गबाट ३ किलो मिटर दक्षिणमा अवस्थित उक्त ताल १०१ बिघा जमिनमा फैलिएको छ। र, २० बिघामा त्यसको चारैतिरबाट कालोपत्रे सडकसमेत निर्माण गरिएको छ। बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले वि.सं. २०७६ देखि ‘बागमती माछा पोखरी’ भनेर बाँझो जमिनमा खन्न खुरु गरेका थिए। ‘खन्दै जाँदा अन्ततः त्यो तालमा परिणत भएको छ। खुशी लाग्छ,’ उनले भने, ‘बाँझो र बागमती नदीको बगरको रूपमा रहेको खाली जमिनलाई पर्यटकीय क्षेत्र बनाएका छौं। सबै खाले अनुसन्धान गरेर ताल बनाउने काम गरिएको हो।’ संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको बजेटबाट ताल बनाउने काम भइरहेको थापाले बताए।
त्यस्तै, बाँझो जमिनमा ताल बनाएर ठूलो काम गरेको बागमती नगरपालिका–८ सोल्टी बजारका स्थानीय प्रदीप कुशवाहाले बताए। उनका अनुसार तालबाट निस्केको पानीबाट वरपरका किसानले पनि सिँचाइको सुविधा पाएका छन्। पहिले–पहिले गर्मी याममा गाउँमा इनारको पानी सुकेर जाने गथ्र्यो। अहिले सुक्दैन। ताल नहुदाँ इनार पनि गहिरो खन्न पथ्र्यो। अहिले त केही फिट खन्दा पानी आउँछ।
चुरे पर्वतको फेदी र सधैं बगिरहने बागमती नदीको किनारमा अवस्थित भरत ताल अहिले जिल्लाको मात्रै नभई मधेस प्रदेश कै पहिचानको रूपमा स्थापित भएको छ। प्रकृतिको काखमा अवस्थित मानव निर्मित ताल छट्ट हेर्दा समुन्द्रको अनुभूति दिलाउने गरेको छ। त्यति मात्रै होइन वातावरण हराभरा बनाउन त्यसको वरिपरि बगैंचासमेत निर्माण गरिएको छ। यसले पर्यटकहरूको मन झनै लोभ्याउने गरेको छ।
पहिलो कार्यकालमा निर्वाचित भएपछि ताल घुम्नका लागि पोखरा गएका थियौं। यसपटक आफ्नो जिल्ला छेउको त्यस्तै आनन्द दिने भरत ताल घुम्न आउन पाउँदा निकै खुसी लागेको छ।
दीपिया देवी,
यमुनामाई नगरपालिका–४ वडा सदस्य
तालमा बोटिङ गर्ने रहर बनाएका सर्लाही आसपास तथा सीमावर्ती भारतीय पर्यटकहरूका लागि भरत निकै राम्रो गन्तव्य बनेको छ। सर्लाही आसपासका जिल्ला तथा भारतका बिहार प्रान्तका सयौं पर्यटकहरू बिदा मनाउन बागमती आउने गरेको बताउँछन् स्थानीय। ‘लेकसाइडको अनुभूति दिने भरत ताल बनेपछि पर्यटकहरू रमाएर जाने गरेका छन्,’ स्थानीय भन्छन्, ‘हावाको बेगसँगै छल्किने तालको पानी, नजिकैबाट देखिने हरिया चुरे पर्वत र तालको छेउ भएर निरन्तर कलकल आवाजले पर्यटक रमाउँछन्। बिहान र बेलुका टिकटक बनाउने, फोटो खिचाउनेहरूको ठूलो जमात आउने गरेको छ।’
औपचारिक रूपमा बागमती नगरले ‘बागमती माछा पोखरी’ नामाकरण गरे पनि मेयर थापाको नेतृत्वमा पोखरी बनाउने काम भएकाले स्थानीयवासी तथा घुम्ने आउने पर्यटकले ‘भरत ताल’ भनेर नामाकरण गरेका छन्। जुन प्रख्यात छ।
सामाजिक सन्जालमा भरत ताल कै नामले प्रचारप्रसार भएको छ। ताल बनेपछि आर्थिक समृद्धिका साथसाथै बागमती नगरपालिका, सर्लाही जिल्लासहित मधेस प्रदेशकै नाम देशभर मात्र नभएर भारतमा समेत ख्याति पाएको थापाको ठम्याइ छ। तालमा अहिले आन्तरिकदेखि बाह्य पर्यटकसमेत आउने गरेका छन्। पर्यटकलाई सेवासुविधा दिन डुंगासहित होटलको व्यवस्थासमेत गरिएको छ। वाटरफ्लाइलगायतका काम भइरहेको छ। पर्यटकलाई सेवासुविधा दिन तालकै बीचमा सुबिधा सम्पन्न होटल निर्माणाधीन अवस्थामा छ।
