दलित सबाल्टर्नमा बुद्धिजीवी

दलित सबाल्टर्नमा बुद्धिजीवी

जो सधैं अधीनस्थ, पराधीन, पराश्रित, सदियौंदेखि शासित र अत्यधिक श्रम गरेर जीवन निर्वाह गरिरहेका सीमान्तकृत मान्छेहरू छन्, ती वर्ग नै हाम्रो सन्दर्भमा सबाल्टर्न हुन्। इटालीका नव माक्र्सवादी सांस्कृतिक विश्लेषक, चिन्तक आन्तोनियो ग्राम्सी भन्छन्, शासकहरूबाट शासित भइरहन तयार भएको अवस्था हेजेमोनी हो। यसका अनेक प्रकार र स्वरूप निर्माण भएका हुन्छन्। जसमा सांस्कृतिक, सामाजिक, रणनीतिक, राजनीतिक, आर्थिक र बौद्धिकलगायत छन्। प्रभुत्वशाली वर्ग शासक र तिनका बौद्धिक मतियारले विभिन्न वैचारिकी निर्माण गर्छन्। त्यो वैचारिकी हैकमवादी सत्ता, शक्तिको केन्द्र, धर्मको संस्थापन पक्ष र संस्कृतिलाई टेवा पुर्‍याउने बन्छ। त्यही संस्कार र संस्कृतिमा आफूलाई अन्तरघुलित गरेर आफ्नो शोषण दमन तिरस्कार र बहिष्कार गरेको थाहा नै नहुने सामाजिक संरचना, सांस्कृतिक प्रभुत्व निर्माण गरिन्छ। र, अधीनस्थ वर्ग अर्थात् (सबाल्टर्न) समुदायलाई आफैंमा समाहित गर्नु सन्निकट राख्नु वर्चस्वशाली सत्ताको सीमा र चरित्र हो।

आफैं शासन गर्न सक्दिनँ भन्ने मनोविज्ञान निर्माण गरेर चेतना माथि कब्जा गर्नु र शासित हुन तयार छु भन्ने भाष्य निर्माण गरिन्छ। यसरी देशमा प्रभुत्व स्थापित गर्नु हैकमवादी सत्ताको विशेषता देखिएको छ। फलतः कानुनमा जे भए पनि व्यवहार र समाजले आफ्नो कानुन लगाएर शासन गर्छ जुन दलित समुदायमा नेपाल, भारत, भुटानलगायत देशमा गरिँदै आएको छ। किनारामा परेका वा पारिएका, सीमान्तकृत, शक्तिहीन, सामथ्र्यहीन, इतिहासहीन, स्थानहीन र अधिकारविहीन वर्ग नै दलित (सबाल्टर्न) हुन्। सामाजिक हैसियत र कुनै महत्त्वपूर्ण भूमिका नभएका, आधारभूत रूपमा एउटा मान्छेको दर्जाभन्दा तल राखिएका मान्छेहरू आज पनि न्याय र समताको लागि तड्पिरहेको छ। हजारौं वर्षको पीडा र दुःखले निर्ममतापूर्वक कुल्चिएको उपेक्षित वर्ग र हेपिएको समुदायको अवस्था पनि उही छ। त्यो वर्गको दुःखमा द्रवित नहुने पीडामा नदुख्ने समुदाय हो कथित बुद्धिजीवी वर्ग जसले आफ्नो मानोभन्दा पर सोच्न सकिरहेको छैन।

सीमित स्वार्थको बार नाघेर बृहत्तर राष्ट्रिय सामाजिक मुद्दामा बोल्न थालेको छैन। गत २०७७ जेठ १० गते रुकुमको भेरी नदीमा भएको भयानक जातीय नरसंहारमा देशका बुद्धिजीवी जसरी देश जुरुक्कै उचाल्ने गरेर गर्जिनु पथ्र्यो त्यसो गरेन। रुकुमको भेरीमा बगेको रगत जातीय नरसंहारको मुटु चुँडाउने मनमस्तिष्क हल्लाउने संरचनात्मक असंवेदनशीलताको द्योतक हो। जुन घटना भएको दुई वर्ष भयो त्यसपश्चात् पनि सामाजिक विभेद अपमान अत्याचार हुन कमी भएको छैन। तीन महिनाअघि रामेछापमा एक यस्ता घटना र दुर्घटना जो अति अमानवीय छ। मानव मस्तिष्कको गलत उपज छ यसबारे मौनता किन ? निधारमा कलंक बोकेर कति दिन बस्छ हाम्रो मानव सभ्यता ? मानवाधिकार उल्लंघन जस्तो गम्भीर विषयमा कति साक्षी बस्नु ?

निम्न जातका भनिएकाहरू मान्छेले पाउने सम्मान र मर्यादाको हकदार बन्न सकेका छैनन्। जातलाई शक्तिको आधार स्वीकार गरेको सामाजिक संरचनाले कथित अछूतलाई मानसिक रूपमा नै कमजोर बनाउने विभिन्न सामाजिक संरचना निर्माण गरेको छ। जातीय विभेदमा आधारित समाजका दृष्टिमा निम्न जातको परिचय नै मान्छेको रूपमा स्थापित हुन सक्दैन। सचेत बन्नै नदिएर दास मानसिकताले युक्त सीमान्तकृत जातिको उत्पादन गर्दछ। विस्तारै सुस्तसुस्त धकेल्दै सीमान्तीय बनाइदिन्छ। प्रसिद्ध समाजशास्त्रीय चिन्तक लुसियाँ गोल्डमानले भने झैं प्रभुत्वशाली वर्गले ‘मान्छेको वस्तुकरण गरेर, यान्त्रिक परिचालन मात्रै गरेर उसको सिर्जनात्मक क्षमता ह्रास बनाएर परतन्त्र स्वीकार गर्न राजी बनाउँछ।’ जात र लिंगलाई नै शक्ति र सत्ताको केन्द्र बनाउने समाजले आफू भोकभोकै बसेर पनि अरूको सेवामा तल्लीन बनाउन दलितलाई सदियौंदेखि उपयोग गरेको छ।

यस्तो देख्दा पनि तिनको अधिकार र इज्जत सामाजिक हैसियत निर्माण गर्न चुइँक्क नबोल्ने मानवाधिकारवादीको बिल्ला भिरेर हिँडेका छन्। कथित बुद्धिजीवी जो छन् तिनको धरातल र संस्कृति दमन र उत्पीडन कै हो। तसर्थ उत्पीडितका लागि बोल्न सकस र दकस नै मान्छन्। सामाजिक रूपमा चिनिएका प्रतिष्ठा आर्जन गरेका राज्यसँग आँखा जुधाएर बोल्न सक्ने कुनै पनि बुद्धिजीवी दलितको दलनमा खुला हृदयले बोल्न सकेका देखिँदैनन्। युगसापेक्ष र समयको प्रवाहलाई आफ्नो चेतमा राख्न नसक्ने बुद्धिजीवी केवल कसैको भरिया र स्वार्थको गोटी र दलाल मात्रै हुन् भन्दा अत्युक्ति हुँदैन सायद। स्थानीय निकायको निर्वाचन २०७९ मा दलहरूको घोषणापत्रमा समेत जातीय छुवाछूतलाई विशेष रूपमा हल गर्ने प्रतीज्ञापत्र नआउनु र त्यसतर्फ दलहरूलाई प्रेरित नगर्नु बुद्धिजीवीहरूको नालायकी र असंवेदनशीलताको अर्को उदाहरण हो।