पानीको कमी हुन नदिन पानी हाल्ने र निकाल्ने सुली गेटसमेत बनाइएको छ। यसले गर्दा तालको पानी फोहोर र दुर्गन्धित हुन पाउँदैन। त्यस्तै, तालको दक्षिण र पश्चिम भागमा ९० बिघा बाँझो जमिनमा बगैंचा बनाउने काम भइरहेको छ। आँप, लिच्चीलगायतका बिरुवासमेत रोपिएका छन्। यसले जमिनलाई हरियाली बनाउनुका साथै स्वच्छ बनाउन मदत गर्ने थापाले बताए। यहाँका स्थानीय युवा डुंगा चलाउनेदेखि अन्य व्यवसायमा पनि लाग्ने मौका पाएका छन्।
नगरपालिकाको आम्दानीको स्रोत बनाउनका लागि माछा पोखरीको योजना बनाएर काम गरेका थियौं। आज करौंडौ आम्दानी दिने ताल बनेको छ। तालबाट निकालिएका बालुवा गिट्टी बेचेर पनि नगरपालिकालाई आम्दानी भएको छ। ताल बनेपछि बागमती नगरले पहिचानसहितको समृद्धि पाएको छ।
स्वच्छ वातावरणमा बोटिङको मज्जा
पर्यटकलाई आन्नदित पार्न तालमा अहिले २६ वटा इलेक्ट्रोनिक्स बोट राखिएका छन्। जसमध्ये २५ वटा सञ्चालनमा रहेको बोटिङ टिकट काउन्टरका सरोज श्रेष्ठले बताए। उनका अनुसार स्वच्छ वातारणमा आन्तरिक तथा बाह्य पर्यटक बोटिङ गर्न पाउँदा निकै आनन्दित देखिन्छन्। ‘तालमा भीएसएलको एउटा ठूलो बोट र २५ वटा स्ट्रिम बोट छ। जसबाट दैनिक लाखौं आम्दानी हुने गरेको छ,’ श्रेष्ठले भने, ‘बिदाको दिनमा राम्रो कमाइ हुन्छ। अन्य दिनमा १ लाखसम्मको टिकट बिक्री हुन्छ।’
सानो स्ट्रिम बोटमा एक जनाको शुल्क ३ सय छ। ठूलो बोट तिन तले छ। सबभन्दा तल्लो तलाको ३ सय, बीचका ५ सय र माथिल्लो तलाको १ हजार रुपैयाँ शुल्क लाग्ने उनको भनाइ छ।
स्थानीय युवालाई रोजगार
कतारमा वैदेशिक रोजगारी गर्दै आएका बागमती–४ का पृथ्वी मोक्तान अहिले होटल सञ्चालन गरेर राम्रो कमाइ गर्न थालेका छन्। उनले दैनिक हजारौं आम्दानी गर्छन्। ‘ताल बनेपछि होटल सञ्चालन गर्न पाएँ। एक वर्ष भयो पसल थापेको । होटलको कमाइबाट घर खर्च र छोराछोरीलाई पढाउन पुगेको छ। म विदेश पनि जादिनँ,’ उनले भने।
त्यस्तै, ताल बनेपछि स्थानीय युवा सन्तोषकुमार एस्माली बोट चलाउने काम पाएका छन्। कृषि कार्यबाट काम गर्दा त्यतिकै घरमा बस्ने कम हुन्थ्यो भने अहिले सधैं काम हुन्छ। उनी महिनामा २५ हजार बढीको बोट चलाउँछन्।
मनोरन्जन आफ्नै ठाउँमा
जिल्ला छेउमै ताल बनेपछि मनोरन्जनका लागि अन्त टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय बताउँछन्। रौतहटको यमुनामाई नगरपालिका–४ बाट वडा सदस्यमा निर्वाचित बनेकी ५५ वर्षीया दीपिया देवीले भनिन्, ‘पहिलो कार्यकालमा निर्वाचित भएपछि ताल घुम्नका लागि पोखरा गएका थियौं। यसपटक आफ्नो जिल्ला छेउमै घुम्न आउन पाउँदा निकै खुसी लागेको छ।’
त्यस्तै, बाराको सिमराबाट घुम्न आएका चन्देश्वर चौधरीले ताल घुम्ने रहरलाई भरत तालले पूरा गरेको बताए। ‘दोस्रोपटक घुम्न आएको छु। पहिलोपटक एक्लै आएको थिएँ। यसपालि झापाबाट आउनु भएका दाइ–भाउजूलाई पनि ल्याएको छु,’ चौधरीले भने, ‘यहाँ आएपछि रमाइलो गर्न पाएको महसुस हुन्छ। आउने जाने बाटो पनि राम्रो छ।’ अन्य ठाउँमा जाँदा समय र पैसा बढी खर्च हुने तर यहाँ आउँदा समय र पैसाको पनि बचत हुने उनको भनाइ छ।