आजको आवश्यकता

अर्गानिक बुद्धिजीवीले व्यापक मानव हित र अधिकारबारे सोच्ने बोल्ने र प्रभुत्वशाली वर्गलाई सबाल्टर्नसँग मिलेर तनाव र दबाब सिर्जना गर्नुपर्छ। देशलाई खाँचो त्यस्तै जैविक बुद्धिजीवी, प्राज्ञ, लेखक, पत्रकार, वकिल, अभियन्ता, कलाकार, साहित्यकारको हो। जसले संस्कृति निर्माण र परिवर्तनमा अहम् भूमिका निर्वाह गर्न सक्छन्। जसको बोली सुन्न राज्य बाध्य हुन्छ। तत्कालीन जातिवादी र प्रभुत्वशाली संस्कृतिले बनाएको सामाजिक र मानसिक संरचनाले हेमोनाइज्जड भएर स्वीकार गर्न बाध्य हुन्छन् गरिब विपन्न महिला जनजाति र दलितहरू। किनभने सम्भ्रान्त वर्ग, धर्म कहिल्यै सत्ताहीन भएको छैन। यो निरन्तरताका लागि उसले आफू अनुकूल नीति, नैतिकता धर्म संस्कृति, परम्परा, दर्शन नियम, आस्था, मूल्य, कानुन आदिलाई परिभाषित गरेका छन्।

विशेषगरी दलितलाई न्यूनतम मानवीय व्यवहारबाट समेत वञ्चित गरिन्छ। जसको जनसंख्या मुलुकमा १४ प्रतिशतको हाराहारी छ। आजको यो विज्ञान र प्रविधिको जमानामा कति निकृष्ट समाजमा बसिरहेका छौं ? कथित उच्च जात सत्ता र शक्तिमा बस्नेले आफ्नो अनुहार हेर्नु पर्दैन ? पक्कै अनुहार हेर्‍यो भने हिलो मैलो र फोहोर लागेको पाइन्छ। थुप्रै असभ्य बर्बर र अमानव हुनुको संज्ञा आफ्नै अन्तरचेतनामा संवेदनाशून्य पाषण हृदय भएको मान्छे र जातको रूपमा मान्छेले आफंैलाई पाउँछ। पक्कै पाउँछ। तसर्थ त्यो अवगाल र विगतदेखि आफ्ना पिता पुर्खाले सामाजिक व्यवहारको रूपमा गर्दै आएको जातीय छुवाछूत जस्तो सामाजिक र कानुनी अपराध, मानवाधिकारको उल्लंघन र असभ्य मान्छेको संस्कृति, रीत परिवर्तन गर्न बौद्धिक र प्राज्ञिक समुदायले आफ्नो कर्तव्य, धर्म पालना गर्नुपर्छ। समाजप्रतिको योगदान सम्झेर लेख्न बोल्न र संस्कृतिको नवीन भाष्य सिर्जना गरेर प्रभुत्वशाली संस्कृतिलाई भुत्तो पार्दै, च्यात्दै हिँड्न विलम्ब गर्नु हुँदैन। अमर्यादाका बारहरू भत्काएर मर्यादा सम्मान र विश्वासका पिलरहरू खडा गर्नुपर्छ।

आपसी अविश्वास र मनोमालिन्य हटाएर दलित, गैरदलित सबैको हातेमालो र सहकार्यबाट मात्रै छिटो यो असहिष्णु जातीय भेदको जन्जिर चुँडाउन सकिन्छ। त्यसको लागि बौद्धिक लेखक, कलाकार, साहित्यकारले नूतन संस्कृति र परिवर्तनको भाष्य आफ्ना रचनामा व्यक्त गरेर बौद्धिक जागरण, नैतिक आन्दोलन र वैचारिक प्रतिरोधको हतियार धारिलो बनाउनु पर्छ। वादको प्रतिवाद र तन्त्रको प्रतितन्त्र विकास गरेर समाज रूपान्तरणमा अगुवाइ गर्न र इतिहास निर्माण गर्न अर्गानिक बुद्धिजीवीले विशेष पहल लिनु अनिवार्य छ। केही मान्छेको सामान्य जागरणको हतियार भुत्ते र कमसल बनेको छ। त्यसमा पाइन राख्न, अरूलाई पनि वैचारिक भट्टीमा खार्न, धार लगाउन नयाँ समतामूलक वैचारिक आरन निर्माण गर्न जरुरी छ।

अग्रगामी र क्रान्तिकारी छलाङ आजको पहिलो सर्त, सूत्र र सुरुआत हुनुपर्छ। मानवताको घोषित अघोषित हत्यामा मौन बस्ने छुट कसैलाई छैन। 

आममान्छेको नैतिकतालाई जातीय भेदको कसीमा पनि उतार्नु पर्छ। जस्तो कि कुनै उच्च पदस्थको गाउँ समाजमा भएको जातीय विभेदयुक्त बर्बर हिंस्रक र मानसिक हिंसाको प्रताडना उसको नैतिकता क्षय हुने कारण बनोस्। जसले गर्दा उसको पनि कर्तव्य र भूमिका समाजमा जातीय विभेद अन्त्यका लागि स्वतः क्रियाशील बन्दै जान्छ। उत्तरदायित्व बोध गर्ने संस्कृति फस्टाउँदै जान्छ। हामी हिन्दू धर्मलाई उदार र सहिष्णु धर्म भन्छौं यही धर्मको वर्ण व्यवस्थाको कलंकका रूपमा छुवाछूत रहेको छ।

सो समुदाय मान्छे हुने हकबाट समाजको धार्मिक र सामाजिक परम्परागत कानुनबाट वञ्चित छ। जातीय रूपमा किनाराकृतहरूलाई सधंै उठ्न नसक्ने गरी थिचेर नियन्त्रणमा राख्नुपर्छ भन्ने भाष्य संस्कार र सामाजिक आचार समाजले निर्माण गरेको बलियो हतियार छ। हाम्रो जात नै यस्तै हो हाम्रो नियति नै यस्तै हो जसलाई पचाउनु र सहनुको विकल्प छैन। यसको प्रतिरोधसमेत पाप हो। ऊ जन्मको फल जन्मजन्मान्तरको हिसाबकिताब हो। यो अवस्था भनेर कथित शक्तिशाली वर्ग तिनका परम्परागत बुद्धिजीवीले घोलिदिएको जातको विषले थिलथिलो परेर बसेको छ। अविरोधको अवस्था सिर्जित छ।

चुलो छोएको निहुँमा, सार्वजनिक धारा, कुवाको पानी छोएको कारण देखाएर कुटपिट अपमान गर्दै कालोमोसो दल्ने जुत्ताको माला लगाउने, मलमूत्र खुवाइदिने र ज्यानसमेत लिने घटना घटाइन्छ। झन् उच्च जातिसँग बिहे र प्रेम गरेको बहानामा मृत्युदण्ड नै दिने कठोर कानुन छ समाजसँग। जसको आलो उदाहरण रुकुमका नवराज विकलगायत ६ जनाको पाशविक हत्या र त्यसपछि पनि देशभर भइरहेका जातीय कारणका हत्यालाई लिन सकिन्छ। जात व्यवस्थाको नामको क्रूर कानुनले नेपालको संविधानलाई सधैं चुनौती दिएको छ। दुई हजार वर्षअघि राजा मनुले बनाएको धर्मशास्त्रअनुसार चलेको हिन्दू समाजले श्रम र उत्पादनका सबै पेसा, कर्म र कर्मीलाई अछूत र हीन ठान्ने संस्कृति बनाएको छ।

राजा जयस्थिति मल्लले सन् १३६०–१३९५ मा ४ जात ३६ वर्ण र ७ सय २५ उपजात कायम गरेर गुरु पुरोहितका इशारामा छुवाछूतलाई कानुनी रूपमा लाद्ने काम गरे। १९१० सालमा जंगबहादुर राणाले त्यसलाई अरू बलियो बनाएर वैधानिक गरिदिएको कानुनी बन्दोबस्त २००४ को संविधान, २०१९ को संविधान २०४७ को संविधान र हाल कार्यान्वयन रहेको गणतन्त्रको संविधान २०७२ भन्दा शक्तिशाली छ। मान्छेलाई मान्छेले अपमानित र अमर्यादा गर्न मिल्छ ? झन् धर्मले नमिल्नु पर्ने हो ? धर्मले मर्यादा र रक्षा गर्नुपर्छ न कि अमर्यादा र अवहेलना ? हिन्दू धर्म चुकेको यहीँनेर हो।

तसर्थ धर्मका रक्षक पण्डित, पुरोहित बोल्नु पर्छ धर्मसभामार्फत पनि। प्रथाको विरुद्ध सामाजिक संस्कृति निर्माणको जग हाल्नुपर्छ। आज पर्यन्त गुरु, पण्डित, पुरोहित, ज्योतिषको वचनलाई सम्झेर शिरोपर गर्ने मनोविज्ञानको बोलवाला छ यसर्थ पनि समाजमा जातीय छुवाछूत र विभेदरहित सकारात्मक संस्कृति निर्माणमा तिनीहरूको भूमिका गहन र महत्त्वपूर्ण हुन्छ। बोल्नै पर्नेले बोल्नुपर्छ। दलित सौन्दर्य र मन्थन गरेर नयाँ शिराबाट छुवाछूत मुक्त अभियान चलाउनुपर्ने टड्कारो आवश्यकताबारे कोही बेखबर छैनन्। बस् खाँचो सम्यक संकल्प सम्यक दृष्टि, सम्यक विश्वास र सम्यक प्रत्यत्नको हो। अभिजात्य वर्गको षड्यन्त्रको जालो च्यात्न सबैले विवेकको आँखा खोलेर सहयोग गर्नुपर्छ।

दलित अभियन्ता र अगुवाहरूले पनि एक्लै लडेर जित्न सकिँदैन भन्ने तथ्यलाई बुझेर गैरदलितसँग समन्वय र साझेदारी गर्न हात अगाडि बढाउनु पर्छ। सम्भ्रान्त संस्कृति र शक्तिले धाक, धम्की देखाएर, राज्यको स्रोत र पहुँचको अनाधिकृत कब्जा गरेर त्रास र डरको मनोविज्ञान खडा गर्दै अन्तिम अवस्थासम्म प्रहार गरिरहन्छन्। सबाल्टर्न पीडा मात्रै सहन्छन् बोल्न सक्तैनन् भन्ने मान्यतालाई चिर्न बोल्नुपर्छ। सामाजिक अभियन्ता लेखक र प्रबुद्ध वर्गले दलित गैरदलित सबैमा आर्थिक, सांस्कृतिक, धार्मिक, रूपमा किनारामा धकेलिएको कुरालाई कलात्मक तवरले भनिदिनु पर्छ। जागृतिको बीज अंकुरण गरिदिनुपर्छ। काउन्टर हेजेमोनी खडा गरेर वैचारिक प्रतिवाद गर्नुपर्छ। समाजलाई सभ्य र सुसंस्कृत बनाउन सबैको भूमिका र योगदान उत्तिकै रहन्छ त्यसमाथि अग्र्यानिक इन्टेलेक्च्युयलहरूको विशेष र गहन भूमिका र जिम्मेवारी छ।

घातक मौनता चिरेर बौद्धिक वर्ग सांस्कृतिक आन्दोलन, सडक आन्दोलन र सामूहिक आन्दोलनमा निस्कनुमा नै राज्यलाई प्रभावकारी कदम चाल्न बाध्य पार्ने हतियार हो। सुधार विस्तारै हुन्छ, क्रमिक रूपमा सुधार भइरहेकै छ नि भनेर मान्छेलाई मान्छे बन्ने सबालमा विस्तारै र क्रमिक सुधारको अवधारणा प्रकारान्तरले छुवाछूत र विभेदलाई कायमै राख्ने छद्मभेषी सूत्र हो। तसर्थ अग्रगामी र क्रान्तिकारी छलांग आजको पहिलो सर्त, सूत्र र सुरुवात हुनुपर्छ। मानवताको घोषित अघोषित हत्यामा मौन बस्ने छुट कसैलाई छैन। संरचनात्मक लाभांश लिएकाहरूले अतिरिक्त लाभको लोभ छोड्नेबित्तिकै धेरै सहजता प्राप्त हुनेछ सामाजिक परिवर्तनको लागि 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.